मुम्बई । यतिबेला भारतको राजधानी दिल्लीमा साम्प्रदायिक दंगा फैलिरहेको छ । यो दंगालाई रोक्न र सहिष्णुताका लागि जताततैबाट पहल भइरहेको छ । यसैक्रममा बलिउडका अभिनेता अभिनेत्रीले पनि आफ्नो परिवारको एकताको उदाहरण दिँदै सहिष्णुताका लागि पहल गरिरहेका छन् । हिन्दू र मुस्लिम परिवारबीच विवाह गरेर निकै सुमधुर दाम्पत्य सम्बन्ध बिताइरहेका बलिउड कलाकारहरूले दिल्लीमा हिन्दू र मुस्लिम समूहबीच देखिएको कटुसम्बन्धलाई मित्रतामा परिणत गर्न पहल गरिरहेको छन् ।
बलिउड अभिनेता शाहरुख खानले एकताका लागि पलह गरिरहेका छन् । आफूहरूको घरमा कहिल्यै पनि हिन्दू र मुस्लिमको विभेद नभएको र एकले अर्कालाई पूर्ण सम्मान गरेको शाहरुखको कथन छ । शाहरुखकी पत्नी गौरी खान हिन्दू हुन् । शाहरुखको घरमा भगवान्को पनि पूजा हुन्छ र अल्लाहको पनि पाठ हुन्छ । घरभित्रै भगवान्को मूर्ति पनि छ । आफूहरूले एकले अर्काको धर्मलाई सम्मान गर्दै आएको शाहरुखले बताएका छन् । यसरी, सबैले एक अर्काको धर्म र समुदायलाई सम्मान गर्नुपर्ने र त्यसरी सम्मान गर्दा एकता र मित्रता अझ गाढा हुने अपिल शाहरुख खानको छ ।
अभिनेता सञ्जय दत्तले पनि सबैलाई मिल्न र जातीय तथा सम्प्रदायिक दंगा नगर्न सबैलाई आग्रह गरेका छन् । आफूहरूले पनि अन्तरधार्मिक विवाह गरेको तर विवाहपछि कहिल्यै पनि एक आपसमा विभेद नभएको सञ्जयको कथन छ । सञ्जय दत्त हिन्दू हुन् भने उनकी पत्नी मान्यता दत्त मुस्लिम हुन् । विवाहअघि मान्यताको नाम दिलनवाज सेख थियो । उनी मुस्लिम अभिनेत्रीकी रूपमा बलिउडमा चिनिएकी थिइन् । उनले दिलनवाजबाट फिल्ममा आएपछि मान्यता नाम राखिन् । विवाहपछि उनी सेखबाट दत्त भइन् । यी दुईले सन २००८ मा विवाह गरेका थिए । त्यसो त सञ्जय दत्तकी आमा एवं दिवंगत अभिनेता सुनिल दत्तकी पत्नी नरगिस पनि मुस्लिम हुन् । १९६० को दशककी चर्चित नायिका नरगिस दत्तको वास्तिविक नाम फातिमा रासिद थियो ।
भारतीय समाजमा अहिले पनि प्रेमी प्रेमिकाबीच धर्मका कारण एक र अर्को समुदायमा विवाह रोकिने गरेको छ । तर, बलिउडमा यस्तो समस्य कहिल्यै नआएको अन्तरधर्ममा विवाह गरेका कलाकारहरू बताउँछन् । बलिउड अभिनेत्री कुणाल खेमुले अभिनेत्री सोहा अली खानसँग ६ वर्षअघि विवाह गरे । कुणाल खेमु काश्मीरका एक पण्डित परिवारका हुन् । उनको परिवार कट्टर हिन्दू भए पनि परिवारलाई मनाएर उनले विवाह गरे । उनकी पत्नी एवं नायिका सोहा अली खान अभिनेता सैफ अली खानकी बहिनी तथा शर्मिला टेगोरकी छोरी हुन् । मुस्लिम परिवारकी सोहले हिन्दू परिवारका कुणालसँग प्रेमपछि दुवै धर्म र रीतिरिवाजअनुसार विवाह गरेका थिए । नायिका शर्मिला टोगर पनि हिन्दू परिवारकी हुन् । उनले मुस्लिम राजासँग विवाह गरेकी हुन् । सैफ अली खानले पनि हिन्दू परिवारकी करिना कपुरसँग विवाह गरेकी हुन् ।
बलिउड अभिनेता आदित्य पंचोलीले सन् १९८० की बलिउड नायिका जरिना वहावसँग विवाह गरेका हुन् । मुस्लिम परिवारकी जरिना त्यो समय बलिउडमा निकै चर्चित थिइन् । हिन्दू समुदायका आदित्य र मुस्लिम समुदायकी जरिनाका दुई सन्तान सुरज र सना छन् । यी दुवै बलिउडमा नायक नायिकाका रूपमा छन् ।







