सात गाउँमा बखुं मन्त जात्रा

सात गाउँले जात्राअन्तर्गत बिहीबार साँझ मच्छेगाउँमा खट परिक्रमा गरिँदै । तस्बिर: सुरेम देशार

प्राचीनकालमा स्वयम्भू महाचैत्यसामुन्ने एकजना ऋषिले यज्ञ गरिरहेको समय त्यहाँका सबै परेवा नैकाप वैष्णवी पीठसँगै रहेको रुखमा बस्न गएछन् ।

एकैचोटी यति धेरै परेवा रुखमा बस्न आएको देखेर एकजना व्याधाले गुलेलीले हिर्काएर एउटालाई घाइते बनाइदियो । परेवाले आफ्नो ज्यान बचाउने प्रयास गर्दै उडेर जाँदा पीठसँगै रहेको यज्ञ कुण्डको होममा पर्न गएछ । जसले गर्दा परेवाको ज्यान गयो ।

धर्मका निम्ति गरेको यज्ञकुण्डमा निर्दोष परेवाको प्राण गएकोले ऋषिले ‘बखुं मन्त’ अर्थात् ‘परेवा म¥यो’ भन्दै प्रायश्चित गर्दै प्रत्येक वर्ष मंसिर शुक्ल दशमीका दिन जात्रा मनाउने परम्परा बसालेको कथन छ ।

मंसिर शुक्ल अष्टमीदेखि दशमीसम्म मनाइने जात्रालाई ‘बखुं मन्त’ भन्ने शब्दलाई लिएर पछि ‘बखुंमद’ जात्रा हुन गएको किम्बन्ती छ । मंसिर शुक्ल अष्टमीलाई ‘बखुंमद’ अष्टमी पनि भन्ने गरिन्छ । सात गाउँमा गरिने जात्रा भएकाले यसलाई ‘सात गाउँको जात्रा’ पनि भनिन्छ ।

नेपाल एकीकरणअघि कान्तिपुर दक्षिण पश्चिममा सतुंगल, मच्छेगाउँ, बोसिगाउँ, न गाउँ, पांगा, ल्होकोट र कीर्तिपुर छुट्टाछुट्टै देश थिए । यही सात गाउँ देशका आदिवासी नेवारले मुख्य जात्राका रूपमा मान्ने ‘बखुंमद’मा देउलालाई थकाली बनाएर भोज खाने जात्रा र पश्चातापस्वरुप राँगो बलिदिएर जात्रा मनाइन्छ । सात गाउँले जात्रा पांगाबाहेक ६ वटा गाउँमा ‘बखुंमद’ अष्टमीदेखि दशमीसम्म भव्य रूपमा मनाइन्छ । पांगामा भने सप्तमीदेखि दशमीसम्म मनाउने परम्परा रहिआएको छ ।

‘बखुंमद’ सात गाउँले जात्रामा मुख्यगरी अष्टमीका दिन छ्वयलाभू, नवमी र दशमीका दिन सिन्हः याः सिन्दुर जात्रा गरी तीन दिन मनाइन्छ । सप्तमीदेखि पाँगाको बालकुमारी कीर्तिपुरको बाघ भैरव र इन्द्रयाणीको खटलाई ७ थरका नेवारले पूजा गरिसकेपछि बोकेर जात्रा गर्दै बल्खु पीठमा ल्याउँछन् ।

त्यस्तै, सतुंगल वैष्ण्वीदेवी र मच्छेगाउँको गणेशको खट पनि त्यहीं राख्न ल्याउँछन् । अनि, बोसिगाउँ र ल्होकोटबाट सिङ नभाँचिएको निख्खर कालो बोका ल्याएर विष्णुदेवीलाई बल्खु पीठमै बलि दिइन्छ । बलि दिँदा नाय्खिं, धिमे, कांहा, बाँसुरीजस्ता परम्परागत बाजा बजाउँदै भव्य पुजा गरिन्छ ।

‘बखुंमद’ जात्राको अन्तिम दिन सिन्दुर जात्रा गर्दै दशमीका दिन न्हगाउँमा बालकुमारी, कीर्तिपुरमा इन्द्रायणी, मच्छेगाउँ र सतुंगलमा विष्णुदेवी खट जात्रा गरिन्छ । मंसिर शुक्ल चौथीका दिन पीठमा हाँस र सप्तमीका दिन बलि दिइएको राँगोको मासु थलथले बनाएर ‘लाखेपा’ भनी लाखेलाई खुवाउन पालो बस्ने चलन छ

