काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको दाबी गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका नेतालाई बैठकमा आएर सहमति खोज्न आह्वान गरेका छन् । नेकपाले अलग अलग समूहमा कार्यक्रम गरिरहेको अवस्थामा अध्यक्ष ओलीले पार्टी फुट्न नदिन आफू हरपल लागिरहेकाले बैठकबाटै निकास खोजिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले शुक्रबार ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवासँग भर्चुअल अन्तक्र्रिया गर्दै आम कार्यकर्ताको भावनाअनुसार पार्टीलाई एकजुट राख्नुपर्ने आवश्यकता आंैल्याए । ओलीले विभाजन गर्ने मनसायले ‘हामी यहाँ छौं’ लेखेर छात्तीमा टाँसेर सडकमा नबस्नसमेत प्रचण्डलगायतका नेतालाई आग्रह गरे ।
पार्टी यथार्थमा विभाजन नभएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, ‘केन्द्रीय समितिको बैठकमा बोलाए पनि उहाँहरू आउनुभएन । बैठकमा नआउने तर अन्यत्र बसेर अध्यक्ष हटायांै भनेर जग हसाउने काम गर्नुभयो, यो अनुचित कार्य हो ।’ ओलीले त्यस प्रकारका गलत कार्य नगर्न आग्रह गर्दै बैठकमा आएर सहमति खोज्दै पार्टीलाई विभाजन हुनबाट रोक्नुपर्ने बताए ।
‘बैठकमा बसौं, छलफल गरौं, निर्णय गरौं भनेकै छु । एक–दुईवटा बैठकमा नबस्दैमा अबका बैठकमा आउन नहुने भन्ने होइन त्यसैले बैठकमा आउनुस्,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले संसद् विघटन भएपछि केही सांसदले हस्ताक्षर संकलन गरेर लोकतान्त्रिक प्रणालीको खिल्ली उडाएको दाबी गरे । आफ्नै पार्टीका नेताले अस्थिरताको बीज रोपेर भयावह अवस्था सिर्जना गर्न लागेपछि ताजा जनादेशमा जाने निर्णय गर्न आफू बाध्य भएको उनले जनाए । संसदीय प्रणालीमा संसद् विघटन प्रधानमन्त्रीको अधिकार भएकोसमेत उनले बताए । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड र नेपाल पक्षको अहिलेको ध्यान नै पार्टी कार्यालय कब्जा गर्ने, पार्टीको कोषमा रहेको पैसा झिकेर गायब गर्ने कार्यमा केन्द्रित रहनु खेदजनक भएको बताए ।
प्रधानमन्त्री ओलीले प्रदेशमा आएका विश्वासका प्रस्तावका सम्बन्धमा समेत असन्तुष्टि व्यक्त गरे । ‘उहाँहरू अहिले प्रदेशहरूमा अस्थिरता फैलाउने काम गर्दै हुनुहुन्छ । यो देशमा राष्ट्रपति होइन, राजा चाहिन्छ भन्ने सन्देश दिइरहनुभएको छ । जुन संघीय लोकतान्त्रिक गणतन्त्रका लागि घातक कार्य हो,’ ओलीले भने ।
पार्टीको वैधानिकता विवादका सन्दर्भमा स्पष्ट पार्दै ओलीले पार्टीको वैधानिकता दाबी गर्दै निवेदन बोकेर आफूहरू निर्वाचन आयोग र अदालत नजाने बताएका छन् । उनले आफू रहेको नेकपा नै वैधानिक भएको र सूर्य चिह्न आफ्नै पार्टीले पाउने दाबी गरे । ‘कसैले निवेदनको चिर्कटो निर्वाचन आयोगमा पु¥याउँदैमा वैधानिकता प्राप्त हुँदैन । हामी वैधानिक नेकपा हौं । अदालत र आयोगमा उहाँहरू जानुभएको छ । त्यसरी जाँदैमा केही हँुदैन,’ प्रधानमन्त्री ओलीले भने ।
राष्ट्रपति संस्थामाथि असभ्य आक्रमण गरेर प्रचण्ड पक्ष गणतन्त्रविरुद्ध लागेको उनले आरोप लगाए । ओलीले प्रचण्ड र माधव पक्षले संवैधानिक प्रक्रिया अवरुद्ध गरेपछि संविधान कार्यान्वयन तथा रक्षाका लागि ताजा जनादेशमा जानुपरेको र त्यो अधिकार संविधानले दिएको दाबी गरे ।






