आत्मा र आध्यात्मिकताको चिन्तन आज सबै खाले पेसामा संलग्न व्यक्तिहरूका लागि आवश्यक बन्दै गएको छ । आध्यात्मिकताको चर्चा पूर्वआत्माको परिचय बुझ्नु आवश्यक हुन्छ । आत्मा चेतनशील चैतन्य तŒव हो, जसले शरीरलाई जीवित, प्राणमय र क्रियाशील राख्दछ । आत्मा परमान्दको रूप हो अर्थात्, आत्मा व्यापक हुन्छ, चेतन हुन्छ तर नाशवान् हुँदैन । आत्मा अभौतिक हो, जसले न्याय र सत्यमा विश्वास गर्दछ । आत्माले परमशक्तिमा विश्वास गर्दै अदृश्य शक्तिको विश्लेषण गर्दछ । सत्य पहिचान गर्नु आत्मामा विश्वास गर्नु अर्थात् आत्माज्ञानी हुनु हो । सत्यलाई कसैले नियन्त्रण गर्न सक्दैन । प्रत्येक सत्यको रहस्यको अनुबोध आत्मामा हुन्छ । यसकारण आत्मा दुःखसुखमा समान प्रतिक्रिया दिन्छ । यद्यपि, आत्माले व्यक्तिको मन पूर्णरूपेण नियन्त्रण गर्न नसक्दा मानिस लोभी, कामी, दुःखी, क्रोधी र तनावयुक्त हुन्छ । जे सत्य छ त्यो निःसन्देह हुन्छ, सो नै सत्य हुन्छ भन्ने बिर्सन्छ । आत्माबाट नै आध्यात्मिक दर्शन बनेको हो । आत्माले कर्मेन्द्रिय र ज्ञोनेन्द्रियहरूको परिचालन गर्दछ । कर्मेन्द्रिय र ज्ञानेन्द्रियहरूको कर्मभन्दा माथि निर्लोभ, निर्मोह र निस्पृह रहने भावको वकालत गर्ने दर्शन नै आध्यात्मिकता हो । यसले व्यक्तिलाई काम, क्रोध, लोभ र मोहबाट टाढा अर्थात् मुक्त राख्दछ ।
‘आध्यात्मिकता एट निजामती सेवा’ प्रशासन व्यवस्थापनको महत्वपूर्ण पाटो हो । निजामती सेवाको मुख्य कार्य जनतालाई सेवाप्रवाह गर्नु र सरकारलाई निर्णय लिन सहयोग गर्नु हो । प्रशासनको कामकाजमा कर्मचारी, बजेट, तौरतरीका र प्रविधिको भूमिका रहन्छ । निजामती कर्मचारी जिवित प्रााणी भएकाले प्रशासनिक श्रम गर्ने स्थानसम्म पुग्दछ र प्रविधि र परिवर्तनसँग आत्मसात गर्दछ । विधि, प्रक्रिया, पदसोपानको मर्म, अनुशासन र आचारसंहिता मान्दछ । उसले तोकिएको पारिश्रमिकमा पालिनु र सामाजिक दायित्व पूरा गर्नुपर्ने हुन्छ । जिम्मेवारी वहन गर्नुपर्ने दायित्व, अवसरको उपयोग गर्ने रोकावट तथा पारिवारिक समस्याले निजामती कर्मचारी आफ्नो कर्तव्यबाट विमुख हुन सक्छ । यसकारण मानिसलाई कामप्रति उत्प्रेरक बनाउन र तनावमुक्त राख्न निजामती सेवामा आध्यात्मिकता अवलम्बनले महŒवपूर्ण भूमिका खेल्न सक्दछ भन्ने विश्वास बढदै गएको छ ।
कमचारीको परिवार तीनतिर छरिएको छ : पुख्र्यौली थलोमा बाआमा, विदेशमा छोराछोरी र राजाधानी वा जिल्लाका कार्यस्थलमा कर्मचारी
नेपालको सार्वजनिक प्रशासनमा कर्मचारीलाई अपेक्षित उत्पादकत्व नदेखिएको, भ्रष्टाचारमुखी भएको र तनावमा रहन गरेकोे भन्ने आरोप लाग्दै आएको छ । तनाव, भ्रष्टाचार र उत्पादकत्वबीच अन्तरसम्बन्ध र अन्तरनिर्भरता रहेको हुन्छ । यद्यपि, निजामती सेवामा तनाव व्यवस्थापनले महत्व पाएको देखिँदैन । कर्मचारीमा तनाव किन आउँछ भन्ने चिन्तन छैन । कर्मचारी विषय केन्द्रित बनेको छ । निजामती सेवामा आध्यात्मिक दर्शनको उपयोग हुने गरेको छैन । आध्यात्मिक ज्ञान निजामती कर्मचारीको व्यक्तित्व विकासको आधारभूत तत्व हो । निजामती कर्मचारीको काम र परिवारको सम्बन्ध तनावग्रस्त छ ।
उनीहरूको परिवार तीनतिर छरिएको छ । पुख्र्यौली थलोमा बाआमा, विदेशमा छोराछोरी र राजाधानी वा जिल्लाका कार्यस्थलमा कर्मचारी कार्यरत रहेको हुन्छ । परिवार बाँडिएर रहनु आफैंमा तनावको स्रोत हो भने कम आयमा बाआमा र छोराछोरीको लालनपालन र रेखदेख गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता न्यून उत्पादकत्वकोे दह्रो स्रोत हो । अपर्याप्त पारिश्रमिक तर महँगो शिक्षा, स्वास्थ्य उपचार र आवास खर्च पनि तनाव र भ्रष्टाचारका स्रोतहरू हुन् । संंगठनमा हुने भेदभाव, आफ्नो मान्छे सिद्धान्तको आडमा र राजनीतिक आस्थाको आधारमा हुने निर्णय, पदस्थापना, सरुवा र दण्ड–पुरस्कारको कार्यन्वयनले कर्मचारीहरूमा उदासीनता ल्याएको पाइन्छ भने काम गर्न सक्ने उमेरमा नै अवकाश हुनुपर्ने बाध्यताले पनि निजामती कर्मचारीलाई तनाव दिएको पाइन्छ ।
निजामती कर्मचारीमा कार्यविवरणको अभावले के काम कसरी गर्ने अन्योल पाइन्छ भने सूचना सञ्चार प्रविधिले कर्मचारीको ज्ञान र सीप अपर्याप्त हुँदा र सो सिक्ने बुझ्ने अवसर र तालिमको कमीले कर्मचारीमा जटिलता सिर्जना गर्दै आएको देखिन्छ । अंग्रेजी भाषाको अपार्याप्त क्षमता तर विदेशीसँग काम गर्नुपर्ने आवश्यकता, तथ्यांक विश्लेषण गर्दै प्रतिवेदन लेखन वा मूल्यांकन गर्ने दायित्व तथा द्वन्द्व मिलाउन र अवसर उपयोग गर्न वार्ता सम्झौता गर्ने वा सार्वजनिक सम्बोधन गर्ने सीप र क्षमताको अभावले पनि व्यक्ति तनावमा पर्न जान्छ । कर्मचारी विकासको उपेक्षा, संगठनको कार्यसम्पादन गर्ने जिम्मेवारी, निर्णय प्रक्रियामा राजनीतिक दबाब तथा निगरानी गर्ने निकायहरूको उत्पादकत्व ह्रासता उन्मुख निगरानीले निर्णय गर्ने वा नगर्ने द्वन्द्वले पनि कर्मचारीमा निराशा र तनाव छाएको पाइन्छ । सूचना आदानप्रदान गर्नेे प्रवृत्तिको अभाव र निकायगत समन्वयको अभाव पनि तनाव सिर्जनाका स्रोत बन्ने गरेका छन् भने व्यक्ति व्यक्तिबीचको फरकपन, इगो र प्रतिस्पर्धाले तनाव बढाउन झन् मलजल गरिरहेको पाइन्छ । अपर्याप्त वृत्ति विकासको अवसर तथा निकायहरूको असन्तुलित कार्य जिम्मेवारीले राम्रा र नराम्रा गरी कार्यलयको वर्गीकरण र तिनमा गरिने पदस्थापन तथा सरुवाले पनि कर्मचारी तनावमुक्त भएर बस्न सकेको पाइँदैन ।