त्यही बलि दिइएको बोकाको मासु पोलेर छ्वयला बनाएर रक्सी, जाँडसँगै चिउरा खाएर छ्वयलाभू मनाउने चलन छ ।

नवमीका दिन कुछेँ गुथियारको नेतृत्वमा भाजंगाल, विष्णुदेवी र बालकुमारीका खट सिन्दुर जात्रा गर्दै पांगा द्यःफल्चा देवताको पारीमा पु¥याइन्छ । देश परिक्रमा गराइसकेपछि बाजा बजाउँदै नाच्दै जात्रा सकाउने परम्परा छ ।

गुथियारले कीर्तिपुर, मच्छेगाउँ, बल्खु पीठमा नौथरी गेंडागुडीका साथै जिउँदो भंगेरालाई दनदनी बलिरहेको यज्ञकुण्डमा आहुति दिएर होम गर्छन् ।

बखुंमद जात्राको अन्तिम दिन सिन्दुरजात्रा गर्दै दशमीमा दिन न गाउँमा बालकुमारी, कीर्तिपुरमा इन्द्रायणी, मच्छेगाउँ र सतुंगलमा विष्णुदेवीको खट जात्रा गरिन्छ भने बोसि गाउँ, ल्होक्वतमा भैरव र नैकापमा कालीको खट जात्रा भव्य मनाउने गरिन्छ ।

बल्खु पीठमा ल्याइएका सबै देवताका खट सबैभन्दा पहिला सतुंगलका जोगी, द्यःला, अनि द्यःननीका गुथियारले पालैपालो पूजा गरिसकेपछि मात्र सर्वसाधारणले पूजा गर्छन् ।

सात गाउँले जात्राको मौलिक विशेषता भनेकै देउलालाई ‘थकाली’ बनाएर भोज खानु हो । यो पुरानो परम्पराबाट के बुझ्नुपर्छ भने नेवार समुदाय आदिमकालदेखि नै ठूलो जात, सानो जात र छुवाछुतजस्ता भेदभाव नभएको समाज हो ।

सात गाउँले जात्रा ‘बखुंमद’ अष्टमीदेखि दशमीसम्म तीनतल्ले पेगोडा शैलीको मच्छेगाउँका विष्णुदेवीको खट जात्रा गरिन्छ । अष्टमीका दिन राँगो काटेर चोखो नितो गरी छ्वयालाभू मनाउँछन् । नवमीका दिन नौबाजा बजाएर देश परिक्रमा गर्दै बल्खु पीठमा लाने समयमा देवताका पुजारी देशारले खड्ग र कलश समाई चारैतिर भात छर्दै मनाउँछन् ।

सात वटा चिराग, नाय्खिं बाजा बजाउँदै कीर्तिपुर, पांगा, सतुंगल, ल्होंखा र बोसिगाउँ परिक्रमा गरेर बल्खु पीठमा पु¥याउने परम्परा रहिआएको छ ।

अष्टमीदेखि दशमीसम्म इन्द्रायणी जात्रा मनाउनेक्रममा दईवटामध्ये ठूलो खटमा इन्द्रायणी, विष्णुदेवी, महेश्वरी, कुमारी, बाराही, सिंहनी, व्याघ्रिनी र भैरव अनि अर्को खटमा गणेशलाई राखी नाय्खिं, धिमे, दाफा, कांहा र वथं बाजा बजाएर जात्रा गरिन्छ ।

मंसिर शुक्ल चौथीका दिन पीठमा हाँस र सप्तमीका दिन बलि दिइएको राँगोको मासु थलथले बनाएर ‘लाखेपा’ भनी लाखेलाई खुवाउन पालो बस्ने गर्छ । यही दिन प्रधानहरूले ‘हवंकिला’को नाममा पीठमा होम गर्छन् भने होममा एकजोडी भँगेरामा एउटालाई उडाउँछ भने अर्कोलाई होममा हाल्छन् ।

नवमीका दिन बकय् कवः, ग्वाः कवः र गःहे कवःका तर्फबाट तीनवटा घ्याम्पो जुधाई जात्रा गरिन्छ । दशमीका दिन सिन्दुर जात्रा गर्नेले ‘कुम्वःजा’ भनिने भात खुवाउने भनी बेल विवाह नगरेका कन्यालाई भात खुवाउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 904 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिमका ५१ पालिकाको मतगणना सम्पन्न (सूचीसहित)