काठमाडौं । चक्रपथ सुधारको दोस्रो चरणको आयोजनाअन्तर्गत कलंकीदेखि चावहिल-धोबीखोलासम्मको सडक विस्तारका लागि साइट खाली गराउन रूख काट्ने काम सकिएको छ । सडक विस्तारका लागि २ हजार बढी रूख कटान भएको छ । कलंकीदेखि नयाँ बसपार्कसम्म बिजुलीको पोल हटाउने कामसमेत सकिएको छ भने बाँकी भागमा तार भूमिगत गर्ने काम भइरहेको छ ।
चक्रपथ सुधार आयोजना प्रमुख अमृतमणि रिमालले वैशाखसम्म साइट खाली गरेर निर्माण अघि बढाउने गरी काम भइरहेको बताए । साइटअन्तर्गतका संरचना खाली भएपछि मात्र चिनियाँ निर्माण कम्पनीले चक्रपथ विस्तारको दोस्रो चरणको काम थाल्नेछ ।
अहिले सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको आयोजनाले जनाएको छ । साइट खाली गर्ने क्रममा स्वयम्भूको चैत्य भत्कने भएको छ । यस्तै, महाराजगन्जस्थित ४० वटा घर भत्काउनुपर्ने भएको छ । आयोजना प्रमुख रिमालले त्यससम्बन्धी सरकारले निर्णय गरिसकेको बताए । त्यस क्षेत्रमा जग्गा अधिग्रहण अघि बढाउन मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई जिम्मेवारी दिएको छ ।
सीतापाइलास्थित नेपाली सेनाको ब्यारेकको पर्खालसमेत सार्नुपर्ने भएको छ । ३१ मिटर आवश्यक पर्नेमा २५ मिटरमा हाल पर्खाल रहेकाले ६ मिटर सार्नुपर्ने भएको हो । त्यसका लागि नेपाली सेनाले अहिले हालको पर्खाल भित्रपट्टि पर्खाल निर्माणको काम गरिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार खानेपानीको पाइप सार्न ठेक्का सम्झौताको काम अघि बढेको छ । सो कामका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २५ करोड विनियोजन भएको छ । कोटेश्वर–कलंकी सडक विस्तार गरेको चीन सरकारले नै चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीबाट महाराजगन्जसम्मको सडक विस्तार गर्न लागेको हो । चीन सरकारले नै यस सडकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको हो ।
कोटेश्वर–कलंकी सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण सुरु गर्नुअघि नै साइट खाली गर्ने काम भएको हो । अब विस्तार गरिने सडकअन्तर्गत बालाजु चोकमा ‘ओभर पास’ र महाराजगन्ज चोकमा ‘अन्डर पास’ निर्माण गरिने योजना छ । आठ लेनको सडकमा चार लेन अन्डरपासमा र ४ लेन माथिल्लो सडकमा हुनेछ ।
महाराजगन्ज चोकमा कलंकी चोकमा जस्तै अन्डर पास निर्माण हुने भएको हो । बालाजुमा निर्माण हुने ‘ओभर पास’ मा भने ‘क्रसिङ’ तल हुनेछ । पैदल यात्रुलाई सडक पार गर्न प्रत्येक एक–एक किलोमिटरमा एउटा अकासे पुल निर्माण गरिनेछ । अहिले नयाँ बसपार्कमा रहेको पुल हटाइनेछ ।