वीरगन्ज । वीरगन्ज उद्योग बाणिज्य संघले महानगरपालिकाले पटके सवारी व्यवस्थापन करमा अत्याधिक रकम असुल्न थालेको भन्दै त्यो शुल्क खारेज गर्न माग गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै संघले त्यो शुल्क खारेज गर्न माग गरेको हो ।
प्रमुख जिल्ला अधिकारीलाई हिजो नै खारेजीको माग गर्दै ज्ञापन पत्र बुझाएको वीरगन्ज उद्योग बाणिज्य संघका महासचिव माधवलाल राजपालले बुधबार वीरगन्जका पत्रकार सामु बताए । वीरगन्ज महानगरपालिकाले पटके सवारी शुल्क असुल्न खटाएका ठेकेदारलाई शर्त बाहिर गई जबरजस्ती शुल्क असुल्दा कार्वाहीको जोडदार माग गरिन्छ उनले भने ।
पटके सवारी करमा ४५ रुपैया २० पैसा तोकिएको सवारीको लागि पनि १७० रुपैया सम्म असुल्न थालेको भन्दै यो हदै भएको महासचिव राजपालको भनाइ छ । महानगरले जिम्मा दिएको एच एण्ड जे ट्रेडर्स वीरगन्ज २१ ले आफूले संकलन गर्नु पर्ने क्षेत्र नाघी अनावश्यक रुपमा सवारी चालक, सह चालकहरुसँग सधैं झैझगडा गरी अतिरिक्त शुल्क उठाउँदा उद्योगी व्यवसायीहरुलाई समेत आर्थिक भार थपिएकोले बाध्य भएर स्थानीय प्रशासन सामु कार्वाहीको माग गर्दै जानु परेको उनकोे भनाइ छ ।
नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघ, तराई यातायात व्यवसायी संघ लगायतका संघ संस्थाहरुबाट संघमा महानगरको अतिरिक्त कर शुल्कको सम्बन्धमा पटक पटक गुनासो आएपछि संघ आन्दोलनमा जान समेत तयार भई अगाडी बढेको वीरगन्ज उद्योग बाणिज्य संघले जनाएको छ ।