परिवर्तनशील समाजमा आध्यात्मिकताको बेग्लै स्थान बन्दै गएको छ । आध्यात्मिकताको ज्ञान र अवलम्बनले व्यक्तिलाई स्थीर, लक्ष्य केन्द्रित र उदात्त बनाउँछ । आध्यात्मिक संगठनले कर्मचारीलाई आफ्नो कार्यको उद्देश्य पहिचान र सम्पादन गर्न उत्प्रेरित र सहयोग गदर्छ । कार्यस्थल आध्यात्मिकताले मान्छेको भित्री जीवनको अस्तित्व स्वीकार गर्दै सोको प्रवद्र्धन संगठनमा गरिने अर्थपूर्ण रेखदेखले हुने विश्वास गर्दछ । संगठनले मान्छेमा दिमाग र आत्मा हुने कारण उसले सधैँ आफ्नो कार्य वा कर्मको अर्थ र उद्देश्य खोज्छ भन्ने मान्यतामा सो परिपूर्ति गर्न सहयोग पनि गर्दछ । निजामती कर्मचारीले जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्न संगठनमा आध्यात्मिक संस्कृतिको विकास र अभ्यास गर्दछ । आध्यात्मिक संस्कृतिले संगठनमा तनावको स्थानमा आनन्द, द्वन्द्वको ठाउँमा मिलाप र प्रक्रियाको स्थानमा परिणामलाई जोड दिन्छ । यसकारण आधुनिक व्यवस्थापनमा संगठन अर्थात् कार्यस्थलमा आध्यात्मिकताको अभ्यास नवीन सिद्धान्त हो ।
खराब आचरणका स्रोतजस्तै इगो, ईष्या र नकारात्मकतालाई कार्य स्थलमा हुने आध्यात्मिक अभ्यासले निस्तेज पारी आत्मबोध, आत्मानुशासन र आत्मनियन्त्रण शक्ति अभिवृद्धि गराई व्यक्ति आत्मज्ञानी बनाउँछ
हरेक व्यक्तिको जीवनको आफ्नै परिभाषा हुन्छ, आफनै गुण हुन्छ । व्यक्तिको गुण कार्यस्थलसम्म साथसाथै हुन्छ । व्यक्तिलाई निर्देशन गर्ने, बुझेको अनुभव गराउने, अन्तरआत्मा अर्थात् अदृश्य शक्ति, महाशक्तिसँग सम्बन्ध जोड्ने सिद्धान्त आध्यात्मिकता हो । आध्यात्मिकता मान्छेको जन्मजात गुण पनि हो । आध्यात्मिकताको ठाडो सम्बन्ध ईश्वरसँग हुन्छ भने समतल सम्बन्ध संगठन वा समाजका आम सदस्यसँग हुुन्छ । कार्यस्थलमा आध्यात्मिकताको अर्थ संगठनका कर्मचारीले संगठनमा आध्यात्मिकताको ठाडो र समतल डाइमेन्सन्समा काम गर्दागर्दै आफ्नो रेखदेख, सम्मान र उपलब्धि पाउने विश्वास गर्नु हो । अर्थात् आध्यात्मिकताको सिञ्चनले संगठन र व्यक्ति दुवैले समाजमा अर्थपूर्ण योगदान दिन र सफलता प्राप्त गर्नका लागि आध्यात्मिक पथमा परिणाममुखी कार्यसम्पादन गर्दछन् ।
संगठन र व्यक्ति दुवै सत्य, इमानदारिता, सकारात्मक सोचबाट बृहत् भलाइमा केन्द्रित हुनुपर्ने आजको माग हो । कार्यस्थलमा आध्यात्मिकताको सिद्धान्तले व्यक्ति जे भयो, सो भयो सच्याउन सकिँदैन । जो भयो ठीक भयो जस्ता मूल्यवान् दर्शन र इश्वरीय शक्ति, सकारात्मक सोच तथा अरूलाई चोट नपु¥याउने अद्वितीय गुणबाट सिञ्चित हुन्छ । कार्यस्थलमा आध्यात्मिकताले प्रत्येक व्यक्तिको मूल्य, मान्यता र दृष्टिकोणको उच्च सम्मान गर्न सिकाउँछ । संगठनको उद्देश्य र मूल्यका सम्बन्धमा कर्मचारीलाई स्पष्ट ज्ञान, दर्शन र निर्देशन दिन्छ, । व्यक्तिको वृत्ति विकासमा जोड दिन्छ, संगठनमा खुला र सम्मानपूर्ण वातावरण प्रवद्र्धन गर्छ । कर्मचारीको संवेगको सम्मान र कर्मचारी सशक्तीकरणलाई सशक्त बनाउँछ । अर्थात्, आध्यात्मिक संगठनले कर्मचारीको संवेग/भावनालाई सम्मान गर्र्दै मानव सम्बन्धको प्रवद्र्धन गरी संंगठनलाई सफलता उन्मुख गराउँछ ।
