महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भनेको छन् । धनभन्दा माया, मानवता एवं मानव व्यवहार ठूलो रहेको विषयवस्तु भएका गीत, कविताहरू लेखिएको पाइन्छन् । गाइएको सुनिन्छ । बंैसालु उमेरका युवा युवतीहरूको ठूलो संख्याले धनभन्दा मन ठूलो भन्ने शीर्षकमा बहस गरेको पाइन्छ । जे भनिए तापनि व्यावहारिक जीवनमा धन सम्पत्तिको महŒव एवं आवश्यकतालाई कसैले नकार्न सक्दैन । अझै अहिले त समाज विज्ञान र प्रविधिको विकासले निम्त्याएको आधुनिक जीवन शैलीसँगैै धनको आवश्यकता र उपयोगिता बढ्दै गएको छ । धनमा मन गएपछि मानिसले आय आर्जनका अप्राकृतिक माध्यम अपनाउँदा विभिन्न समस्या उत्पन्न भएका दृष्टान्तहरू यत्रतत्र पाइन्छ ।
त्यसो त धन भनेपछि महादेवका पनि तीन नेत्र भन्ने भनाइले पनि धनप्रतिको मोहलाई पुष्टि गर्दछ । अहिले समाजमा ‘लोभले लाभ लाभले विलाप’ भन्ने उक्ति चरितार्थ भएका परिघटनाहरू व्याप्त छन् । सम्पत्तिका खातिर भाइहरूमा झगडा, द्वन्द्व, कलह र पारिवारिक विघटनका उदाहरण प्रशस्त भेटिन्छन् । चोरी, डकैती, लुटपा धनकै लोभका कारण उत्पन्न भएका समस्या हुन् । धन कमाउने लोभले मानिसले अनेक हतकण्डा गरेको पाइन्छ । खाद्यान्नमा मिसावट, रासायनिक मलको प्रयोग, बिचौलियाहरूको बिगबिगी, कालो बजारी, दलाली, तस्करी, भ्रष्टाचार, आर्थिक अनियमिततालगायतका काममा मानिसहरू रातदिन लागेको देखिन्छ । उल्लिखित कार्य धन कमाउने लालसाबाट नै निर्देशित छन् ।
समाज विकासको इतिहासको अध्ययनले मानिस कुनै न कुनै रूपमा लोभ, लालचबाट मुक्त हुन नसकेका दृष्टान्तहरू भेटिन्छन् । १४औं शताब्दीमा चाणक्यद्वारा लेखिएको अर्थशास्त्रमा पनि धनको लोभले भ्रष्टाचार हुने विषय उल्लेख गरेको पाइन्छ । चाणक्यले त्यस तत्कालीन अवस्थामा पनि कर्मचारीले भ्रष्टाचार गर्ने गरेको दृष्टान्त प्रस्तुत गरेका छन् । यसैगरी मध्ययुगमा पनि समाजमा मानापाथीको नाप तौलमा बेइमानी गर्नेलाई २० वर्ष सजाय दिने गरेको इतिहास छ । उल्लिखित ऐतिहासिक दृष्टान्तले मानिसमा हरेक कालखण्डमा जसरी भए पनि सम्पत्ति कमाएर ऐस, आराम र तडकभडकको जीवन जिउने लालसा रहेको पाइन्छ ।
समाजमा सबैभन्दा ठूलो धन भन्ने चिन्तनबाट ग्रसित भएकाले व्यक्ति, समाजको आत्मिक सुख क्षीण हुँदै गएको छ
हाम्रो समाजमा आधुनिक जीवनशैलीका कारण धन कमाउने इच्छा वा लोभ झन्पछि झन् बढेको देखिन्छ । धनको मुख कालो भनेझंै मानिसले धनका अगाडिजस्ता सुकै कुकर्म पनि गर्न अगाडि सरेको देखिन्छ । राजनीति, प्रशासन, वाणिज्य, व्यापार, निर्माण कार्यलगायतका क्षेत्रहरूमा धन आर्जनका लागि भ्रष्टाचार, कमिसन, कालोबजारी, ठगी हुने गरेको छ । विश्व प्रख्यात कवि कार्ल कोरसले भ्रष्टाचार अत्यन्तै खराब कार्य भएको र यसले भ्रष्टाहरूलाई नैतिक पतन गराउनुका साथै सम्पूर्ण देशको नैतिकता नै ध्वस्त पार्ने कुरा उल्लेख गरेका छन् । उनले भनेजस्तै समाजका हरेक ठाउँमा भ्रष्टाचार मौलाएको छ । समाजमा अनैतिक, अवैधानिक, बेइमानी र खराब आचरणको विकास हुँदै गएको अग्रजहरूको अनुभव छ ।
