प्राकृतिक तथा ऐतिहासिक सम्पदाका लागि प्रख्यात जिल्ला मानिन्छ, भोजपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेका धेरै ऐतिहासिक धरोहर छन्, यहाँ । खुकुरीका लागि प्रख्यात भोजपुर मुद्रा अर्थात् ‘टक’ काट्ने ऐतिहासिक स्थान पनि हो ।
पहिलो संस्कृत पाठशाला यही जिल्लामा स्थापना भएको थियो । पछिल्लो समय पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थल संरक्षणमा स्थानीयलगायत प्रदेश–१ सरकारसमेत जुटेका छन् । पश्चिममा खोटाङ, उत्तरमा सोलुखुम्बु र संखुवासभा, पूर्वमा धनकुटा र दक्षिणमा उदयपुर जिल्ला छन् । राई जातिको बाहुल्य रहेको जिल्लामा क्षेत्री, ब्राह्मण, मगर, तामाङ, नेवार र शेर्पा समुदाय पनि छन् ।
प्रमुख प्रशासकीय केन्द्र भोजपुर बजार हो भने दिङ्ला, घोडेटार, दावाँ, कुलुङ, टक्सार, च्याङग्रे, चौकीडाँडा, मानेडाँडा, प्याउली, चम्पे, पाल्पाले बजार, बालुवानी बेंसी, पाँचधारे, जरायोटार, चरम्बी बजार, तिवारी भञ्ज्याङ प्रमुख बजार हुन् ।
मध्यकालीन समय नेपालभर चाहिने धातुका सिक्का बनाउने ऐतिहासिक टक्सार बजार यही जिल्लामा अवस्थित छ । यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा सिद्धकाली देवी मन्दिर–भोजपुर, नागछाँगा–बैकुन्ठे, पशुपति मन्दिर–तिम्मा, रामजानकी मन्दिर– दिङला, ट्याम्के डाँडा–नागी, सिलिचुङ डाँडा, नेपालको पहिलो बौद्ध विहार–टक्सार, च्याङग्रे पोखरी–च्याङगे, सन्तानेश्वर महादेवथान गुफा–, साल्पापोखरी–दोभाने, कालिकादेवी–ओख्रे, सेल्मे डाँडा, सुन्तले डाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगागत यही छन् । बेहेश्वर मन्दिर–भुल्के, हतुवागढी, अरुणको कातिकेघाट, हाँसपोखरी, घोडेटार र नेपालेडाँडाबाट सोलुखुम्बु नाम्चेबजार जाने प्रमुख पदमार्ग क्षेत्र हुन् ।
सिचिलुङ चुचुरो भोजपुरको सबैभन्दा अग्लो स्थान हो, जसको उचाई ४१४३ मिटर छ । यहाँका पर्यटकीय क्षेत्र विकास तथा विस्तारमा प्रदेश–१ सरकारसंगै स्थानीय तह लागिपरेका छन् । सरकारद्वारा निर्धारित घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ निर्माण तीव्र गतिमा जारी छ । प्रदेश, स्वीस सरकार र टेम्केमैयुङ गाउ“पालिकाको संयुक्त लगानीमा पदमार्ग निर्माण भइरहेको छ । भोजपुर पाँचधारेबाट सिलिचुङ चुचुरोसम्ममा करिब ५८ किलोमिटर पदमार्ग निर्माण लक्ष्य लिइएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिएका छन् ।
पदमार्गका लागि दुई करोड लागतमध्ये पहिलो चरणमा ९९ लाखबराबरको काम हुनेछ भने दोस्रो चरणमा चियाघर निर्माण, खानेपानी, शौचालय, विश्रामस्थलस“गै पर्यटकका लागि खानाबस्न र अन्य संरचना निर्माण हुने भएको छ ।
विदेशी पयर्टकलक्षित निर्माणाधीन पदमार्गमा सिमेन्ट प्रयोग गरिने छैन । स्थानीयस्तरको स्रोत साधन प्रयोग गर्दै विश्रामस्थल, चौतारा फँलैचा निर्माण बनाइने निर्माण समिति अध्यक्ष पावीहाङ राई बताउँछन् । पदमार्गमा पर्ने डाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृंखला दृश्यालोकन गर्न सकिन्छ ।
पहिलो चरणको पदमार्ग निर्माण कार्य डेढ वर्षमा सम्पन्न हुने जनाइएको छ । पर्यटकीय क्षेत्र विकासका लागि प्रदेश सरकारले ३११० मिटर उचाईमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा किरात राईको संस्कृति झल्कने ‘भ्यू टावर’ निर्माण थालेको छ । यसबाट पर्यटन प्रवद्र्धनसँगै स्थानीय संस्कार–संस्कृति पहिचान जोगाउन सहयोग पुग्ने मुख्यमन्त्री शेरधन राईको विश्वास छ । यो टावर नेपालकै ‘नमुना’ बनाइने उनी बताउँछन् ।
