सँधै घाटामा गीतकार

काठमाडाैं । गीत ल्याउने कार्य निकै महँगो भएका कारण गीतकारहरू पछिल्लो समय मर्कामा परेको सम्बन्धित स्रष्टाहरूको गुनासो छ । नेपाल गीतकार संघको १०औं साधारणसभा तथा पाँचांै महाधिवेशनमा स्रष्टाहरूले यस्तो गुनासो पोखेका हुन् ।

अग्रज गीतकार राजेन्द्र थापाको भनाइमा पछिल्लो समय गीतसंगीत निकै महँगो हुँदै गएको छ । गीतकारले गीत लेखेर मात्र नहुने, त्यसलाई उच्च प्रविधिमा रेकर्ड गरेर राम्रो भिडियो बनाएर सार्वजनिक गर्नुपर्ने प्रतिस्पर्धा बढेको उनको टिप्पणी छ । अग्रज गीतकार थापाका प्रायः गीत अरूले नै रेकर्ड गरेर भिडियो बनाउँदै आएका छन् । तर, बहुसंख्यक गीतले आफ्नो लगानीमा गीत रेकर्ड गरेर महँगो भिडियो बनाउनुपर्ने बाध्यता रहेको उनको कथन छ ।

अर्का अग्रज गीतकार राजुबाबु श्रेष्ठ पनि राम्रो गीत बनाएर मात्र नहुने बताउँछन् । उनको भनाइमा गीत चल्नका लागि गीतजस्तै भिडियो पनि राम्रो हुनुपर्ने बाध्यता नै भएको छ । विगतमा आफूले केही गीत रेकर्ड गरेर श्रोतामाझ ल्याएका राजुबाबुले पनि पछिल्लो समय आफ्नो लगानीमा गीत रेकर्ड गर्न छाडेका छन् । अरू कलाकारलाई नै उनले गीत गाउन दिने गरेका छन् ।

गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चुडामणि देवकोटाको भनाइमा नेपाली गीतसंगीतमा गीतकारहरूकै लगानी बढी पर्ने गरेको छ । तर, गीतकारहरूलाई आफ्नो गीत रेकर्ड गराएर आर्थिक रूपमा कत्ति पनि फाइदा नरहेको उनको ठहर छ । गायकगायिकाले विभिन्न स्टेज कार्यक्रमबाट गीतको पैसा लिने भए पनि गीतकारले गीत रेकर्ड गराएर अहिलेको अवस्था पैसा कमाउने अवस्था नरहेको पनि उनले बताए । तथापि गीतकारहरूले गीत रेकर्ड गरेर भिडियो बनाएर बजारमा ल्याउनेक्रम घटेको छ । यो अर्थमा गीतकारहरूले गीतसंगीतमा घाटाको व्यापार गरिरहेको निवर्तमान अध्यक्षको भनाइ छ ।
पछिल्लो समय पैसा भएकाहरू गीतकार बन्नेक्रम बढेको र आर्थिक रूपमा विपन्न गीतकारहरू बिस्तारै पलायन हुँदै गएको पनि यी गीतकारको कथन छ । नेपाली गीतसंगीतलाई बिस्तारै एक प्रकारका व्यक्तिहरूले कब्जा गर्दै गएको र उनीहरू आफैंले गीतसंगीतदेखि गायन कार्यसमेत गरिहेको पनि यी गीतकारहरूको गुनासो छ । राम्रो गीतकार पलायन हुँदै जानु र हलुका शब्दका गीतहरूको प्रयोग बढ्नुले गीतमा शब्दको महत्व घट्दै जाने चिन्ता यी गीतकारहरूलाई रहेको छ ।

गीतकार संघमा नयाँ कार्यसमिति चयन

नेपाल गीतकार संघमा नयाँ कार्यसमित चयन भएको छ । शनिबार काठमाडौंमा सम्पन्न ११औं साधारण सभा र ५औं अधिवेशनले नयाँ कार्यसमित चयन गरेको छ । गीतकार शुभ मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमित चयन भएको छ ।
दुई वर्षका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्ष वसन्त वित्यासी थापा, महासचिवमा रमेश कोइराला, सचिवमा महेश आचार्य र कोषाध्यक्षमा जोबी संयोगी चयन भएका छन् ।

यस्तै, संघका केन्द्रीय कार्यसमित सदस्यहरूमा प्रतिमा श्रेष्ठ, शीतल कादम्बिनी, लोकराज अधिकारी, सुमी सिंह, रमेश राई र चेतन खतिवडा चयन भएका हुन् ।

आफ्नो कार्यसमितिले गीतकारहरूको हकहितका लागि काम गर्ने संघका नवनिर्वाचित अध्यक्ष शुभले बताएका छन् । गीतकारहरू आर्थिक रूपमा समेत विपन्न रहेकाले संघका सदस्यहरूका लागि विभिन्न योजना आफूहरूले ल्याउने दाबी उनले गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 399 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै पराजित