तनाव घटना होइन, घटनाप्रति व्यक्तिले प्रकट गर्ने प्रतिक्रिया हो । हरेक घटनाप्रति व्यक्ति व्यक्तिको सोच, हेराइ र प्रतिक्रिया पनि फरकफरक हुन्छ । कसैले घटनालाई सहज र सामान्य रूपमा लिन्छ, त कसैले तनावको रूपमा । अर्थात्, तनाव संवेग र उत्तेजनाको परिणाम हो । व्यक्ति आफ्नो अगाडि रहेको महŒवपूर्ण अवसर प्राप्त गर्न चाहन्छ तर सो मा रोकावट आएको खण्डमा व्यक्ति तनावमा पर्दछ । तनावका स्रोतहरू वातावरण, संंगठन र व्यक्तिभित्रै रहेका हुन्छन् । तनाव व्यक्तिले बोक्दछ । तनाव सबै र सबै अवस्थामा खराब हुँदैन । तनावले ऊर्जा दिन्छ, क्रियाशीलता बढाउँछ र उपलब्धि हासिल गर्न सहयोग पनि पु-याउँछ ।
तनाव व्यवस्थापनमा संगठन, वातावरण र व्यक्तिको अहम् तर फरकफरक भूमिका रहने गर्दछ । निजामती कर्मचारीको काम गर्ने तनावी वातावरण नहटाएसम्म कर्मचारीको उत्पादकत्व, उत्प्रेरणा र क्रियाशीलता बढ्दैन । यसका लागि संगठनका लागि व्यक्ति छनोट भइसकेपछि पदस्थापनमा उसको इच्छा, योग्यता र सीपलाई ध्यान दिने, संगठनको वार्षिक लक्ष्य र कार्यक्रम स्पष्ट गर्दै व्यक्तिको लक्ष्य र भूमिका निर्धारण गर्ने, कार्यको डिजाइन रिडिजाइन गर्ने, सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्ने, संगठनात्मक सञ्चार प्रणाली सरल, स्पष्ट पहुँचयोग्य बनाउने, संगठनमा कर्मचारीका रुचिउन्मुख सुविधा तथा खेलकुद, मनोरञ्जन, स्थलगत भ्रमणका कार्यक्रमहरू व्यवस्था गर्ने, वृत्ति विकासका लागि वृत्तिपथ र वृत्ति योजनाको स्पष्ट गर्ने, कर्मचारीको कार्यस्थल बाहिर पनि जीवन हुन्छ भन्ने मान्यतामा तनावको स्रोत पहिल्याइ उपचार गर्ने, कर्मचारीको तनाव कम गर्न काउन्सिलिङका कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यालयको काम र कर्मचारीको परिवारलाई एकीकृत गर्ने खालका विचार आदानप्रदानका कार्यक्रमहरू सञ्चालन गर्ने, आध्यात्मिक ज्ञानको सम्प्रेषण तथा आध्यात्मिक जीवनशैलीमा रूपान्तरण गर्ने व्यवस्थापन प्रणालीसमेत विकास गर्नुपर्दछ ।
व्यक्तिको जीवनमा सबै प्रकारका खराब आचरण, व्यवहार र अभ्यास नियन्त्रण गर्न स्वअनुशासन, स्वनियन्त्रण स्वलक्ष्य आवश्यक मानिएको हुन्छ । स्वनियन्त्रणका लागि आध्यात्मिक शिक्षा जरुरी हुन्छ । तनाव आध्यात्मिक ज्ञानको अभावको परिणाम हो । संगठनमा आध्यात्मिक संस्कृतिले कर्मचारीलाई आफ्नो कामको उद्देश्य स्पष्ट गर्दछ, कर्मचारीको क्षमता विकासमा जोड दिन्छ । कर्मचारीलाई कार्यसम्पादन गर्न अधिकार प्रत्योजन गर्दछ । कर्मचारीको संवेगको कुशल व्यवस्थापन गर्दछ, कर्मचारीबीच खुला र हार्दिक सम्बन्ध प्रवद्र्धन गर्दछ र कर्मचारी सुःख दुःख आपसमा बाँड्दछन् भने कर्मचारीमा तनाव स्वतः कम भएर जान्छ । आध्यात्मिक संगठनले कर्मचारीलाई महाशक्ति, अदृश्य शक्तिको महŒव बुझाउँदै कर्मचारीलाई बृहत्तर हित उन्मुख हुन सिकाउँछ ।
