काठमाडौं । दरमार्गस्थित तीन वर्षअघि भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई उच्च अदालत पाटनले पाँच वर्ष कैद र पीडितलाई सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाडांैको फैसला सदर गरेको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले २७ कात्तिक २०७६ मा बलात्कार अभियोगमा मुख्य अभियुक्त ठहर भएका मुख्य अभियुक्त रामेछापका शैलेश कार्कीलाई पाँच वर्ष २ महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । घटनामा संलग्न अन्य तीन जना अभियुक्तलाई १४ महिना कैद हुने फैसला सुनाइएको थियो ।
सो फैसलाविरुद्ध अभियुक्त कार्की २५ भदौ २०७७ मा उच्च अदालतमा पुनरावेदनका लागि गएका थिए । ७ माघ २०७४ मा दरबारमार्ग स्थित ल्यान्डमार्क होटलमा शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेललेले १८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका थिए । सामूहिक बलात्कारको सिकार भएकी ती युवतीले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको थियो ।
बलात्कारपछि घटना मिलाउन खोजेपछि सो घटना सार्वजनिक भएको थियो । पीडित युवतीले दरबारमार्गमा रहेको प्रहरी वृत्तमा आफूलाई जबर्जस्ती बलात्कार गरेको र नग्न भिडियोसमेत खिचेको भनेर कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् । मुख्य अभियुक्त कार्कीले आफूलाई फोन गरेर बोलाएको र होटलमा लगि सामूहिक बलात्कार गरेको बयान ती युवतीले दिएकी थिइन् । मदिरा खाएका उनले होटलमा आफ्नो साथीहरू पनि बोलाएर बलात्कार गरेका थिए ।
रामेछापको दुरागाउँ स्थायी घर भएका कार्कीले ती युवतीलाई फेसबुकमार्फत साथी बनाएर ल्यान्डमार्क होटलमा भेट्न बोलाएर रातभर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बलात्कारको उजुरी दर्ता भएसँगै फरार भएका कार्कीलाई दरबारमार्गबाट प्रहरीले ६ चैत २०७४ मा नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको थियो । युवतीकै प्रेमी शैलेशसहित अन्य ४ जनाले युवतीमाथि सामूहिक बलात्कार गरेको घटना प्रहरीकै मिलेमतोमा टुंग्याउन खोजेको भन्दै तत्कालीन समयमा विवादित बनेको थियो ।
घटना मिलापत्रमा गराउन खोजेपछि समाचार प्रकाशित भएपछि प्रहरीले बलात्कार मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको थियो । फरार रहेका बलात्कारका आरोपीहरूलाई जिल्ला अदालतमा मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएपछि फरार सूचीमा राखेको थियो । सुरुमा घटनामा संलग्न भनिएकामध्ये रवि पौडेल, विकास गौतम र दीपक श्रेष्ठ फरार थिए । थुनामा रहेका मुख्य अभियुक्त भने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत गएका थिए । उच्च अदालतले जिल्लाको फैसला सदर गरेसँगै अब अन्तिम विकल्पका रूपमा सर्वोच्च जाने बाटो मात्रै बाँकी छ ।






