रेमिटेन्स वृद्धिले पलाएको आशा

कोरोना महामारीले विश्व आक्रान्त हुँदा पनि चालू आर्थिक वर्षको मंसिरसम्म देशमा भित्रने रेमिट्यान्समा वृद्धि भइरहेको छ । यस वर्ष मात्र ४ खर्ब १६ अर्ब ८१ करोड रूपैयाँ रेमिट्यान्स भित्रनु भनेको चानचुने विषय होइन । यो भनेको हाल नेपालमा भित्रिइरहेको कुल रेमिट्यान्समा १०.९ प्रतिशतले वृद्धि हो । राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’को तथ्यांकमा रेमिट्यान्सको यो वृद्धिदर स्पष्ट रूपमा खुलाइएको छ । अघिल्लो वर्षमा घट्न पुगेको रेमिट्यान्स यो वर्षमा बढोत्तरी भएर आउनु देशको आर्थिक वृद्धिमा सकारात्मक कुरा हो । देशको कुल आर्थिक गतिविधिमा वैदेशिक रोजगारी र त्यसबापत प्राप्त हुने रेमिट्यान्सले ठूलो प्रभाव पार्ने गर्दछ । नेपालमा रोजगारीको समस्या समाधान हुन नसक्दा प्रत्येक दिनजसो करिब २ हजार जनाको दरले युवाहरू वैदेशिक रोजगारीका लागि विभिन्न देश प्रस्थान गर्दछन् । यो भनेको नेपालको कुल जनसंख्याको अनुपातमा युवापंक्तिको विदेश पलायनता हो । तथापि, यसले नेपालको आर्थिक गतिविधिसँग समानुपातिक मेल कायम गरिरहेको छ । यो अहिले देशको आर्थिक उत्पादनको सन्तुलन कायम गर्ने आर्थिक मानकजस्तै हुन गएको छ । यसरी रेमिट्यान्स भित्रनुलाई निकै सकारात्मक रूपमा हेरिएको छ ।

कोरोना सुरु हुँदाका दिनमा महामारी संक्रमण र त्यसको सम्भावित व्यवस्थापनले विश्वमा निकै ठूलो आतंक मच्चायो पनि । रोजगारदाता देशहरूले नेपालीलगायत विश्वका श्रमिकहरूलाई कम्पनी बन्द गरेरै घर पठाइदिए । नेपाली श्रमिकहरू पनि घर फर्किए । यसले देशको आर्थिक आर्जन विभिन्न खम्बाहरूमध्ये वैदेशिक रोजगारीको खम्बा कमजोर बनाइदियो । एक त देशमा आइरहेको रेमिट्यान्स रोकियो, अर्को कुरा, स्वदेशमा युवा फर्किएपछि गाउँगाउँमा आधारभूत आवश्यकताको पनि उत्तिकै समस्या थपियो । नेपाल आर्थिक रूपमा डबल मारमा पर्न गयो । समस्या निकै सिर्जना भए तर महामारीले दीर्घकालीन बाटो लिने र यो महामारीको तत्काल अन्त्य नहुने भएपछि स्थिति अप्ठेरो अवस्थामा रहँदा रहँदै पनि युवा विदेशतिर जाने क्रममा वृद्धि भयो । महामारी पचाएर पनि आर्थिक उत्पादन नगरे भोकमरीको समस्या खडा हुने स्थिति सिर्जना भयो । युवाहरूले जीवनका लागि रोजगारको बाटो रोजे । विदेश फर्किए र सम्बन्धित कम्पनी तथा नयाँ खुलेका कम्पनीमा कामका लागि दाखिल भए । यसले गर्दा उनीहरूले आआफ्ना घरका समस्या पनि समाधान गरे र देशमा सिर्जना भएको समस्या पनि समाधानको बाटो खुल्न थाल्यो । हाल रेमिट्यान्स वृद्धिको क्रममा छ ।

पछिल्लो अवधिमा वैदेशिक रोजगारमा जानेको संख्यामा केही वृद्धि हुँदै जान थालेको छ । हाल रेमिट्यान्स भित्रिनेक्रम बढेको देखिए पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्या भने पहिलेको भन्दा कम नै छ । डलरको भाउ बढेका कारण रेमिट्यान्स बढेको देखिएको हो । वैदेशिक रोजगारीका लागि सम्झौता भएका देशबाहेक अन्य देशहरूमा पनि नेपाली पुग्ने गरेका छन् । सरकारले सकेसम्म ती देशहरूको पहिचान गरेर सम्झौता गर्न सकेमा रेमिट्यान्समा बढोत्तरी हुने देखिन्छ । यसका साथै वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले विदेशबाट फर्कदा टिभी, घडी, सुनजस्ता जिन्सी सामान लिन पनि छाडेका छन् । यसले पनि रेमिट्यान्स रकममा वृद्धि हुन सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान