सिन्धुली । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेकै समयमा निर्वाचन गर्ने बताएका छन् । नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले बुधबार बिहान सिन्धुलीमा अगुवा कार्यकर्तासँगको भेटघाटमा सरकारले तोकेकै समयमा निर्वाचन गर्नका लागि तयारी गरिरहेकाले त्यसको तयारी गर्न निर्देशन समेत दिएका छन् ।
‘संसद विघटनका विषयमा प्रधानमन्त्रीले आफ्नो तर्फबाट सर्वोच्चलाई जवाफ दिइसक्नुभएकाले ताजा जनादेशमा जान अदालतले रोक लगाउँदैन’, उनले भने, ‘ताजा जनादेशमा जाने कुरामा अदालत दायाँ बायाँ हुन्छ भन्ने मलाई लाग्दैन ।’
धनुषा हुँदै रामेछाप जाने क्रममा सिन्धुलीमाढीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता कार्यकर्तासँग भेट गर्दै पोखरेलले घोषणा गरेकै मितिमा मध्यावधि चुनाव हुनेमा दुविधा नपाल्न आग्रह गरे । प्रधानमन्त्रीले निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोग र ४ वटै सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको पनि उनले बताए ।
‘बैशाख १७ र २७ गतेका लागि निर्वाचन मिति घोषणा भएको छ, मिति घोषणा लगत्तै प्रधानमन्त्रीले ४ वटै सुरक्षा निकाय र निर्वाचन आयोगसँम छलफल गर्नुभएको छ, उहाँहरू पूर्ण रूपमा चुनावी तयारीमा लागिसक्नु भएको छ, निर्वाचनमा जे जे परिणाम आउँछ, त्यो स्वीकार गर्दै अघि बढ्नुपर्छ,’ पोखरेलले भने ।
उनले भने, ‘जनमतमा जाँदा सहि गरेको भए जनताले पुरस्कृत गर्ने र गलत गरेको भए दण्ड दिने छन् ।’ नेकपा एकीकरण राष्ट्रिय आवश्यकता, जनता र कार्यकर्ताको चाहनामा भएको उनले बताए । राष्ट्रिय अस्थिरतालाई हटाई विकास निर्माणमा एकतावद्ध हुन पार्टी एकता भएको पनि उनले बताए ।
‘विकासका सम्भावना बढ्छन्, संमृद्धिको सपना पुरा हुन्छन्, रोजगारी बढ्छ भन्ने थियो पार्टीभित्रको एकताले पुरा गर्न सकिएन’, उनले भने, ‘नेकपाभित्र भ्रुणमा समस्या थिए, हुर्केर विस्फोट भएको हो ।’ पोखरेलले कार्यकर्तालाई गाली गलौजमा नउत्रन र वास्तविक कुरा जनतामाझमा लान निर्देशन समेत गरेका छन् । ‘अहिले गालीगलौज गर्ने बेला हैन, वास्तविक कुरा जनतामाझ लाने बेला हो । संयमित भएर चुनावी अभियानमा जानुस्’ उनले भने ।
‘पार्टी कार्यकर्ताको ‘पार्टीको चुनाव चिह्न के हुन्छ ?’ भन्ने प्रश्नको जवाफ दिदै पोखरेलले पार्टी नेकपा नै रहने र चिन्ह सूर्य नै हुने बताएका छन । उनले केपी ओलीको नेतृत्वको नेकपाले नै चुनाव चिन्ह सूर्य प्राप्त गर्ने दावी गरे । उनले भने, ‘जहाँ केपी ओली, त्यहाँ नेकपा, जहाँ नेकपा, त्यहाँ सूर्य चिन्ह ।’






