सिड्नी । सिरिज गुमाइसकेको घरेलु टोली अस्ट्रेलिया भारतविरुद्धको तेस्रो तथा अन्तिम टी–२० मा विजयी भएको छ । अस्ट्रेलियाले भारतलाई १२ रनले पराजित गरेको हो । योसँगै तीन टी–२० सिरिज भारतले २–१ ले जितेको छ । पहिलो खेलमा भारत ११ र दोस्रो बलमा ६ विकेटले हुँदै सिरिज जितेको थियो ।
१ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । भारतका कप्तान विराट कोहलीले सर्वाधिक ८५ रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन् । पहिलो ओभरमै ओपनर लोकेश राहुल शून्यमा क्याच आउट भए । नवौं ओभरको पाँचांै बलमा शिखर धवन २८ रनमा क्याच आउट भए । १३औं ओभरको चौथो बलमा सन्जु स्यामसन १० रनमा स्मिथबाट क्याच आउट भए । सोही ओभरमा श्रेयस ऐर शून्यमा आउट भएपछि भारत दबाबमा परेको थियो । १८औं ओभरमा हार्दिक पान्ड्या २० रनमा क्याच आउट भएपछि अस्ट्रेलिया जिततर्फ अघि बढेको थियो । १९औं ओभरमा कोहली आउट भएपछि भारतको जित टाढिएको थियो । शार्दूल ठाकुर १७ रनमा अविजित रहे पनि टोलीलाई जिताउन सकेन । मिचेल स्विपसनले ३ विकेट तथा एन्ड्रयु टाई, एडम जाम्पा, ग्लेन म्याक्सवेल र सन एबटले समान १–१ विकेट लिए ।
त्यसअघि सिड्नीमा टस हारेर ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । अस्ट्रेलिया ओपनर म्याथ्यु वेडले सर्वाधिक ८० रनको योगदान दिए । ग्लेन म्याक्सवेल ५४ रन जोडे । कप्तान आरोन फिन्च शून्यमा आउट भए । स्टिभ स्मिथ २४ रनमा बोल्ड आउट भए । व्यक्तिगत १९ रनमा जीवनदान पाएका म्याक्सवेल १३औं ओभरको अन्तिम बलमा म्याक्सवेल विकेटकिपर लोकेश राहुलबाट क्याच आउट हुन पुगे पनि स्पिनर युजभेन्द्र चहलले नो बल गरेको कारण उनी पुनः ब्याटिङको लागि क्रिजमा फर्किएका थिए । जुन जीवनदान भारतलाई भारी प¥यो । मोइजेस हेनरिक्स ५ र ड्यानियल साम्स ४ रनमा अविजित रहे । डार्सी सर्ट ७ रनमा रन आउट भए । वासिन्टन सुन्दरले २ विकेट लिए । टि नटराजन र शार्दूल ठाकुरले समान १–१ विकेट लिए ।
तीन ओडीआई खेलको सिरिज अस्ट्रेलियाले २–१ ले जितेको थियो । भारत र अस्ट्रेलियाबीच थप चार टेस्ट खेलको सिरिज हुनेछ । पहिलो टेस्ट डिसेम्बर १७ देखि एडिलेड ओभलमा हुनेछ ।