‘टेम्के डाँडा आफैं टावर हो, प्रदेश सरकारले त्यतिकै टावर बनाउन भने लागेको हैन,’ मुख्यमन्त्री राई भन्छन्, ‘यसलाई किरात पहिचानका रूपमा रहेको चिन्डो आकारमा निर्माण गरेर नेपालकै नमुना बनाउने लक्ष्य छ ।’ उनका अनुसार टावर कुन्सालिङ कन्ट्रक्सन भोजपुरले आगामी २०८२ सालसम्म सम्पन्न गर्नेगरी निर्माण जिम्मा लिएको छ ।
यो डाँडाबाट तराई फाँटसंगै सगरमाथा, मकालु, कञ्चनजंगा, लोच्सेलगायत ८ हजार मिटर अग्ला ६, र अन्य ३३ हिमशृंखला अवलोकन गर्न सकिन्छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र विकास लक्ष्यसाथ प्रदेश सरकारले टावर निर्माण गर्ने भएपछि स्थानीय उत्साहित बनेका छन् ।
प्रदेश सरकार सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको १३ करोड ६२ लाख लागतमा टावर बन्ने भएको हो । टावर शिलान्यासस“गै आन्तरिक पर्यटक संख्या बढ्न थालेको स्थानीय बताउँछन् । डाँडाबाट नजिकैको तावा भञ्याङमा पोखरी निर्माण प्रदेश सरकारको योजना छ । यसले यहाँको मात्र नभएर प्रदेशकै पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
यहाँ स्थानमा रामनवमी र बाला चतुर्दशी गरी वर्षमा दुई पटक मेला लाग्छ । प्राकृतिक सौन्दर्यता तथा जैविक विविधतालाई क्षति नपुग्नेगरी टावर निर्माण गरिए आर्थिक रूपमा समेत टेवा पुग्ने स्थानीय विश्वास छ ।
किरात पहिचान जोडिएको नेपालमै विशेष टावर बन्ने मुख्यमन्त्री राई सुनाउँछन् । टावर २० मिटर अग्लो र पहिलो तलामा संग्रहालय रहने छ । भोजपुर पौवादुङमा गाउँपालिका पर्यटकीय क्षेत्र विकासंगै ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, दोस्रो हलेसी भनेर चिनिने सन्तानेश्वर मन्दिर, दुङमाली भाषा संरक्षण केन्द्र, च्याङग्रे पोखरी, अरुण डाँडालगायत ठाउँ संरक्षण तथा विकास थालनी गरेको हो ।
गाउँपालिकाले दुङमाली भाषा संरक्षरण केन्द्र भवन निर्माण र सन्तानेश्वर महादेव मन्दिर पनि संरक्षण काम जारी छ । च्याङग्रे पोखरी र पर्यटकीय क्षेत्र अरुण डाँडाको डिपीआर तयार गरेर प्रदेश–१ सरकारस“गको सहकार्यमा काम भइरहेको हो ।
गाउँपालिका केन्द्रनजिकैको कोटगढी संरक्षणका लागि श्रमदानसहित ५० लाख लागतमा बाटो निर्माण सम्पन्न र आवश्यक पूर्वाधार निर्माण तयारी गरिएको छ । ऐतिहासिक महत्व बोकेको ऐतिहासिक कोटगढी रहेकाले संरक्षण तथा विकासमा ध्यान दिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
‘गाउँपालिकालाई आर्थिक रूपमा विकास गर्नका लागि अन्य क्षेत्रसंगै पर्यटकीय तथा ऐतिहासिक धार्मिक क्षेत्र विकासमा योजनाबद्ध रूपमा लागेका छौं,’ उनी भन्छन्, ‘गाउँपालिकाका मुख्य पर्यटकीय क्षेत्र विकासका लागि डिपीआर तयार गरेर गाउँपालिका तथा प्रदेश सरकारस“ग सहकार्य गरेर काम अगाडि बढाएका छौं ।’
गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका अन्य पर्यटकीय क्षेत्र विकासका लागि पनि योजना अघि बढाएको छ । भावी योजनामा चिवाचुङ डाँडा, छ्याङ्गी मन्दिर, भाते ढिकुरा, आहाल डाँडा, (डिपीआर बनिरहेको) गुफानागी, दिर्गे डाँडा, दिदीबहिनी डाँडा, मालिका डाँडा, मार्गपोखरी र डुडेगैरा, आहाललगायत पर्यटकीय क्षेत्र विकास तथा संरक्षणका लागि काम गरिने गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताउँछिन् ।
‘हामीले भौतिक निर्माणसँगै कृषि र पर्यटन क्षेत्रमा पनि विषेश प्राथमिकता दिएका छौं, अहिले गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय र धार्मिक तथा पर्यटकीय स्थान पहिचान गरेर विकासमा लागिपरेका छौं,’ उनले भनिन्, ‘यसले गाउँपालिकाको आर्थिक विकासमा टेवा पु-याउने लक्ष्य लिएका छौं ।’
