काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पार्टी भित्र दुई अध्यक्षीय प्रणालीलाई अस्वीकार गर्न आह्वान गरेका छन् ।
नेकपा केन्द्रिय सदस्य समेत रहेका नेता साहले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै असफल सिध भइसकेको दुई अध्यक्ष प्रणाली बिना कुनै छलफल अगांल्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समुहको निर्णय प्रति असहमति एवं आपत्ती जनाएका छन् ।
विगतमा अलग अलग रहँदा एकल अध्यक्ष प्रणालीमा तत्कालीन दुई दलले करिब दुई तिहाईको ऐतिहासिक सफलता पाएको तर एकता भई दुई अध्यक्षीय प्रणाली अप्नाएपछी अध्यक्ष वीच टकराव बढेको र पार्टी क्षतविक्षत एवम् सिंगो राज्य व्यवस्था नै अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै साहले दुई अध्यक्षीय प्रणाली आवश्यक नभएको जनाएका छन् ।
माक्र्सवादी मान्यता एवं लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत निर्माण भएको दुई अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैज्ञानिक भएकै कारण अहिले देशले घात व्यहोर्नुपरेको ठहर उनको रहेको छ ।
‘हिजो अलग अलग पार्टीको एकल अध्यक्ष भएको समयमा प्राप्त गरेको सफलता पार्टी एकता पछि निर्माण भएको दुई अध्यक्षीय प्रणालीमा अध्यक्षहरुबीचको आपसी टकरावले आज पार्टी क्षतविक्षत मात्र भएन सिंगो व्यवस्था नै अस्तव्यस्त भई देश अन्योलग्रस्त स्थितिमा छ’ साहले भनेका छन्, ‘माक्र्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत निर्माण भएको दुई अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैज्ञानिक भएकै कारण देशले गम्भीर घात व्यहोर्नु परेको छ ।’
नेता साहले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनलाई आत्महत्याको संज्ञा दिई आफू प्रचण्ड नेतृत्वलाई साथ दिएको तर सो समूह विगतको गल्ती स्वीकारेर सच्याउनुको सट्टा पुनरावृत्ति गरेको उनको आरोप छ ।
‘कुनै पनि आन्दोलनको सफलता नेतृत्व, विचार र संगठनमा निर्भर हुन्छ । नेतृत्व सम्बन्धि विश्वव्यापी मान्यता विपरीत नेपालमै असफल सिद्ध भइसकेको दुई अध्यक्षीय प्रणाली जस्तो गम्भीर विषयमा छलफल नै नगरी अगिंकार गर्ने गलत निर्णयप्रति औपचारिक एवं अनौपचारिक रूपमा पटक पटक सुझाव जाहेर गर्दा पनि निषेध एवं निरंकुशताको शैलीमा अगाडि बढाइएको विषयप्रति मेरो गम्भीर असहमति एवं आपत्ति छ’ साहले भनेका छन्, ‘यसर्थ देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणाली अस्वीकार गरी सहि नेतृत्व प्रणालीको स्थापनाको लागि सबैमा विशेष अनुरोध गर्दछु ।’







