जनकपुरधाम । मिथिला मध्यमा परिक्रमाको डोला आज नेपाल आएको छ । दुईदिन भारतमा रहेर डोला नेपाल आएपछि महोत्तरीको मठियानीमा भव्य स्वागत गरिएको छ । मठियानीका मेयर हरिप्रसाद मण्डलको नेतृत्वमा जनप्रतिनिधि र साधुसन्तहरुले स्वातगत गरेका छन् ।
१५ दिनसम्म मिथिला बिहारी र किशोरीजीको डोलासंगै जनकपुरधाम क्षेत्रको परिक्रमा गरिने मध्यमा परिक्रमामा यसपाली पनि लाखौं व्यक्ति सहभागि भएका छन् । पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आइतबार धनुषाको मिथिला बिहारी मन्दिरमा डोला उठाएर औपचारिक रुपले शुरुवात गरिसकेका छन् । मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह सहित तीनटा परिक्रमा हुने गर्छ । मध्यमा र अन्तगृहमा लाखोको सहभागिता हुने गरेको स्थानीयवासीहरु बताउँछन । तर बृहत परिक्रमा गर्नेहरु पनि आफनो हिसाबले भक्तजनहरु गरिरहन्छन् । परिक्रमाका सहभागी राती गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्ने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताएका छन् ।
स्थानीय बासीहरुले उनीहरुका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी समान लिएर जाने टायर गाडीका गोरुका लागि परालसमेत उपलब्ध गराएका छन् । उनीहरुलाई निशुल्क रुपमा भोजन गराउने पराम्परा रहेको छ । हुनत धेरै व्यक्ति आफै भोजनको सबै सामग्री लिएर त्यहाँ पुग्ने गर्छन ।
२६ वर्षदेखि लगातर परिक्रममा सहभागि हुँदै आएकी मधुबन्नीवाली भनिने महिलाले हामीले कहिलेपनि निशुल्क भोजन गरिन सधै आफै बनाएर खाने गरेको बताइन । सहभागीहरु दिनभरी यात्रा गर्छन् र भजनकिर्तन तथा सत्संग गरेर रात बिताउँछन् । यो यात्राबाट यस लोकमा आत्म शान्ति र परलोकमा प्रभुको शरण पाइने यात्रामा सहभागीको विश्वास छ । यात्रामा बालबालिकादेखि ८० नाघेका वृद्धवृद्धाको सहभागिता रहेको पाइएको छ । त्यस्तै धार्मिक लस्करमा साधु, सन्त, योगी महात्मालगायत सर्वसाधारण नरनारीको सहभागिता रहने गरेको छ ।
विगत ९ वर्षदेखि यात्रामा सहभागी हुँदै आएका महोत्तरी रामगोपालपुरकी ७० वर्षीया जानकीदेवी र धनुषा भगवानपट्टिका ७५ वर्षीय अगमलाल कापरलाई मिथिला परिक्रमाको यात्राले यसलोकमा शान्ति र परलोकमा स्वर्ग प्राप्ति हुने विश्वास छ । ‘यो साधना हो, यसले शरीरलाई मात्र नभई मन र विचारलाई समेत स्वस्थ रहन्छ’ दुवैले भने, ‘प्रभुको नाममा गरिने परिक्रमाले बाँचुन्जेल शान्ति र मृत्युपछि स्वर्ग प्राप्ति हुन्छ ।’ परिक्रमाको महत्वलाई देखेर भारत सरकार परिक्रमा मार्गको मर्मत सम्भार गरिरहेको छ । भारतका इकजिव बैंकक ऋण सहयोगमा सो कार्य अगाडी बढाइएको छ । एक अरब ५० करोड २९ लाख २८ हजार ७२८ रुपैयाको लागतमा मध्यपरिक्रमा सडकक निर्माण तथा मर्मत सम्भार काज भइरहेको छ ।
परिक्रमाको प्रारम्भ
