लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले अबको आठ महिनाभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । आयोजनाले २०७८ साल असोज महिनाभित्रै विद्युत्को परीक्षण उत्पादन थाल्ने गर्ने गरी काम अघि बढाएको जनाएको छ ।
दोर्दी खोलामा निर्माणाधीन सो आयोजनाको उत्पादन क्षमता ५४ मेगावाट रहेको छ । सुरुमा निर्माण थाल्नुअघिका दिनमा ४९.६ मेगावाटमा निर्माण गर्ने अनुमति लिएको आयोजनाको क्षमता अभिवृद्धि गरेर ५४ मेगावाट बनाइएको हो । सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले आगामी असोजसम्ममा विद्युत्को परीक्षण उत्पादन गर्ने भएको हो ।
आयोजनाको समग्रमा ७० प्रतिशत निर्माणको काम सकिएको सो जलविद्युत् आयोजनाको प्रवद्र्धक पिपुल्स हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक केशवबहादर रायमाझीले बताए । उनका अनुसार काम तीव्र गतिमा अघि बढेको छ । आयोजनाको बाँध, सुरुङ, विद्यृत् गृहलगायत सबै संरचनाको निर्माणको काम अन्तिम चरणमा पुगिरहेको छ । उनले भने ‘आयोजनाको बाँध, इन्टेकको काम वैशाखभित्र सकिने गरी कामलाई तीव्रता दिइरहेका छौं । सुरुङको काम ९५ प्रतिशत सकिएको छ । सुरुङको काम जेठसम्म सकाउने लक्ष्य छ ।’
सो आयोजनाको बाँध ढोडेनीको तुम्सीमा निर्माण गरिएको छ । सुरुङमा पनेस्टक पाइपमार्फत पानी ल्याएर ढोडेनीको ताँजे गाउँको तल्लो भेग लोंदो र दोर्दीखोलाको किनारमा भूमिगत विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गर्ने तयारी छ ।
सो जलविद्युत् आयोजनाको निर्माण कार्य २०७६ असारभित्रै विद्युत् उत्पादन गर्ने तालिका आयोजनाले सार्वजनिक गरेको थियो । कोरोनाको सन्त्रासका कारण भएको बन्दाबन्दीले निर्माण अवधि लम्बिन गएको पिपुल्स हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक रायमाझीले जानकारी दिए । उनका अनुसार अबको असोजभित्र विद्युत् उत्पादन गर्ने तालिका बनाएर निर्माण कार्यलाई तीव्रता दिई आएका र्छौं ।
उनले भने आयोजनाको निर्माण कार्यले गति दिइरहेको बेलामा बाढी पहिरो आएर संरचनामा क्षति पु¥यायो । त्यसपछि कोरोना संक्रमणका कारण लकडाउन भएपछि निर्माण सामग्रीका साथै कामदारको समेत अभावमा निर्माणको काम प्रभावित हुन गएको रायमाझीले बताए । उनका अनुसार आयोजनालाई आवश्यक पर्ने मेसिन युरोपबाट ल्याउनुपर्ने भएपनि कोभिडकै कारण आउन सकेन । उनले भने, ‘निर्माणमा प्रयोग हुने केही सामान वीरगन्जको गोदाममा थन्क्याइएको छ ।
आवश्यक परेकोबेला चैतपछि भने आयोजना स्थलमा ल्याइनेछ । केही सामान साइटमा आइपुगेको छ । केही सामान युरोपबाट आउने प्रक्रियामा छ ।’ सो आयोजनामा २०७६ साल साउनमा दोर्दीखोलामा आएको बाढीका कारण आयोजनाको बाँध क्षेत्रमा क्षति पु¥याएको थियो । आयोजनाको काम प्रभावित भएको थियो ।
सो जलविद्युत् आयोजना साँढे ८ अर्ब रुपैयाँमा निर्माण हुने अनुमान गरिएको छ । आयोजनाको निर्माण अवधि लम्बिन जाँदा करिब ५० करोड रुपैयाँ बढ्ने अनुमान गरिएको आयोजनाको प्रवद्र्धक पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक रायमाझीले बताए । उनका अनुसार आयोजना शतप्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको हो । सो जलविद्युत् आयोजना निर्माणका लागि नविल बैंकको नेतृत्वमा नौवटा बैंकले ७० प्रतिशत लगानी गरिरहेका छन् ।
नदीको बहावमा आधारित (रन अफ द रिभर) प्रकृतिको सो आयोजनाको ग्रस हेड ६ सय ४० मिटरको हुनेछ । आयोजनाका अनुसार वार्षिक २८ करोड ६४ लाख युनिट विद्युत् उत्पादन हुनेछ । दोर्दी गाउँपालिका– ६ को ढोडेनी र ७ को फलेनीबीच बग्ने दोर्दीखोलामा निर्माणाधीन सो आयोजना नेपाल विद्युत् प्राधिकरणसँग हिउँदमा ४ रुपैयाँ ८० पैसा र बर्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको जानकारीमा आएको छ ।
उत्पादित विद्युत् दोर्दी कोरिडोरको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन आयोजनाको निर्माण कम्पनी आफैंले निर्माण गरिरहेको छ । ६ किलोमिटर लामो प्रसारण लाइनमा २० वटा टावर रहनेछन् । जग खन्ने काम भइरहेको रायमाझीले जानकारी दिए ।