नयाँदिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३४ पुग्यो


नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबारसम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मारिने सबैजसोलाई गोली लागेको पाइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै २ सय जना घाइते भएका छन् ।


अझैपनि कतिपय इलाकामा हिंस्रक जत्था डुलिरहेको अनि खासगरी दिल्लीको उत्तर–पूर्वी भागमा छिटफुट हिंसा भएका विवरण प्रहरीले दिएको छ । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दंगा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ । जिटिबी अस्पतालका निर्देशक सुनिल कुमारले अस्पतालमा ३० जनाको मृत्यु भएको जानकारी दिए । लोकनायक अस्पतालका मुख्य चिकित्सकले आफ्नो अस्पतालमा दुई जनाको मृत्यु भएको बताए ।


जिटिबी अस्पतालका निर्देशक कुमारले मृत्यु भएका सबैलाई बन्दुकको गोली लागेको बताए । विवादास्पद नागरिकता कानूनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेका छन् र यस क्रममा एक सयभन्दा बढीको ज्यान गइसकेको छ । पछिल्लो हिंसात्मक झडप उक्त कानूनको पक्ष र विपक्षमा रहेका हिन्दु र मुस्लिम समुदायबीच भइरहेको छ ।


हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीका घर, पसल, मस्जिद, विद्यालय, टायर बजार र पेट्रोप पम्पमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । दिल्ली प्रहरीका प्रवक्ता मन्दीप रन्धवाले बुधबारदेखि बिहीबार रातसम्म ठूलो हिंसात्मक झडप नभएको र अघिल्ला दिनको तुलनामा परिस्थिति शान्त देखिएको बताए । केही मानिसले प्रहरीको मद्दत माग्दै फोन गरेका र त्यहाँ तत्काल प्रहरी पुगेको पनि उनले जानकारी दिए ।
गत आइतबार मुस्लिम समुदायका व्यक्तिहरूले नागरिकता कानूनको विरोधमा सडकमा जुलुस निकालेकै समयमा हिन्दु समूहले आक्रमण गरेपछि परिस्थिति नियन्त्रणबाहिर पुगेको थियो । स्थानीयवासीले दिल्ली प्रहरीले हिंसामा उत्रिएको समूहलाई नियन्त्रणमा ल्याउन कुनै प्रयास नगरेको आरोप लगाएका छन् ।


गत डिसेम्बरमा मात्र उत्तर प्रदेशका मुस्लिम बहुल इलाकाहरूमा भएका प्रदर्शनमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । संशोधित नागरिकता कानून र राष्ट्रिय अभिलेख रजिष्टरका नाममा आफूहरूलाई राज्यविहीन बनाउने भारत सरकारको कुत्सित मनशाय देखिएको मुस्लिम समुदाय र बौद्धिक समूहको दाबी छ । तर भारत सरकारले कुनै पनि मुस्लिमलाई राज्यविहीन नबनाउने बताइसकेको छ ।
नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा विद्यालयहरू बन्द गरिएका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरू र प्रहरी अधिकारीहरूसँग कुराकानी गरेका छन् ।


उनले दिल्लीको पछिल्लो अवस्थाका ’boutमा विस्तृत प्रतिवेदन केन्द्र सरकारलाई बुझाउने जिम्मेवारी पाएका छन् । प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवासबाहिर भेला भएको भीडलाई तितरबितर बनाएको थियो । यो भीडमा खासगरी जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरू, जामिया मिलिया इस्लामियाका सदस्यसमेत रहेका थिए । उनीहरूले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।


मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानून राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानूनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ ।
नयाँ कानूनअनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तर तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसङ्ख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ ।


बिहीवार धेरैको ध्यान दिल्ली उच्च अदालतका न्यायाधीश एस मुरलीधरको सरुवातर्फ खिचिएको छ । उनको सरुवा’bout दुई साता अगाडि नै घोषणा गरिएको भएतापनि दिल्ली हिंसालाई लिएर उनले गरेका तीखा टिप्पणीका कारण सो घोषणा कार्यान्वयनलाई तीव्रता दिइएको हुनसक्ने अनुमान गरिएको छ ।
न्यायाधीश मुरलीधरले धार्मिक दंगाको मुद्दामाथि सुनुवाइ गरिरहेका थिए । उनले बुधवार सरकार र प्रहरी दुवैको चर्को निन्दा गरेका थिए । बुधवार राति नै उनको तत्काल सरुवाको आदेश पठाइएको थियो । सरकारले सो सरुवा राजनीतिक रूपमा उत्प्रेरित नभएको जनाएको छ ।


हिंसापीडितलाई दिल्ली सरकारको राहत


यसैबीच, नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका हिंसापीडित व्यक्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । उपमुख्यमन्त्री मनिष सिसोदिया, मन्त्री कैलाश गहलोटसहित वरिष्ठ अधिकारीहरू सम्मिलित बैठकले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
यसअघि नै मुख्यमन्त्री केजरीवालले दिल्ली हिंसामा मारिएका प्रहरी रत्तन लालको परिवारलाई एक करोड भारतीय रुपैयाँका साथै परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरिसकेका छन् ।


रत्तन लालको उत्तरपूर्वी दिल्लीमा भएको हिन्दु–मुस्लिम दंगाका क्रममा ज्यान गएको थियो । बुधबार मुख्यमन्त्री र उपमुख्यमन्त्री दुवैले हिंसा प्रभावित उत्तरपूर्वी दिल्लीको भ्रमण गरेका थिए । उनीहरूले स्थानीय मानिससँग भेटघाट गरी शान्ति कायम राख्न आग्रह गरेका थिए । दिल्ली हिंसाका क्रममा प्रहरीसहित कम्तीमा ३३ जनाको मृत्यु हुनाका साथै झण्डै २ सय जना घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

कुरी-कुरी