परिक्रमाको प्रारम्भको इतिहास कुनै पुस्तकमा उल्लेख गरिएको छैन । भगवान गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवलाई गरिएको परिक्रमालाई उत्सवको रुपमा लिने गरिन्छ । आफना अराध्य देव वा देवी तथा पुण्य भूमिको परिक्रमा गर्दा पुण्य प्राप्त हुने धर्मशास्त्रमा बर्णित छन । मन्दिरमा देवी देवताको पूजा पछि त्रिपेक्षण गर्नु परिक्रमाके रुप रहेको धार्मिक जानकारहरु बताउँछन् । मिथिला महात्मयमा वर्णन गरिएको मध्यमा परिक्रमाको प्रारम्भ १८औ शताब्दीभन्दा केही पूर्व भएको मैथिलीका बरिष्ठ साहित्यकार एवं सांस्कुतिकविद् डा. राजेन्द्र विमलको कथन रहेको छ ।
आधुनिक जनकपुरधामको पुनः परिचित गराउने महात्मा सूर किशोर दास परिक्रमा मार्ग पत्ता लगाएपछि सोती मठका सीताप्रसाद र बराही मठका सुरदास साधु मध्य मिथिला परिक्रमाको आरम्भ गरेको केही इतिहासकारहरु दावी गर्छन् । भनिन्छ २० औँ शताब्दीको आरम्भमा जनकपुरधाममा रामानन्दीय वैष्णव साधुहरु पाँच दिनको परिक्रमा शुरु गरेका थिए ।
परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयास सराहनीय छ । सो मन्दिर अहिले पनि नेतृत्व गर्ने गर्छ । नेतृत्वलाई लिएर सो मन्दिर र जनक दुलारी कुटी बिच मुद्दा मामिलासम्म भएको थियो । मुदा वि.सं. १९९०मे जिल्ला अदालत मिथिला नै विहारी कुटीको पक्षमा फैसला सुनाएको थियो । परिक्रमामा सहभागि हुनाले एक सय आठ तिर्थ स्थान दर्शनको फल प्राप्त हुने जनविश्वास रहेको छ ।
परिक्रमाको १५ दिन
नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटर सहित कुल १ सय ३० किलोमिटरको परिक्रमाको प्रारम्भ कलाणेश्वरबाट हुन्छ । फागुन प्रतिपदाका दिन भक्तजनहरु कलाणेश्वर पुग्छन् । त्यसैले एक राति पहिले नै अमावस्याका दिन जनकपुरको हनुमान नगरमा मिथिला विहारीको डोला संगै राति विश्राम गर्ने परम्परा रहेको छ । हनुमान नगरबाट कलाणेश्वर १३ किलोमिटर उत्तर पुर्वी क्षेत्रमा पर्छ ।
कलाणेश्वरबाट गिरिजा स्थान डोला पुग्छ । १२ किलोमिटर दुरीमा रहेको सो स्थानमा त्रेतायुगमा भगवान राम र जानकीको पहिलो भेट भएको थियो । दोस्रो वासको रुपमा महोत्तरीको मटिहानी रहेको छ । तेस्रो दिन जलेश्वर, चौथौँ दिन मड़ै, पाँचौ दिन ध्रुवकुण्ड, छठौँ दिन कञ्चनवन, सातौँ दिन क्षिरेश्वर नाथ महादेवको दर्शन गर्दै पर्वता, आठौँ दिन धनुषाधाम, नवौँ दिन सतोषर, दशौँ दिन औरही, एगारहौँ दिन करुणा, बारहौँ दिन बिसौल र त्यसपछि कलाणेश्वरमा पुगी परिक्रमाको पुर्णाहुती हुन्छ । अन्तगृह परिक्रमाका लागि पुनः दर्शनार्थी जनकपुरधाममा पुग्छ । पूर्णिमाका दिन जनकपुरधाममा अन्तगृह परिक्रमा गरिन्छ । फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौंको संख्यामा सर्वसाधारणले जनकपुरको १५ किलोमिटर वरिपरिको परिक्रमा घुमेर अन्तरगृह परिक्रमा गर्ने गर्दछन् ।
