सप्तरी, राजविराज । प्रतिकुल मौसमका बाबजुद पनि सप्तरीको कोशी ब्यारेजमा श्रद्धालुहरुले उल्लेख्य संख्यामा कोशी स्नान गर्दै मेला भरेका छन् ।
पौष शुक्ल पूर्णिमाको तिथिमा लाग्ने एक दिने पुसि पुर्णिमा मेलामा नेपालका साथै भारतका हजारौं श्रद्धालुहरुको उपस्थिति रहेको छ । यस तिथिमा कोशी स्नान गर्दा गंगा स्नान सरह पूण्य मिल्ने र पाप मोचन हुने जनविश्वासका साथ श्रद्धालुहरु स्नानका लागि आउने गर्दछन् ।
विगत १० दिनदेखीको शितलहरका कारण मौसम प्रतिकुल रहेपनि बिहीबार बिहानैदेखी स्नान गर्नेहरुको घुँइचो लागेको स्थानिय रामेश्वर रायले बताए ।

सप्तरी–सुनसरीको सीमामा पर्ने कोशी ब्यारेजस्थित सप्तकोशीमा स्नानका साथै भब्य मेला लाग्ने गरेका कारण कोशी ब्यारेज आसपास क्षेत्रका समेत नरनारीको हजारौंको संख्यामा उपस्थिति रहेको छ ।
घरका आवश्यक सरसामान तथा कृषि कार्यमा आवश्यक पर्ने सामानहरुको विशेष आकर्षण रहने गरेको यस मेलामा सबै वर्गका मानिसको उपस्थिति रहने गरेको छ । यसका साथै कोशी स्नान गरेर दही, च्युरा, जिलेबी तथा अन्य मिठाईहरु लगायतका सात्विक भोजन गर्ने परम्परा रहेको पण्डित रुपकान्त मिश्र बताउँछन् ।
कोशी मेला भर्नकै लागि हनुमाननगर कंकालिनी नगरपालिकाले बिहीबार एक दिनका लागि सार्वजनिक विदा समेत दिएको छ । यसैबीच मेला भर्न जाँदै गरेका एक जनाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । डिएसपी भुवनेश्वर साहका अनुसार बिहीबार बिहान ८ बजेतिर कोशी ब्यारेजतर्फ जादै गरेको तीन जना सवार स.३प. ३०४७ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुरा निवासी ३० वर्षिय शिवकुमार मुखियाको मृत्यु भएको छ ।
उक्त मोटरसाइकलमा सवार सोही वडाका २० वर्षिय रामकुमार मुखिया र रामअवतार खंग गम्भिर घाइते भएका छन् । उनीहरुको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
हनुमाननगर–कोशी ब्यारेज सडकखण्डमा सडक किनारमा राखिएको रोलरमा ठोकिएर सो दुर्घटना भएको प्रहरीको भनाई छ । एकातिर बाक्लो हुस्सु र अर्कोतिर तीन जना सवार रहेका कारण मोटरसाइकल अनियन्त्रित भई रोलरमा ठोकिएर सो दुखद घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






