ज्येष्ठ नागरिकको नमुना घर

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था छ । जसमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने प्रत्याभूति गरिएको छ । यस संवैधानिक हकको कार्यान्वयनमा जेपी प्रतिष्ठान, मैत्री सेवा आश्रमले अतुलनीय योगदान पु-याएको छ । ‘तपाईंको शान्त र सुन्दर जीवनका लागि मैत्री सेवा आश्रम’ भन्ने नाराका साथ सञ्चालित यस आश्रकलाई ज्येष्ठ नागरिकको नमुना घरको रूपमा स्वीकार गर्दा गर्वको अनुभूति हुन्छ ।

समाजसेवी मित्रसेन दाहालको नेतृत्वमा सञ्चालित ज्येष्ठ नागरिकको प्यारो एवं आदर्श घर काठमाडौंको लप्सीफेदीमा रहेको छ । नेपालमा सञ्चालित १ सय १५ वटा ज्येष्ठ नागरिकका वृद्धाश्रममध्ये यो आश्रम उत्कृष्टताको पंक्तिमा रहेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा काठमाडौंमा सञ्चालित वृद्धाश्रमको स्थलगत भ्रमण गर्दा २०५१ सालमा विधिवत् दर्ता भई यस संस्थाले सेवा प्रवाह गर्दै आएको पाइएको हो ।

संस्थापक दाहालका अनुसार यो संस्था गैरराजनीतिक, मुनाफारहित एवं जनहितकारी परोपकारी संस्था हो । यस आश्रमको निर्माणमा स्वयं दाहाललको आफ्नो श्रीसम्पत्ति लगानी भएको छ । साथै, नेपाल सरकार र नेपाली सेनाबाट पनि पूर्वाधार निर्माणमा आधारभूत सहयोग रहेको पाइन्छ । यो आश्रम सेवानिवृत्त स्वतन्त्र र शान्त वातावरणमा जीवनयापनका लागि निर्मित प्रकृतिमैत्री वासस्थान हो । यहाँका आश्रमहरू प्रदूषणरहित छन् । यो आश्रम प्राकृतिक आहारविहार तथा बुढ्यौली स्वास्थ्य उपचार र बौद्धिक दक्षताको प्रवद्र्धनमा सहयोगी रहेको छ । २०७३ सालमा राष्ट्रपतिबाट उद्घाटन भएपछि निरन्तर रूपमा सञ्चालनमा रहेको यस आश्रमले ज्येष्ठ नागरिकको सेवा र सम्मान गरौं भन्ने आप्mनो आदर्श वाक्यलाई व्यवहारमा रूपान्तरित गरेको छ ।

कसैले, पनि मृत्युवरण गरेपछि गुणगान गाउने तर बाचुन्जेल कदर नगर्ने सामाजिक मान्यतालाई तोड्दै यस संस्थाले समाजमा योगदान पु¥याएका व्यक्तिहरूलाई कदर एवं सम्मान गर्दै आएको छ । यस आश्रममा कानुनबमोजम ६० वर्ष नाघेका ज्येष्ठ नागरिकले फस्र्ट कम फस्र्ट सर्बका आधारमा बस्न पाउने व्यवस्था छ । हाल यस संस्थामा राष्ट्रिय जीवनमा ख्याति आर्जन गरेका २ सय ७० जना मानार्थ सदस्य, ४ सय ५५ जना आजीवन सदस्य, २५ जना सल्लाहकार, २५ जना कार्यसमितिका पदाधिकारी तथा सदस्य रहेका छन् । साथै, यस संस्था सञ्चालनका लागि १३ जनाको कार्यसम्पादन समिति, ११ जनाको कार्यकारी समिति, १५ जनाको प्राविधिक सल्लाहकार समिति, २ वटा संस्थागत सदस्यसमेत गरी ८१६ जना यस संस्थासँग प्रत्यक्षरूपमा आबद्ध रहेका छन् । यसरी वृद्धाश्रमरूपी यस आरोग्य आश्रम मुलुककै नमुना वृद्धाश्रमको रूपमा सञ्चालित भएको अवस्था छ ।

मरेपछि गुणगान गाउने तर बाँचुन्जेल कदर नगर्ने सामाजिक मान्यतालाई तोड्दै जेपी प्रतिष्ठानले समाजमा योगदान पु-याएका व्यक्तिलाई कदर एवं सम्मान गर्दै आएको छ

यस प्रतिष्ठानको अवलोकन भ्रमणका लागि यहाँ विद्यार्थीहरू आउने र इन्टर्न गर्ने मात्रै होइन, यस प्रतिष्ठानले भविष्यका कर्णधार विद्यार्थीलाई छात्रवृत्ति दिनेलगायतका विविध रचनात्मक कामसमेत गरिरहेको छ । यसैगरी, प्रतिष्ठानले गरिबी निवारण र रोजगारीमा सघाउ पु¥याउने कार्यसमेत गरिरहेको छ । यस आश्रमको आप्mनै गाईगोठ छ । यसबाट ज्येष्ठ नागरिकहरूले शुद्ध दूध पिउन पाएका छन् । यस आश्रमकै जमिनमा फलेका अर्गानिक तरकारी र खाद्यान्न खान पाएका ज्येष्ठ नागरिकहरू प्रशन्न मुद्रामा भेटिन्छन् । यसरी आश्रमले सबै ज्येष्ठ नागरिकलाई आप्mनै घरको वातावरण दिएको छ । सबै जना परिवाको रूपमा बसेको दृश्य लोभलाग्दो भेटियो ।

जेपी प्रतिष्ठान, मैत्री सेवा आश्रमले ज्येष्ठ नागरिकको पक्षमा सूचना सम्प्रेषण गर्न मासिक पत्रिका सत्मार्ग प्रकाशन गर्ने गरेको छ । हाल सञ्चालनमा रहेको साढेचार तल्ले मुख्य भवन जेरियाट्रिक (ज्येष्ठ नागरिक) भवन भव्य देखिन्छ । चौबीसै घण्टा नर्सिंग सेवा उपलब्ध रहेको यस आश्रममा निकट भविष्यमै ईसीजी सेवा, प्याथलोजी सेवा, एक्सरे सेवालगायतको व्यवस्था हुँदै छ । साथै, मुख्य भवनमा लिप्mटको व्यवस्था हुँदै छ । भजन कोठा, योगा कोठा, शान्त रूपमा पाठ गर्ने वा ध्यान गर्ने आकर्षक कोठाहरूले जो कोही ज्येष्ठ नागरिकलाई आकर्षण गर्दछ ।

यस आश्रममा भोजन गृह, डाइनिङ, ठाउँ ठाउँमा देवीदेवताका मूर्ति, साना साना मन्दिर, आरती कक्ष, प्रवचन कक्ष, सेमिनार हल, पुस्तकालयलगायतका सेवाहरू उपलब्ध छन् । जसको कारण यस आश्रममा बसेका कैयौं ज्येष्ठ नागरिकहरूले महत्वपूर्ण पुस्तक लेखनको काम गरिरहेका छन् । साथै, मुलुकका विद्धान् विदूषीहरू दुई÷दुई दिन यस आश्रमको अतिथि गृहमा बसी रचनात्मक काममा सहभागी हुने गरेका छन् ।

जेपी प्रतिष्ठानले मैत्री सेवा आश्रम परिसरमा अध्ययन अनुसन्धानको प्रयोजनले अस्थायी रूपमा बस्न चाहनेका लागि छृट्टै हिमालय सदन निर्माणको योजना बनाएको छ । यसैगरी, यस आश्रमले ज्येष्ठ नागरिकलाई स्थायी बासस्थानको अतिरिक्त दिवा सेवासमेत सञ्चालन गर्ने अबधारणा अघि बढाएको छ । यस आश्रमको ध्येय यहाँ रहने सबै ज्येष्ठ नागरिक र कर्मचारीलाई प्रांगारिक भोजन उपलब्ध गराउनु पनि रहेको छ । यसका लागि कृषि भूमिमा खाद्यान्न, हरियो तरकारी र फलपूmलसमेतको उत्पादन गर्ने योजनासहितका कार्यक्रमहरू अघि बढेका छन् ।

यस अतिरिक्त, यस आश्रमले २५ शøयाको जेरियाट्रिक अस्पतालको सोच अगाडि बढाएको छ । तथापि, अहिले नै यस आश्रममा अस्पताको बेडको सुबिधा उपलब्ध छ । यसलाई भविष्यमा स्तरोन्नति गरिनेछ । यस आश्रमसँग आप्mनो एम्बुलेन्स सेवा उपलब्ध छ । समयसमयमा स्वास्थ्य शिविरको आयोजना गरी आश्रम आसपासका जनतालाई पनि यी सेवाहरू उपलब्ध गराइएको छ । यस आश्रममा चिकित्सक रहने प्रबन्ध गरिएको छ ।