भ्रष्टाचारको मुख्य कारण धन आर्जनको लालसा हो । हरेक ठाउँमा हुने कमिसन, अनियमितता, मिलिजुली खाने प्रवृत्तिका कारण देशका संरचनाहरू कमजोर हुने गरेका छन् । भ्रष्टाचारको जालो बालुवाटार, सिंहदरबारदेखि स्थानीय तहसम्म फैलिएको जानकार बताउँछन् । हाम्रो देशमा भ्रष्ट आचरण भएको राजनीतिक नेतृत्व एवं प्रशासकका कारण सुशासन कायम हुन सकेन भन्ने प्रशासनविद्हरूको भनाइ छ । सुशासन नभई विकासले गति लिन सक्दैन । मुलुकमा सुशासन कायम हुन नसक्नुमा राजनीतिक व्यक्ति एवं व्यक्तित्वहरूमा धन लाभका लागि भ्रष्ट आचरण जोडिएर आउँछ । अहिले पद, पैसा र प्रतिष्ठाका खातिर हरेक राजनीतिक पार्टीहरू घात, अन्तरघात, प्रतिघात हुँदै आपसी खिचातानी र स्वार्थमा लागि रहेका छन् । राजनीतिक दलका कतिपय नेताहरू कुन नेताका पछाडि लाग्दा सत्तामा जान पाइन्छ भन्ने अवस्थालाई बकुल्लाले माछा ढुकेजस्तो गरी पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । आपूmलाई पदलाभ र धनलाभ हुन्छ भने समाज, देश एवं नैतिकतासँगै कुनै सरोकार नराख्नेहरूको बिगबिगी छ । काले काले मिलेर खाउँ भालेको संस्कृति जताततै मौलाएको छ ।
हाम्रो देशमा पटकपटकका राजनीतिक परिवर्तनहरूलाइ संस्थागत हुन नसक्नु, राजनीतिक दलहरू आपसमा नमिल्नु, आफन्तवादले जरो गाड्नुको पछाडि लोभ, लालसा र धनमोह नै मुख्य भूमिका खेलेको हुन्छ । राजनीतिमा लोभमा अडिएको खेलभित्र विकास एजेन्डा, सिद्घान्त र दृष्टिकोण गौण भएको छ । अहिले यही मुलुकमा जन्मिएर, यहीको माटोमा हुर्किएर, यहीका नागरिकहरूको समर्थनप्राप्त गरी गरिब जनताबाट उठेको करमा रजाइ गर्दै राज्यको नेतृत्व तहमा पुगेका व्यक्तिहरूको नाम भ्रष्टाचारमा मुछिने गरेको छ । दूध उम्लिएपछि पोखिन्छ भनेजस्तै अहिले नेपाल कम्युनिस्ट पार्टी पद, पैसा र लोभका कारण क्षतविक्षत भएको छ ।
जननिर्वाचित प्रधानमन्त्रीले साथीहरूले काम गर्न दिएनन् भन्दै संसद् विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका छन् । जननिर्वाचित प्रधानमन्त्री काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै नागरिकहरूका दःुख, पीडा र कष्टहरूलाई छाडेर मै खाऊँ मै लाऊँ सुखसयल वा मोज मै गरूँ, मै बाचूँ मै नाचूँ अरू सब मन् दुर्बलहरू भन्ने आसयको सोंच द्वारा निर्देसित भएको देखिन्छ । उनको यो कार्य पद, पैसा र लोलुपताको पराकाष्ठा हो । अति गरे खति हुन्छ भन्ने नेपाली लोकोक्ति नेपाल कम्युनिस्ट पार्टीले भोगेको छ ।
कन्प्mयुसियसले आपूmले इज्जत पाउनका लागि अरूलाई इज्जत दिनुपर्ने धारणा राखेका छन् । गौतम बुद्घले मानिसलाई महान् बनाउने सदाचार र उच्च विचारले हो, भनेका छन् । महाकवि देवकोटाले मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन, भन्ने धारणा राखेका छन् । कन्प्mयुसियसले भनेझैं राज्यले जनताबाट इज्जत पाउन उनीहरूको विकासको चाहना पूरा गर्न सकेन । जनताबाट इज्जत पाउन सकेन । यसरी हेर्दा हाम्रो समाज, राजनीतिककर्मी, राज्यका संघसंस्थालगायत हेरक व्यक्तिमा सदाचार, सत्कर्म, नैतिकता एवं सेवाभावको क्षय हुँदै गएको देखिन्छ । यसो हुनमा मानिसमा त्यागको भावना हराउँदै जानु हो । लोभ, लालच र तृष्णाका पछाडि लाग्नु हो ।
