काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले तीन सिमेन्ट र एउटा स्टिल उद्योगलाई कारबाही गरेको छ । विभागले नेपाल शालिमार सिमेन्ट, रिलाइस सुपरटेक सिमेन्ट, एमजेप्पी सिमेन्ट र असोक स्टिल उद्योगलाई कारबाही गरेको हो ।
बजार अनुगमन गर्दा संकलित नमुनाको गुणस्तर परीक्षण गर्दा मापदण्डअनुसार नपाइएपछि कारबाही गरेको विभागले जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगबाट उत्पादन भएको सिमेन्ट नमुना परीक्षण गर्दा नेपाल गुणस्तरअनुसार नपाएपछि कारबाही गरेको बताए ।
उनले नेपाल ऐन २०३७ तथा नियमावली २०४० को नियम १६ अनुसारको कानुनी कारबाही गरेको बताए । महानिर्देशक पुडासैनीले नेपाल शालिमार सिमेन्ट उद्योग र रिलाइस सुपरटेक सिमेन्ट उद्योगको मापदण्डअनुसार गुणस्तर नपाएपछि इजाजतपत्र स्थगन गरेको जानकारी दिए ।
एमजेप्पी सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर नियमावली २०४० को नियम (१६)अनुसार स्पष्टीकरण सोधिएको बताए । यसैगरी अशोक स्टिलको संकलित नमुनाको परीक्षण गर्दा गुणस्तर नपाएपछि इजाजतपत्रसमेत रद्द गरिएको छ ।
विभागका निर्देशक किशु मानन्धरका अनुसार बारामा रहेको नेपाल शालिमार सिमेन्टको संकलित नमुनाको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्ज्थ १५ एमपीए र नेपाल गुणस्तर ३८५ अनु्रूप नभएपछि शालिमारको इजाजतपत्र रद्द गरिएको छ ।
यसैगरी, बारामा नै रहेको रिलाइस सुपरटेक सिमेन्टको पनि नेपाल गुणस्तरअनुरूप नभएपछि इजाजतपत्र रद्द गरिएको छ । कपिलवस्तुमा रहेको एमजेप्पी सिमेन्टको पनि नेपाल गुणस्तर ३८५ अनुरूप नपाइएको विभागले जनाएको छ । यद्यपि, यो सिमेन्टलाई भने स्पष्टीकरण सोधिएको छ ।
बाराको अशोक स्टिलको पनि इजाजतपत्र रद्द गरिदिएको छ । संकलित नमुनाको इलोगेसन र बेन्ड टेस्ट नेपाल गुणस्तर १९१ अनुरूप नभएकाले इजाजतपत्र रद्द गरिदिएको छ ।