उद्यान पार्क, पौडीपोखरी, चिडियाघरलगायतको निर्माणमा आश्रम अग्रसर छ, यहाँ बस्न इच्छुक ज्येष्ठ नागरिकले अनुरोध गरी कोठा प्राप्त गर्न सकिने अवस्था छ

‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भन्ने महाकवि देवकोटाको भनाइअनुसार यो आश्रम उपलब्ध जडिबुटीका आधारमा औषधि उत्पादन गर्ने समेतको योजनामा छ । यस आश्रमभित्र छुट्टै किनमेल गर्न मिल्ने मिनीमार्केट सञ्चालनमा आउने कुरा मित्रसेन दाहालले जानकारी दिनुभएको छ । यसका लागि भवन निर्माण भइसकेको छ । यस आश्रम परिसरमा १ सय ८ फिट अग्लो किरातेश्वर महादेवको मन्दिर निर्माण गर्ने योजना रहेको छ । यसै आश्रमको परिसरभित्र सामुदायिक भवन पनि निर्माण गरिनेछ । जसमा सामाजिक कार्यक्रमहरू आयोजना गर्न सकिनेछ । यस अतिरिक्त उद्यान पार्क, पौडी पोखरी चिडियाघरलगायतको निर्माणमा आश्रम अग्रसर भएको छ । यस आश्रममा बस्न इच्छुक ज्येष्ठ नागरिकले अनुरोध गरी कोठा प्राप्त गर्न सकिने अवस्था छ । यसमा सक्नेले केही रकम योगदान गर्ने र कुनै रकमको योगदान गर्न नसक्नेले निःशुल्क बस्न सक्ने अवस्था विद्यमान छ ।

यस आश्रममा बिहान ४ः४५ बजे उठ्ने समय तोकिएको छ । त्यसपछि बिहानको ५ः४५ बजेसम्ममा नित्यकर्म सम्पन्न गर्नु पर्नेछ । तत्उप्रान्त ६ः४५ बजेसम्ममा योग साधना गरिनेछ । त्यसपछि ७ः४५ सम्म नास्ता हुनेछ । यसैगरी ८ः४५ सम्म स्वअध्ययन गरिनेछ । त्यसपछि ९ः४५ सम्म प्रवचन तथा अन्तरक्रिया हुने गर्दछ ।

यस आश्रममा बिहानको ११ बजे भोजन गरिन्छ । तत्पश्चात् १२ बजेसम्म विश्रामको समय हुनेछ । यसैगरी, २ः४५ बजेसम्म स्वसेवामा सहभागी हुनुपर्छ । यस आश्रममा ३ः३० बजे टिफिन प्राप्त हुन्छ । पुनः ५ः३० बजेसम्म स्वसेवामा रहने गरिन्छ । तत्पश्चात् ६ः४५ बजेसम्म प्रवचन तथा सन्ध्याकालीन आरती हुनेछ । ८ः०० बजे आश्रममा रातिको खाना उपलब्ध हुनेछ । तत्पश्चात ९ः०० बजेसम्म सत्संग तथा प्रवचन हुनेछ । रातिको ९ बजेउप्रान्त ओछ्यानमा बिश्राम गरिन्छ । यसरी मैत्री सेवा आश्रम प्रत्येक दिन पूर्णतः क्रियाशील हुने गरेको छ ।

यी र यस्ता अनगिन्ती महत्वपूर्ण सत्कार्यमा अहोरात्र खटिने जेपी प्रतिष्ठान, मैत्री आश्रमका संस्थापक समाजसेवी मित्रसेन दाहालको जति नै प्रशंसा गरे पनि कम हुने देखिन्छ । उहाँलाई राष्ट्रले सम्मान गर्नुपर्छ । अन्त्यमा, यस आश्रमको उन्नतिको कामना गर्दै आश्रममा रहनुभएका अग्रज ज्येष्ठ नागरिकको सुस्वास्थ्य र खुसी जीवनको कामना गर्दछु ।

तपाइको प्रतिक्रिया
(Visited 492 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा उम्मेद्वार टुङ्ग्याउनै सकस