१५ दिवसीय मिथिला मध्यमा परिक्रमाका यात्रीहरु पूर्णिमा तिथीमा मिथिला बिहारी र किशोरीजी भगवानको डोला्सहित जनकपुर आएपछि मध्यमा परिक्रमा गर्न छुटेकाहरु अन्तरगृहमा सहभागी हुने गर्दछन् ।
अन्तरगृह परिक्रमा गर्यो भने १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुने आस्थाका साथ सहभागी श्रद्धालुहरु यात्रा सकेर जानकी मन्दिर, राम मन्दिरमा दर्शन गरेपछि होली पर्व सुरु हुने बताउँछन्। १५ दिवसीय परिक्रमाका यात्रुहरु जनकपुरमा आएपछि दुई दिनसम्म मासु माछा र मदिरा बिक्री वितरणमा समेत स्थानीय प्रशासनले रोक लगाउने गर्दछ । सोही कारण जनकपुरमा अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलीपल्ट होली मनाउने प्रचलन छ।
विश्रामस्थलहरुको आफ्नै महत्व
परिक्रमाको क्रममा ४वटा महादेवको महत्वपूर्ण मन्दिरहरु पर्छन् । सो चारवटै मन्दिर मिथिला नरेश जनकसंग सम्बन्धित छन् । कलाणेश्वर, जलेश्वरनाथ, क्षिरेश्वर नाथ र सतोषर चारै स्थलमा प्रत्येक दिन राजर्षी जनक पूजा गर्नका लागि पुग्थे । यसका अतिरिक्त गिरिजा स्थानमा राम जानकीको पहिलो भेट भएको थियो । त्यस्तै मटिहानीमा जानकीको मटकोर भएको मानिन्छ । धनुषा धाममा भगवान रामद्वारा सीता स्वंयम्बरको समयमा तोडिएको धनुषको एक भाग यही छ । करुणाको विषयमा भनिएको छ राम जानकीको विवाह पछि महाराज जनक करुणा सागरमा डूबेका थिए । र त्यही सीताराम प्रतिक स्वरुप मूर्ति बनाएर राखेका थिए ।
कञ्चनवनमा स्वयं रामजानकी चारै भाई र बहिनी संग होली खेलेको भनिएको छ । सोही स्थलमा डोला पुगेपछि होली महोत्सव हुन्छ । परिक्रमाको क्रममा विभिन्न स्थलमा विभिन्न उत्सवहरु समेत हुन्छ । जस्तै कञ्चनवनमा होली, मटिहानीमा मटकोर, मड़ैमा विवाह उत्सव, विसौलमा कढ़ी बरी खाने परम्परा रहेको छ ।
बृहत मिथिला परिक्रमाको स्वरुप
बृहत मिथिला परिक्रमा पूर्वमा कोशी नदीमा स्नान तथा सिंहेश्वरनाथ महादेवको दर्शन एवं पूजन गरेर प्रारम्भ हुन्छ । त्यहाँबाट दक्षिण पश्चिम दिसा जाने कोशी र गंगा नदीको संगम स्थल कुरसेला घाटमा स्नान र त्यहाँबाट बटेश्वर नाथ महादेवको दर्शन गर्ने गरिन्छ । फेरी पश्चिम दिशामा गंगा र गण्डक नदीको संगम स्थलमा स्नान तथा हरिहरनाथ महादेवको दर्शन गर्ने गरिन्छ । फेरी त्यहाँबाट उत्तर पश्चिम दिशामा वाल्मिकी आश्रमको नरायाणी बाँधमा त्रिवेणी धाममा स्नान गरेर कामेश्वरनाथक दर्शन तथा बरघाटमा नारायणी स्नान गर्दै उत्तर पूर्व दिशामा श्रद्धालुहरु जान्छन् । क्रमशः उत्तर वाहिनी कमला नदीमा स्नान गरेर उत्तर पूर्व पुगेर त्रीयुगा नदीमा स्नान गरी फेरी कोशी पुलमा पुगी कोशी स्नान र सिंहेश्वर नाथको दर्शन पूजा गरेपछि बृहत मिथिला परिक्रमा पूरा हुन्छ । यो परिक्रमा सवा दू महिनाको हुन्छ ।