गाउँपालिकाले पर्यटन क्षेत्रमा गरिरहेको विभिन्न योजनाले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय विश्वास छ । ‘गाउँपालिकाले पर्यटकीय क्षेत्र विकासमा गरिरहेका काम निकै राम्रो छ,’ स्थानीय ज्ञानेन्द्र राईले भन्छन्, ‘यसरी गाउँपालिकाका पर्यटकीय र धार्मिक क्षेत्र पहिचान गरेर विकास थालनी गर्दा खुसी नलाग्ने कुरै भएन । यसले आर्थिक विकासस“गै ऐतिहासिक क्षेत्र संरक्षण हुनेछ ।’
दक्षिणीतिरको हतुवागढी गाउँपालिका पनि आफ्नो क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्र पहिचानसहित विकास विस्तारमा जुटेको छ । ऐतिहासिक हतुवागढी संरक्षण तयारी भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई सुनाउछन् । प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यटकीयस्थल शंखमचुलीमा भ्यू टावर निर्माण जारी छ भने अन्य पर्यटकीय क्षेत्रसमेतको डिपीआर तयारसहित योजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।
रामप्रसाद राई गाउँपालिकाले पनि प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल नाँग छाँगा, चुलाचुली गुफा, गोल्मेभिरलगायत स्थानलाई आर्थिक स्रोतका रूपमा विकास गर्न डिपीआर तयार गरेको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए । गाउँपालिकाको आफ्नै बजेटमा डिपीआर तयार गरेर संरक्षण तथा विस्तारसमेत थालेको हो ।
पर्यटन क्षेत्र विकासमा हालसम्म. एक करोडभन्दा बढी लगानी गरिसकेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । डिपीआरअनुसार गाउँपालिकाको बजेटले सम्भव नहुने देखिएकाले स्रोत खोजी भइरहेको छ । दुई नगरपालिका र ७ गाउँपालिका गरी ९ स्थानीय तह आफ्ना क्षेत्रका पर्यटकीय क्षेत्र विकास र विस्तारमा जुटेका छन् ।
भोजपुर उत्तरी क्षेत्रमा अवस्थित दिङलामा रहेको षडानन्द नगरपालिकाले पनि पर्यटकीय क्षेत्र विकासमा योजनाबद्ध काम गरिरहेको छ । शिक्षा ज्योति फैलाउने बालागुरु षडानन्दको सम्मानस्वरुप प्रदेश–१ सरकारको ६ करोड लागतमा बहुउद्देश्य धर्मशाला निर्माण भइरहेको छ । नगरपालिकाले तत्काललाई १५ लाख बजेट व्यवस्था गरेर धार्मिक तथा पर्यटकीय क्षेत्र खोजीसहित संरक्षण तथा विकास कार्य थालनी गरिसकेको नगरपालिका उपप्रमुख मेरिका राईले जानकारी दिइन् । उनका अनुसार नगर क्षेत्रमा योगमायाको समाधिस्थल मजुवाबेंसी, कैलास डाँडा, रामनन्द्र मन्दिर, रानीवन चित्रगुप्तालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विस्तार भइरहेको छ ।
वडा–३ खार्ताम्छामा १३९ मिटर उचाईको जिल्लाकै सबैभन्दा अग्लो छाँगे झरना विकास कार्य जारी छ । फाली दोबाटो, चाँप डाँडा, भोटेछाप, साउने झरना, टाइगर झरना विस्तार भइरहेको जनाइएको छ । नगरपालिका पखुवा भञ्याङबाट ७१ लाख लागतमा १२ किलोमिटर मुन्दुम पदमार्ग निर्माण थालनी गरिएको छ ।
टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना, माक्सा झरना, सावा झरना, भोजपुर मझौलेमा रहेको सिरवानी पोखरी, मलवा पोखरी प्राकृतिक सम्पदा संरक्षणमा स्थानीय सरकार जुटेको छ । टेम्केमैयुङ–१ सावामा गाउँपालिका र पर्यटन मन्त्रालयको संयुक्त लगानीमा सामूहिक होमस्टे सञ्चालनमा ल्याइएको छ । छिनामखुमा प्रदेश–१ सरकार तथा गाउँपालिकाको सहयोगमा होमस्टे सञ्चालनमा छ । यहाँ सञ्चालन भएका होमस्टेमा स्थानीय परिकारसँगै संस्कार र संस्कृति प्रबद्र्धन गरिने गाउँपालिकाले जनाएको छ ।