काठमाडौं । १० महिनादेखि बन्द रहेको काठमाडौंको अनामनगरस्थित मण्डल थिएटरलाई यतिबेला सरसफाइसँगै पुनः मर्मतको काम थालिएको छ । नेपाल सरकारको निर्णयअनुसार चलचित्र भवन खुलेपछि नाट्यकार्मीहरूले काठमाडौं र मोफसलका नाटक घरहरू १ माघबाट खोलेका छन् । आफूहरूको सामूहिक निर्णयबाट माघेसंक्रान्तिदेखि नाटकघर खोलेको मण्डल थिएटरका संयोजक तथा नाट्यकर्मी राजन खतिवडाले बताएका छन् ।
उनका अनुसार नाट्यकर्मीहरूको व्यावसायिक समूह थिएटर हबले अबबाट आलोपालो गरी तथा नियमित रूपमा नाटक घरलाई सञ्चालन गर्ने निर्णय गरेको छ । राजधानी र मोफसलका नाटकघरमा पालैपालो नाटक मञ्चन गरेर नाटक संस्कृतिलाई निरन्तरता दिने निर्णय नाट्यकर्मीहरूले गरेको छन् । सोही निर्णयअनुसार बिहीबारबाट नाटकघर सञ्चालन गरिएको हो ।
काठमाडौंको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटर (नाटकघर)ले बिहीबारबाटै नाटक मञ्चन सुरु गरेको छ । थिएटर हबको निर्णयअनुसार यो नाटकघरबाट बिहीबारदेखि नाटक मञ्चन सुरु गरिएको हो । पहिलो दिनको सोमा नाट्यकर्मी आफैं र केही दर्शकहरूको उपस्थित रहेको थियो ।
शिल्पीका सञ्चालक एवम् नाट्यकर्मी घिमिरे युवराजका अनुसार कोरोना संक्रमणबाट दर्शकलाई जोगाउन पूर्ण रूपमा सुरक्षाको व्यवस्था नाटकघरहरूमा गरिएको छ । साथै दर्शकलाई दूरी कायम गरेर नाटक देखाउने व्यवस्था गरिएको छ । विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड अपनाउँदै राजधानी र मोफसलका विभिन्न नाटकघरहरू यतीबेला सञ्चालनमा आएको पनि उनको भनाइ छ ।
शिल्पी थिएटरले बिहीबार बेलुका नाटक ६ पात्रको एकालाप प्रस्तुत गरेको छ । यो नाटक बिहीबारबाट सुरु भएको र आगामी १० माघसम्म मञ्चन गरिने यसका निर्देशक घिमिरे युवराजले जानकारी गराएका छन् ।
यता नाटक घरको सरसफाइमा व्यस्त रहेको मण्डला थिएटरमा भने ७ माघमा मात्र नाटकसम्बन्धी कार्यक्रम गरिने भएको छ । अहिले नयाँ नाटक तयार नभएकाले त्यसको तयारीमा आफूहरू जुटेको पनि मण्डलाका रंगकर्मीहरूले बताएका छन् । सो थिएटरमा आगामी बुधबार कोरोना अघि र कोरोना पछिको रंगमञ्च विषयमा छलफल गरिने भएको छ । सो छलफलका लागि नाट्यकर्मी, सञ्चारकर्मी तथा दर्शकलाई बुधबार ३ बजे सो नाटकघरमा निम्ता पनि गरिएको छ ।
यस्तै, थिएटर हबको निर्णयअनुसार यो साता विभिन्न नाटकघरमा नाटक मञ्चन तथा विविध कार्यक्रम राखिएको छ । थिएटर हबले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सबै सुरक्षाका नियमहरूलाई पालना गर्दै फेरि नाटकघरहरू सञ्चालनमा ल्याउने हाम्रो सामूहिक निर्णयअनुसार यही २०७७ साल माघ १ गतेदेखि क्रमशः अधिकांश नाटकघरहरू खोल्ने निर्णय गरिएको छ ।’ विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘कोभिड–१९ को कारणले संसारलाई नै शिथिल बनाएको घटना सबैमा सर्वविधितै छ । कोभिड–१९ का कारण सिनेमाघर, होटल–रेन्टुरेन्ट, व्यापार–व्यवसाय, कार्यालय, पर्यटन, यातायातसँगै नाटकघरहरू बन्द भए भने नाट्य मञ्चनहरू रोकिए । करिब १० महिनाको विश्रामपछि देशभरका रंगकर्मीहरू एउटा निर्णयमा पुग्यौं ।’
सोही निर्णयअनुसार बिहीबारबाट नाटकघर खुला गरेको पनि थिएटर हबले जनाएको छ । यस्तै टेकुमा रहेको कौशी थिएटरले शुक्रबार नाटक हराउँदै भेटाउँदै मञ्चन गर्ने भएको छ । सो मञ्चनको सबै तयारी र कोभिड विरुद्धको सुरक्षा तयारी आफूहरूले गरेको पनि त्यहाँका नाट्यकर्मीले जनाएका छन् ।
झोराहाट थिएटर विराटनगर आइतबारबाट खुल्दै छ । सो थिएटर यतिबेला नयाँ नाटक ‘कोरोना टाइम्स’ को मञ्चन अभ्यासमा व्यस्त छ । नाटकलाई आइतबारबाट मञ्चन गर्ने तयारीमा झोराहाट थिएटर रहेको पनि थिएटर हबले जानकारी गराएको छ ।
यस्तै विराटनगरकै अर्को नाटक घर आरोहण गुरुकुल सोमबारबाट सञ्चालनमा आउने भएको छ । सो थिएटरका संयोजक भैरव क्षत्रीका अनुसार आरोहण गुरुकुल नयाँ नाटकको नमूना मञ्चन तथा छलफल गरिने भएको छ । विगत १० महिनादेखि बन्द रहेको यो नाटकघरलाई यतिबेला सफसफाइ सकेर नयाँ नाटकको अभ्यास त्यहाँ भइरहेको छ ।
यस्तै, पोखराको पोखरा थिएटर नयाँ नाटक महोत्सवका तयारीमा छ । मंगलबार पत्रकार भेटघाट गरेर आगामी नाटक महोत्सवबारे जानकारी गराइने भएको छ । अर्को नयाँ नाटक मञ्चनबारे पनि सोही भेटघाटमा जानकारी गराउने आयोजक पक्षले जनाएको छ । थिएटर हबको निर्णयअनुसार सो थिएटर पनि खोल्न लागिएको हो ।
काठमाडौंंको रातो पुलमा रहेको शैली थिएटर आगामी बिहीबारबाट सञ्चालनमा आउने भएको छ । सो थिएटरका अध्यक्ष नवराज बुढाथोकीका अनुसार शैलीले कोरोना कालमा पनि भर्चुअल नाटक तथा शैली संवाद गर्दै आएको छ । आगामी बिहीबार नाटकसम्बन्धी शैली संवाद गर्ने र त्यसपछि नयाँ नाटकको तयारीमा जुट्ने उनको कथन छ । काठमाडौंकै कीर्तिपुरमा रहेको थिएटर मल (कीर्तिपुर रंगमञ्च) अर्को शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । सो नाटक घरमा ९ माघमा नाट्यकर्मीका कविता मञ्चन गरिने भएको छ । मञ्चनको अभ्यास अहिले भइरहेको कीर्तिपुर रंगमञ्चका सञ्चालक केदार श्रेष्ठले जानकारी गराएका छन् ।