‘हाम्रोमा २१ जनासम्म बसेका छन्,’ कोरोना महामारी छेकोमा पारिलो घाम तापेर मोबाइल चलाइरहेकी शान्ति श्रेष्ठ भन्दै थिइन्, ‘एकरात बस्नेगरी धेरै जना आउँछन् । तर, कोरोनाले गर्दा अहिले खासै छैन ।’
ललितपुर कोतडाँडामा ‘होमस्टे’ सञ्चालन गरिरहेकी श्रेष्ठ लकडाउनयता भने अलि व्यस्तिन थालेकी छन् । काठमाडौं, भक्तपुर र ललितपुरभित्रैका पनि ‘रिफ्रेस’ हुन कोतडाँडा आउने गरेको उनले सुनाइन् ।
‘अन्यभन्दा शनिबारको दिन घुम्न आउने बढी हुने गरेका छन्,’ होमस्टेसँगै होटल सञ्चालन गरिरहेकी श्रेष्ठ भन्छिन्, ‘यहाँबाट हिमाल र काठमाडौं उपत्यका प्रस्टै देखिन्छ । प्रायः साँझमा बस्नेगरी आउँछन्, भोलिपल्ट फर्कन्छन् ।’
…
ललितपुर गोदावरी नगरपालिका–३ कोतडाँडाको विशेषता भनेकै यहाँबाट काठमाडौं उपत्यकास“गै हिमशृंखला अवलोकन हो ।
‘कोतडाँडा पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको ठाउँ हो,’ स्थानीय बुद्धिजिवी बलराम गिरी परतिरको फुल्चोकी डाँडा देखाउँदै भन्छन्, ‘तर, प्रचारप्रसार कमीले ओझेल परेको हो कि जस्तो लाग्छ ।’
स्थानीय आधारभूत विद्यालयका शिक्षकसमेत रहेका गिरीका अनुसार भिमेश्वर डाँडामा मन्दिर निर्माण भइरहेको छ । उपत्यका अवलोकलनमात्रै नभएर कोतडाँडा ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको उनी बताउँछन् ।
‘स्थानीय सरकारले पहल गरेर अघि बढ्ने हो भने होमस्टेले मूर्तरुप लिने सम्भावना प्रबल छ,’ गिरी सुनाउँछन्, ‘घरबास व्यवस्था गरेर स्थानीय अग्र्यानिक खाना व्यवस्थापन गरेर आर्थिक उन्नति गर्न सकिनेमा दुई मत छैन ।’

…
कोतडाँडाबाट धौलागिरि र अन्नपूर्णसहित पूर्वतिर महालंगुर हिमशृंखला अवलोकन गर्न सकिन्छ । पर्यटन व्यवसायीका नजरमा मौलाउँदै गएको गाउँमा होटल तथा कटेज फाट्टफुट्ट खुल्न थालेका छन् ।
राजधानी काठमाडौं नजिकैको कोतडाँडा पुगेर हिमाली दृश्यसँग पौंठेजोरी गर्नेको अचेल लर्को लाग्न थालेको स्थानीय बताउँछन् ।
माैसम सफा भएको समय यहाँबाट गणेश, लाङटाङ, मनास्लु, दोर्जे लाक्पा, सिसापाङ, आमाग्याजिन, नमर र गौरीशंकर हिमाल प्रस्टै देखिन्छन् । जुन दृश्यले मोहित नपारी राख्नै सक्दैन ।
त्यसो त, कोतगाउँ हाइकिङका लागिसमेत गन्तव्य बन्न थालेको छ । चापागाउँबाट पदयात्रा सुरु गर्ने हो भने यहाँ पुग्न झन्डै तीन घण्टा लाग्छ ।
प्रसिद्ध धार्मिकस्थल बिशंखुनारायण यात्राकै क्रममा दर्शन हुन्छ । मन्दिरको यही ‘रुट’ कोतडाँडा पुग्ने प्रवेश द्वारजस्तै हो ।
गोदावरी हुँदै मन्दिर दर्शन गरेर ‘हाइकिङ’ सुरुवात हुन्छ । लाकुरी भञ्ज्याङबाट पदयात्रा गर्ने भने झन्डै दुई घन्टामा कोतडाँडा पुग्छ ।
काठमाडौंबाट आउनेका लागि भने लगेनखेल केन्द्रविन्दू हो । यहाँबाट बाणेगाउँ हुँदै बिशंखुनारायणबाट कोतडाँडा रुट तय हुन्छ ।
…

१७४१ मिटर उचाईमा अवस्थित कोतडाँडाले ‘पिकनिक स्पट’का रूपमा पनि परिचय सँगाल्दै छ । शनिबारका दिन सवारी साधनसहित घुम्न र पिकनिक मनाउन कोतडाँडा रोजिन थालिएको छ ।
२०७१ सालतिरबाट ‘होमस्टे’मा भिज्न थालेको कोतडाँडालाई २०७२ को भूकम्पले थिलथिलो बनायो । चाप बढ्दै गर्दा फेरि ‘लकडाउन’ सामना गर्नुप-यो ।
अहिले भने बल्ल मुस्कुराउँदै छ, कोतगाउँ । पर्यटन व्यवसायी यहाँको लागि ‘प्याकेज टूर’ बनाउन थालेका छन् ।
आन्तरिक पर्यटनको गन्तव्य बन्दै गरेको कोतडाँडाका ‘होमस्टे’मा गाउँकै परिकार चाख्न सकिने स्थानीय सुनाउँछन् ।
…
२०७२ को भूकम्पपश्चात गाउँमा खानेपानी समस्या विकराल बन्न पुग्यो । सिंगो गाउँ नै बसाई सर्नुपर्ने स्थितिसम्म आइपरेको स्थानीय सम्झन्छन् । तर, स्थानीय सक्रियतापछि समस्या पार लाग्यो । २ सय ९४ मिटर गहिराईबाट ‘डिपबोरिङ’ गरी खानेपानी जोहो गरियो ।






