विश्वव्यापी महामारी संक्रमणका कारण नेपालमा चालू शैक्षिक सत्रमा बन्द रहेका विद्यालय अब भने खुल्ने निश्चित भएका छन् । विद्यालयहरू लामो समयदेखि बन्द रहँदै आएकाले बालबालिकाको पढाइमा नकारात्मक असर पर्दै आइरहेको थियो भने अभिभावकसमेत तनावमा थिए । विद्यालय खोलिने भएपछि त्यस्तो समस्याको समाधान हुने देखिएको छ । त्यसैले विद्यालय खोल्ने निर्णयलाई सकारात्मक रूपमा लिनुपर्छ । यद्यपि, आफ्नो बालबालिकाहरूलाई स्वास्थ्य मापदण्डअनुसार विद्यालयमा पठाउने व्यवस्था गर्नुपर्छ भने विद्यालयहरूले पनि सोहीअनुसार आवश्यक व्यवस्थापन गर्नुपर्छ ।
शिक्षा मन्त्रालयको विद्यालय खोल्ने योजनाअनुसार अब देशभरका विद्यालय आगामी शैक्षिक सत्रका लागि विद्यालयमै पढाइ गर्नेगरी तयारी गर्ने मुडमा देखिएका छन् । चालू शैक्षिक सत्रको अन्तिममा आएर अब विद्यालयहरू खुला गरिँदा पनि विद्यार्थीहरूको पढाइलाई केही हदसम्म व्यवस्थापन गर्न सहज हुने देखिन्छ ।
कोरोना महामारीका कारण लगभग एक शैक्षिक सत्र अनलाइनलगायतका वैकल्पिक शिक्षण विधिबाट अध्ययन अध्यापन गर्दै बिते पनि अब भने विद्यालयमै खुला पढाइ गर्ने तयारी गरिने भएको छ । नेपालमा कोरोना महामारी रोकथामका लागि गठित उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को बैठकले विद्यालय खुला गर्ने निर्णय गरेपछि शैक्षिक क्षेत्रमा यसका ’boutमा कसरी लैजाने भनी सोच्न थालिनु सकारात्मक कुरा हो । प्रक्रियाका हिसाबले सीसीएमसीको निर्णय मन्त्रिपरिषद्बाट पारित गरिन बाँकी रहे पनि आगामी दिनमा खुला पढाइका लागि वातावरण बन्ने बनाइने प्रयास भने निश्चितजस्तै भएको छ । तथापि, महामारी केही महिना र केही वर्षभित्रै नियन्त्रण हुने संकेत भने देखापरिरहेको छैन । विश्वमा आएका हरेक महामारीले कम्तीमा पनि एक दशकसम्म गम्भीर असर पार्ने र त्यसपछिका वर्षहरूमा पनि त्यसको आंशिक प्रभाव रहिरहने देखिएको छ ।
यसका बाबजुद पनि कतिपय स्थानीय विद्यालयहरूले केन्द्र सरकारले औपचारिक निर्णय र अनुमति बेगर विद्यालयमा पढाइ सुचारु गरिरहेका छन् । ग्रामीण इलाकाका अधिकांश विद्यालयहरूमा पढाइ भइरहेको छ । कतिपय स्थानीय तहले विद्यालय खुलाएर पठनपाठन सुरु गर्ने निर्णय पनि गरेका छन् । काठमाडौं उपत्यकाकै कतिपय सरकारी विद्यालय पनि खुलाएर कक्षाकोठामै अध्ययन अध्यापन भइरहेको छ । कतिपय निजी तथा अन्य विद्यालयमा भने अनलाइन कक्षा निरन्तर सञ्चालनमा ल्याइएको छ । सरकारले यसअघि शैक्षिक संघसंस्था खुला गर्नुपर्ने भएमा जनस्वास्थ्य मापदण्ड पूरा गरेर मात्र गर्नुपर्ने निर्देशन पनि जारी गरेको थियो । तर, उक्त निर्देशन त्यति प्रभावकारी हुन सकेन । यसबीचमा कैयौं विद्यालयहरू खोल्ने र बन्द गर्ने प्रक्रिया जारी रहे । शिक्षा मन्त्रालयले कहिले खोल्ने र कहिले बन्द गर्ने विरोधाभाषपूर्ण निर्णय लिन बाध्य हुनु परिरह्यो । यसले पनि नेपालको शैक्षिक अवस्थामा निकै तरलता पैदा गरिरह्यो । निर्णयहरू विवादित रहिरहे । बहसहरू चलिरहे । शिक्षक, अभिभावक र विद्यार्थीका बीचमा केही अन्तरसंघर्ष पनि चले । तर, पढाइ सुचारु हुन सक्ने अवस्था सिर्जना हुन सकेन ।
हाल विवाद र बहसका बीचमा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्पन्न गरिसकेको छ । त्यसपछि विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहका परीक्षा जारी छन् । अन्य तहका परीक्षालाई पनि प्रक्रियामा लगिदै छ । उता महामारी पनि नयाँ नयाँ संस्करणमा परिमार्जित हुँदै आइरहेको छ । कोरोना महामारीको नयाँ प्रजाति आइरहने र रोगलाई बढी संक्रामक र भयावह बनाइरहने अवस्थामा हाल सरकारी तहबाट शैक्षिक क्षेत्रमा गरिन लागेको निर्णय पनि कति प्रभावकारी हुन्छ, हेर्न बाँकी छ । त्यसो त कोरोना महामारीविरुद्ध औषधि विकास गरिसकेका देशमा पनि नयाँनयाँ प्रजातिका कोरोनाको फैलावटले ठूलो आतंक सिर्जना गरिरहेको छ ।
नेपालमा अहिलेसम्म औषधिको विकास पनि हुन नसकिरहेको र अन्य देशहरूबाट ल्याइएका औषधि पनि आवश्यक वातावरण निर्माण गरी वितरण गर्न कठिन रहेका बेला आगामी शैक्षिक सत्र खुला गरिने निर्णय आफैंमा फलामको च्युरासरह साबित हुने देखिन्छ । तर, पनि नेपालको शैक्षिक अवस्थामा झनै संकट निम्त्याउन सक्ने हालको अवस्थाको अन्त्य गरी स्थानीय विशिष्टताका आधारमा शैक्षिक गतिविधि अघि बढाइनु जरुरी छ ।







