आहा ! इलामको पाटेनागी

भगीरथ भण्डारी

इलाममा कैयौं पर्यटकीय गनतव्य छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्य सूचिमा छन् भने कतिपय ओझेलमा छन् । त्यसो त, पाटेनागी क्षेत्र विकासमा इलाम नगरपालिकाले चासो देखाएसँगै पर्यटकको आकर्षण बन्न थालेको छ । पाटेनागी यात्रामा इलाम र देउमाई नगरपालिकाको पानी ढलोका रूपमा रहेको कुहिभिर रहेको छ । यहाँबाट जिल्लाका अधिकांश ठाउँ देखिनुका साथै जैविक विविधता र प्रकृतिक सौन्दर्य रसपान गर्न सकिन्छ ।

कुहिभिरनजिकैको धनमाने देउरालीबाट उकालो लागेपछि पाटेनागी सुरु हुन्छ । धनमाने देउरालीमा पुग्ने जो कोही ढुंगा राखेर हि“ड्ने गर्छन्, जसले गर्दा ढुंगाको चुचुरै बनिसकेको छ ।



३ हजार ५४ मिटर उचाईमा रहेको पाटेनागी क्षेत्रबाट चाँदीझैं टल्किने हिमशृंखलासँगै सूर्योदय र सूर्यास्तको मज्जा लिन सकिन्छ । यहाँबाट आँखैअघि चाँदीझैं टल्किने सगरमाथा, कञ्चनजंघालगायत हिमाल देख्न सकिन्छ । सूर्योदय र साबिक पूर्वाञ्चलका धेरै भू–भागसमेत नियाल्न सकिन्छ ।

यो क्षेत्रमा ठूलो चौर (नागी) रहेकोले यस स्थानको नाम ‘पाटेनागी’ रहन पुगेको हो । यसक्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत–वैशाखमा राताम्ये हुने गरेको छ । पुवामझुवाको पाटेनागीदेखि गोर्खे मानेभञ्ज्याङसम्म गुराँसको जंगल छ । फरकफरक रंगमा फुलेका गुराँसले जता हे¥यो, उतै राताम्य देखेर यहाँ पुग्ने दंग पर्ने गर्छन् ।

नयाँ प्रजातिको पाहा पाटेनागीनजिकैको गँगटेपानीमा देखिन्छ । यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोलालगायतको उद्गमस्थल हो । यसलाई पर्या पर्यटनका रूपमा विकास गर्नुपर्ने स्थानीय सोम सुनुवारको जोड छ ।

विश्वमै दुर्लभ मानिएका रेडपाण्डा (हाब्रे), थार, ध्वाँसे चितुवा, सालक, चरीबाघ, राजपंखी, कालो भालुलगायत वन्यजन्तु पाइनुका साथै धेरै प्रजातिका पुतली र किरा, पानीगोहोरो, पाहा, विभिन्न प्रजातिका लाँलीगुराँस, चाप, चिमाल, लौठसल्ला, साल सिसौं, सुनाखरी, गलैंचे, चिराइतो, पाँचऔले, विष, विख्मा, पदमचाल, पाखनवेत, जटामसी, ठूलो ओखती, सर्पगन्धा, खनक्पा, वनमुला, चिङफिङलगायत सयौं प्रजातिका जडीबुटी पाइन्छन् ।

पाटेनागी आसपास कुहिभिर, नागढुंगा, धनमाने देउराली रमणीय ठाउँ हुन् । नाग ढुंगा भएको कारण धार्मिक हिसाबले अब्बल मानिन्छ । गाईवस्तु बिग्रियार दूध दिएन भने नाग ढुंगामा पुजा गर्दा गोठ सप्रने धार्मिक विश्वास रहेको वडाध्यक्ष तीर्थ गुरुङ बताउँछन् । नागढुंगामा नाग, शंखलगायत आकृति देख्न सकिन्छ । यो क्षेत्र सन्दकपुरको हाराहारी र सन्दकपुरभन्दा ठूलो क्षेत्र भएका कारण विकास गर्नसके पर्यटकीय गन्तव्यका लागि अब्बल मानिने गुरुङको विश्वास छ ।

मेची राजमार्गमापर्ने इलाम नगरपालिकाको बागखोर बजारबाट ६ किलोमिटर कच्ची सडक यात्रापछि पाटेनागी पुग्न सकिन्छ । इलाम र पाँचथर सीमामा पर्ने लोहाकिल पाटेनागी क्षेत्रमै पर्दछ । सीमाक्षेत्र भए पनि लोहाकिल पाँचथरतिर पर्छ । लोहाकिल चुचुरोबाट इलामको सौन्दर्य अनि झापाका सुन्दर फाँट देखिन्छन् ।

पाटेनागीबाट सुन्दर देखिने देशकै पर्यटकीय क्षेत्रका रूपमा रहेको छिन्टापु इलामको सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छ । वसन्त ऋतुमा डाँडापाखाभर राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापु काखैमा रहेका पोखरीमा कञ्चनजंघा र कुम्र्भकर्ण हिमालको दृश्यले
मन लोभ्याउँछन् ।

यहाँ सांस्कृतिक महŒव रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरीलगायत दर्जनौं पोखरीले अझ मन प्रफुल्लित बनाउँछन् । छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत र वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस र सुनाखरीले आकर्षित गर्छन् ।

छिमेकी जिल्ला पाँचथरसँग सीमा जोडिएको छिन्टापु पर्यटकीय हिसाबले उत्कृष्ट भएसँगै पर्यटकीय पूर्वाधार निर्माणको कामले गति लिँदै गएको छ । इलामका सबैभन्दा धेरै सीमसार र पोखरी रहेको छिन्टापु क्षेत्रमा ३६ प्रजातिका गुराँसका बोट रहेका छन् । चैत र वैशाखमा छिन्टापु पुग्ने पर्यटक गुराँसका फूलहरूमा घण्टौंसम्म रम्न सकिन्छ ।