ऐसेलुखर्कमा तीनवटा खानेपानी आयोजना सञ्चालन, ३७० घरपरिवार लाभान्वित

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैसाथ सञ्चालनमा आएका तीनवटा खानेपानी आयोजनाबाट स्थानीय ३७० घरपरिवार लाभान्वित भएका छन् । गाउँपालिका कार्यालय, एक्सन फर नेपाल र सम्बन्धित समितिबीचको त्रिपक्षीय लागत साझेदारीमा वडानम्वर(२ बाकाचोलमा लुबेरा–बादेल र झाँक्रीवास खानेपानी आपूर्ति आयोजना तथा वडानम्वर(७ माक्पामा रोलुखोला नोरुङ खानेपानी आपूर्ति आयोजना निर्माण सम्पन्न भएको हो ।

गाउँपालिकाका प्रवक्ता तथा वडानम्बर(३ का वडाध्यक्ष टेकेन्द्र राजभण्डारीका अनुसार उक्त तीन आयोजनामार्फत उपभोक्ताका घर र सार्वजनिक स्थानहरूमा गरी जम्मा ३७२ धारा निर्माण गरिएको छ । वडाध्यक्ष राजभण्डारीका अनुसार तोकिएको समयभन्दा अगावै तीनवटै आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो र आयोजनाको प्रभावकारी सञ्चालनका लागि अनुगमन तथा मर्मत समिति र हेरालु समेत नियुक्त गरिएको छ ।

एक करोड ३६ लाख भन्दा बढी लागतमा सम्पन्न बाकाचोलको लुबेरा–बादेल आयोजनाबाट २०४ धारा निर्माण भएको छ, जसमा उपभोक्ता समितिले करिब १३ लाख ६८ हजार रुपैयाँ बेहोरेको थियो । उक्त खानेपानी आयोजना गत असार–१६ गते सम्पन्न भएको हो । त्यसैगरी ४२ लाख ७२ हजार भन्दा बढी लागतमा बनेको माक्पाको रोलुखोला नोरुङ आयोजनाबाट ४४ घर र सार्वजनिक स्थानमा दुई धारा निर्माण भएको छ, जुन गत जेठ–६ गतेदेखि नै सञ्चालनमा छ ।

साविकमा पानीको सबैभन्दा बढी समस्या भोगेको झाँक्रीवासमा भने १२२ धारा निर्माण गरिएको छ; करिब सात किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत ल्याइएको उक्त आयोजना जेठ–१२ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो । गाउँपालिका प्रमुख गीरेन्द्र बहादुर राईले नेपाल सरकारको “एक घर, एक धारा“ नीतिअनुसार आफूहरू अघि बढेको र निर्वाचित भएयता करिब ५० प्रतिशत उपभोक्तालाई उक्त सेवा पुर्याइसकेको जानकारी दिए । गाउँपालिकामा रहेका तीन हजार ३५५ घरपरिवार मध्ये बाँकी सबैलाई आगामी वर्षभित्रै खानेपानी सुविधा दिने लक्ष्यसहित बजेट विनियोजन गरिएको उनले बताए ।

लामो समयदेखि कुवा र खोलाको पानीमा भर पर्दै आएका दुवै वडाका स्थानीयवासी अब घरघरमै धारा पुगेपछि खुसी बनेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने बाकाचोलमा पहिले कादुरीले सञ्चालन गरेको खानेपानी योजना जीर्ण भइसकेपछि नयाँ आयोजना निर्माण गरिएको हो ।

गाउँपालिकाका दुई वडामा एकैसाथ तीन आयोजना सञ्चालनका लागि २०८२ मङ्सिर–२७ गते गाउँपालिका प्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, एक्सन फर नेपालका कार्यकारी प्रमुख लाक्पाछिरिङ शेर्पा र लेखा संयोजक अजिला लिम्बू तथा सम्बन्धित वडाध्यक्षहरूबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

क्याप्नसनः ऐसेलुखर्क गाउँपालिका र एक्सन फर नेपालद्धारा उपभोक्तालाई स्वच्छ खानेपानी वितरण गर्न निर्माण गरिएको खानेपानी आयोजनाको टंयाङ्की ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

गर्भकै नीतिको आडमा राजश्व कार्यालय सिमराको कार्य सम्पादन