विदेश जान खोज्दा बिचौलियाले धोका दिएर रन्थनिएका भुवन गिरीको दिमाग कुनै एकदिन ‘क्लिक’ हुन पुग्यो ।
आफ्नो पाखामा रम्ने आउनेको लर्कोले उनलाई लोभ्यायो । लाग्यो, ‘यो ठाउँ किन उपयोग नगर्ने ?’ त्यसपछि पल्टियो, जीवनको अर्को पाटा ।
‘सेनाको जागिरपछि विदेश जान खोजें, पाँच लाख डुब्यो,’ ‘कोतडाँडा भ्यू प्वाइन्ट’ लेखिएको बोर्ड देखाउँदै गिरीले सुनाए, ‘साथीहरूसँग मिलेर यो खोलियो, त्यसमा पनि धोका भयो, त्यसपछि एक्लैले चलाएँ ।’
सेनाबाट ‘रिटायर्ड’ गिरी आफ्नै पाखा जग्गामा ‘कटेज’ चलाइरहेका छन् । ‘घरमाथिको बाँझो बारीले मलाई गिज्यारहेझैं लाग्यो,’ उनी खुल्न थाले, ‘सबैतिरबाट हण्डर खाएपछि कटेज खोल्न पुगें, जे भयो राम्रै भयो । आफ्नै गाउँठाउँमा केही गर्न पाइयो ।’
‘कटेज’ राख्नुअघि विभिन्न ठाउँका मान्छे उनको बाँझो बारीमा पुगेर अडिन्थे । त्यहाँ घण्टौं बस्थे । पिननिक टोली उनकै बारीमा रमाउँथे । फोटो खिच्थे । यी दृश्य गिरीले लामै समय देखे । अनि, उनीभित्र ‘क्लिक’ हुन पुग्यो, कटेज बनाउने योजना । बाँझो बारी घेरेर कटेज बनाए ।
‘अहिले राम्रै भइरहेको छ, घुम्न आउनेहरू बढिरहेका छन्,’ ३८ वर्षीय गिरी भन्छन्, ‘अब यही कटेजलाई व्यवस्थित गरेर अघि बढ्ने योजना छ ।’