समाज विकासको इतिहासको अध्ययनले मानिस कुनै न कुनै रूपमा लोभ, लालचबाट मुक्त हुन नसकेका दृष्टान्त भेटिन्छन्
मुलुकमा विधिको शासनको पालना गर्न राज्य सक्षम नभएकाले राजनीतिक संक्रमणको आडमा कालो धन आर्जन गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । राजनीतिक शक्तिको आडमा आप्mना दल वा गुटका कार्यकर्ताले गर्ने आर्थिक अनियमिताप्रति उच्च पदस्थ व्यक्तिहरूले आँखा चिम्लिनु नै भ्रष्टाचारलाई प्रश्रय दिनु हो । भ्रष्टहरूलाई कारबाही गर्नुको साटो भ्रष्टाचारीको मुद्दालाई राजनीतिकरण गर्ने जस्ता राजनीतिक दलका क्रियाकलापहरू नै देशमा समस्याहरू बढ्दै गएका छन् ।
लोभ, लालसा, भ्रष्टाचार मानव निर्मित समस्या हुन् । भ्रष्टाचार बढाउन, घटाउन, नियन्त्रणगर्न वा निराकरण गर्ने कुरा राज्य र नागरिकको इच्छाशक्तिमा निर्भर हुन्छ । विधिको शासनले आर्थिक अनियमितता एवं भ्रष्टाचारलाई नियन्त्रण गर्दछ । ट्रास्परेन्सी इन्टरनेसनलको तथ्यांकअनुसार भ्रष्टाचार नहुने देशहरूको सूचीको पहिलो नम्बरमा डेनमार्क छ । यसै गरी क्रमशः न्युजिल्यान्ड, फिनल्यान्ड, सिंगापुर एवं स्विडेनलगायतका देश पर्दछन् । यी राष्ट्रका राज्य प्रमुख, उच्चपदस्थ कर्मचारलगायत सचेत नागरिकले देश र जनताप्रति गर्नुपर्ने कर्तव्य र सामाजिक दायित्वप्रति इमानदार भएकोले भ्रष्टाचार नभएको हो । त्यहाँको राज्य नागरिकप्रति जवाफदेही भई विधिको शासनमा राज्य सञ्चालन गरेकाले समाजमा कालो धन कमाउनेहरू निरुत्साहित भएका हुन् ।
हाम्रो देशको भ्रष्टाचार दुरुपयोग निवारण आयोगमा बर्सेनि १९÷२० हजार भ्रष्टाचारसम्बन्धी उजुरीहरू पर्ने गरेता पनि भ्रष्टहरूलाई कारबाही भएको पाइँदैन । धन भनेपछि महादेवका त तीन नेत्र हुन्छन् भने मानिसहरूमा धनमोह हुनु अस्वाभाविक होइन । तथापि, अहिले समाजमा सबैभन्दा ठूलो धन भन्ने चिन्तनबाट ग्रसित भएकोल व्यक्ति, समाजको आत्मिक सुख क्षीण हुँदै गएको छ । सिंगो राष्ट्रको आर्थिक जीवन लथालिंग भएको छ । यसर्थ, को कसैले पनि धन आर्जनका लागि ठगी कार्य नगरांै ।
सदाचार, कल्याणकारी भावना, सादा जीवन, उच्च विचारलाई हरेक मानिसले अवलम्बन गरौं । आप्mनो फाइदाका लागि भ्रष्टहरू खोज्दै हिँड्ने बानीको अन्त्य गरौं । भ्रष्टहरूलाई सामाजिक बहिष्कार गरांै । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेजस्तै घुस लिन्या र दिन्या दुवै भ्रष्ट हुन् । दुवै देशका शत्रु हुन् भने झंै लोभ, लालच, तृष्णा एवं भ्रष्ट आचरण भएका हरेक मानिसहरू समाजका शत्रु हुन् । समस्याहरूका कारक तŒव हुन् । यसर्थ, मिहिनेतको कमाइमा रमाउने बानीको विकास गरौं ।