तनाव मान्छेको प्राकृतिक रूपमा पाइने एक लक्षण हो । यसको व्यवस्थापनका लागि बितेका कुरामा नपछुताउन, भएको घटना सही थियो भन्ने स्वतः र स्वयं सम्झाइबुझाइ ज्ञानार्जन गर्न व्यक्तिलाई सक्षम बनाउँछ । आध्यात्मिक ज्ञानले व्यक्तिलाई ध्यान र उपासना गर्न प्रेरित गर्दछ । ध्यान र उपासनाले कर्मचारीलाई तनावपूर्ण वातावरणवाट हट्न सक्षम बनाउँदै तनाव ल्याउने परिस्थिति नै परिवर्तन गर्ने शक्ति पनि दिन्छ । संगठनमा आध्यात्मिक दर्शनको अभ्यास गर्ने, कर्मचारीलाई आध्यात्मिक उपचार शैली अवलम्बन गर्न सचेत गर्ने, चाख लाग्दा कामहरू गर्ने वातावरण निर्माण गराउने, स्वस्थ जीवन पद्धतिका लागि कर्मचारीलाई प्रेरित गर्ने तथा योग, ध्यान साधना केन्द्रको व्यवस्था पनि गर्नुपर्दछ । तनाव व्यवस्थापनमा व्यक्तिले पनि आध्यात्मिक दर्शनको ज्ञान लिने र अभ्यास गर्ने, स्वअनुशासनमा बस्ने, समय व्यवस्थापन गर्ने, आनन्द लिने, पारिवारिक सुसम्बन्ध कायम गर्ने तथा कामगर्दा बेला बखतमा छुट्टी लिने र मन बहलाउने गर्नुपर्दछ । खासमा, आध्यात्मिकताले व्यक्तिलाई घटनाको आलोचनात्मक मूल्यांकन गर्न सक्षम बनाउँछ र तनाव केही होइन रहेछ भन्ने शाश्वत ज्ञान दिन्छ । यसकारण कार्यस्थलमा आध्यात्मिकताको महŒव बढ्दै गएकोछ ।
अन्तमा, आजको निजामती समाज, काम गर्ने शैली र काम गर्ने वातावरण जटिल छ । संगठनमा कर्मचारी कर्मचारीबीच द्वन्द्व, डाह र सहयोगको विशेष चरित्र पाइन्छ । संगठनमा कर्मचारीका लागि अवसर र अवसर प्राप्तिमा रोकावट दुवै हुन्छ । आत्मज्ञानले व्यक्तिलाई आफू अर्थात् मभन्दा माथि उठाउँछ । आध्यात्मिक ज्ञान आन्तरिक चेतना भएकाले व्यक्तिमा सांसारिक घटनाको प्रभाव न्यून पर्दछ । व्यक्तिलाई काम, क्रोध, लोभ र मोहबाट मुक्त राख्दछ र व्यक्तिमा दया, माया, प्रेम, सहयोग र सम्मानलाई प्रवद्र्धन गर्दछ । आध्यात्मिक चेतनाले कर्मचारीलाई सधंै आफ्नो कर्तव्य पालना र लक्ष्य प्राप्त गर्न प्रेरित गर्दछ । अर्थात्, आध्यात्मिकताले मान्छेमा बृहत्तर ज्ञान, सोच र सहनशील क्षमता बढाइदिन्छ । व्यक्तिलाई अदृश्य शक्तिसँग साक्षात्कार गराई मान्छे मान्छेबीच हार्दिक सम्बन्ध प्रवद्र्धन गर्दै खराब आचरणका स्रोतहरू इगो, ईष्र्या र नकारात्मकतालाई कार्यस्थलमा हुने आध्यात्मिक अभ्यासले निस्तेज गर्दछ । परिणमस्वरूप व्यक्तिमा आत्मवोध, आत्मअनुशासन र आत्मनियन्त्रण शक्ति अभिवृद्धि भई व्यक्ति आत्मज्ञानी बन्दछ । यसकारण आध्यात्मिकता निजामती सेवाका साथै अन्य सवै क्षेत्रमा कार्यरत मानवका लागि अपरिहार्य बनेकाले हरेक संगठनमा आध्यात्मिक दर्शनको ज्ञान र अभ्यास आवश्यक बनेको छ ।






