अपार्टमेन्ट नै असुरक्षित, छैन अनुगमन

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका छन् ।

अपार्टमेन्ट तथा ठूला भवनले बढी फाइदा कमाउन तोकिएको मापदण्ड पूरा नगर्ने, मापदण्डविपरीत निर्माण गर्ने तथा कमसल सामग्री प्रयोग गर्दा सुरक्षामा समेत खतरा उत्पन्न भएको हो । अपार्टमेन्ट तथा ठूला भवनको निर्माणका क्रममा मापदण्ड पूरा गरे÷नगरेको विषयमा सम्बन्धित निकायबाट अनुगमन पनि नहुँदा आगलागीलगायतका दृष्टिले त्यस्ता अपार्टमेन्ट तथा भवनमा झनै खतरा देखिएको हो ।

संयुक्त आवासको स्वामित्वसम्बन्धी नियमावली, २०६० मा संयुक्त आवास भवन निर्माण तथा सञ्चालन भए नभएको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्न सकिने व्यवस्था छ भने नियमविपरीत आवास भवन निर्माण तथा सञ्चालन गरेको देखिएमा कार्य गर्न रोक लगाउन सक्ने व्यवस्था छ । तर सहरी क्षेत्रमा नियमविपरीत भवन निर्माण भए पनि सरोकारवाला निकायले चासो दिएको पाइएको छैन ।

काठमाडौं रविभवनस्थित सोल्टी सिटीमा केही दिनअघि मात्र आगलागी भयो । आगो नियन्त्रणका लागि गएको टोलीले अपार्टमेन्टमा प्रवेश गरेर आगो नियन्त्रणको प्रयास गर्दा अपार्टमेन्टमा जडान गरिएका अग्नि नियन्त्रणसम्बन्धी उपकरणले काम नै नगरेको पाइएको छ । अपार्टमेन्टमा आकस्मिक रूपमा निस्कन मिल्ने द्वार र भ¥याङ भित्र र बाहिर दुवै ठाउँमा हुनुपने मापदण्डसमेत पूरा नगरेको पाइएको छ ।

अपार्टमेन्टको तेस्रो तल्लामा विद्युत् सर्ट भएर आगलागी भएको थियो । स्थानीयले भने कमजोर गुणस्तरको विद्युतीय सामग्री प्रयोग र वायरिङमा लापरबाहीका कारण आगलागी भएको आशंका गरेका छन् ।

सोल्टी सिटीको मात्र नभएर उपत्यकाका अधिकांश अपार्टमेन्ट र व्यापारिक प्रयोजनका लागि निर्माण भएका ठूला भवनमा जडान गरिएका अग्नि नियन्त्रणसम्बन्धी उपकरण काम नलाग्ने अवस्था छन् । कुनै कारण आगलागी भएको खण्डमा त्यहाँ ठूलो दुर्घटना निम्तने खतरा देखिएको छ ।

त्यस्ता उपकरणको समय समयमा चेकजाँच गर्ने काम भएको छैन भने सरोकारवाला निकायले पनि कुनै चासो दिएको छैन । भवन निर्माणको नमुना मापदण्ड २०७१ मा ५ तला भन्दा बढी तल्ला भएको वा १५ मिटरभन्दा बढी उचाइ भएको भवनको निर्माण गर्दा मुख्य तथा वैकल्पिक भ-याङको साथै बार्दलीबाटको पहुँच, करिडर तथा लवीबाटको पहुँच हुनुपर्ने, लिफ्ट तथा फायर लिफ्टहरूको अवस्थिति, अग्नि सूचक प्रणाली-नेटवर्कको डिटेललगायतका विषय समावेश गरिनुपर्ने उल्लेख छ । सहरी क्षेत्रमा धमाधम अपार्टमेन्ट तथा ठूला भवनको निर्माण भइरहँदा नियमका पालना भने कमै भएको पाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 385 times, 1 visits today)

epaper

ताजा समाचार

बोस्नियामाथि स्वीट्जरल्यान्डको सानदार जीत