संक्रमणमुक्त हुने दर बढ्दो

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितभन्दा संक्रमणमुक्त हुने दर उल्लेखनीय रहेको छ । पछिल्लो एक सातालाई आधार मान्दा ७ हजार ४ सय ४२ संक्रमित थपिएकामा ९ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् । जसमा ४६ हजार ५ सय २२ जनाको कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार १ हजार १४ जना संक्रमित थपिएकामा १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । मंगलबार १ हजार ३ सय ८२ संक्रमित थपिएकामा १ हजार ६ सय २१ जना संक्रमणमुक्त र बुधबार १ हजार ५६ संक्रमित थपिएकामा १ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै बिहीबार १ हजार २ सय १७ जना संक्रमितमध्ये १ हजार ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

— सक्रिय संक्रमित १०,९९४ जना मात्रै
— दैनिक ६,६४६ को परीक्षण गर्दा १०६३ मा संक्रमण

शुक्रबार १ हजार ४४ संक्रमित थपिएकामा १ हजार २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । शनिबार ८ सय ९९ संक्रमित थपिएकामा १ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आइतबार ८ सय ३० जना संक्रमित थपिएका छन् भने १ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर २ लाख ४८ हजार ४ सय १३ संक्रमितमध्ये २ लाख ३५ हजार ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमणमुक्त हुने दर ९४ दशमलव ६० रहेको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै आइतबार थप नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबा मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ । पछिल्लो एक सातालाई आधार मान्दा दैनिक ६ हजार ६ सय ४६ जनाको कोरोना परीक्षण गर्दा १ हजार ६३ जनामा संक्रमण देखिने गरेको छ ।

खोप लगाउन कोही नागरिक वञ्चित नहुने
स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताए ।

उनले भने, ‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै नागरिकलाई लगाउने कामलाई योजनाबद्ध तरिकाले अगाडि बढाइरहेको छ ।’ नेपालमा ७२ प्रतिशत नागरिकलाई खोप लगाउने सरकारको योजना छ । विश्वमा १४ वर्षभन्दा मुनिका बालबालिका लागि कोरोना खोप नबनेकाले नेपालका बालबालिकाले खोप पाउनेछैनन् । देशको जनसंख्यामध्ये २८ प्रतिशत बालबालिका रहेका छन् ।

नेपाललाई ‘कोभ्यास’मार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध गराइनेछ । खोप विकास क्रममा रहेकामध्ये गुणस्तरयुक्त, लागत कम, पूर्वाधारमैत्री एवं विद्यमान कानुनअनुरूप उपलब्ध गराउन खोप सल्लाहकार समितिको परामर्शका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कामलाई अगाडि बढाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोप विज्ञ समित र आठ वटा प्राविधिक समितिले खोप व्यवस्थापन, खोप सञ्चालन एवं खोप सञ्चारसहितको आवश्यक कार्य अगाडि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

epaper

ताजा समाचार

जसले पाए करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार