धनगढी । नेपकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिटै नै नेपकपाका नेता बामदेव गौतम आफूहरुको आन्दोलनमा सहभागी हुने बताएका छन् । शनिबार उनी समर्थक नेकपाले धनगढीमा आयोजना गरेको प्रतिनिधिसभा बिघटनको बिरुद्धमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले शुक्रबार बिहान नेता गौतमसँग टेलिफोन सम्पर्कमा कुरा हुँदा गौतमले छिटै नै प्रधानमन्त्री ओलीको प्रतिगमनकाबिरुद्ध तपाईंहरुसँगै सडक आन्दोलनमा सहभागीता जनाउने बताएको जानकारी दिए । उनले भने, ‘हाल नेता गौतमले थालेको पार्टी एकता अभियान सफल नहुने र तीन महिनाभित्र ओलीको निरङकुसता उन्मूलन हुनेछ ।’ नेकपा फुटेको नभई केही चोइटिएका हुन्, त्यसले पार्टी एकतामा खासै फरक नपर्ने बताउँदै अध्यक्ष प्रचण्डले केपी ओली कम्युनिष्टमा कुसन्तान भएको बताए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन नभएको बताउँदै केपी ओली सरकार मात्र विघटन भएको चर्चा गरे । प्रतिनिधिसभाको विघटन गरिएको ’bout सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन भइकोले आफूहरुले संसद नचलाएको उनको भनाई थियो । उनले अदालतमा यो मुद्दा नभएको भए दुई तिहाइबाट ओलीलाई हटाइ सक्ने भएपनि अब अदालतले संविधानको मर्म बुझ्ने विश्वास पनि व्यक्त गरे ।
त्यस्तै सो बिरोध सभामा बोल्दै अर्का अध्यक्ष माधवकुमार नेपालले छिट्टै प्रतिनिधिसभा पुनस्र्थापना भई केपी ओलीको बहिर्गमन हुने बताए । उनले प्रधानमन्त्री केपी ओली आफ्नै कर्तुतले गर्दा पतन हुने समेत बताए । ‘केपी ओलीको पतन निश्चित छ,’ उनले भने, ‘म्यादी प्रहरीमा भर्ना खुले जस्तै भर्ना खुलेको थियो । केन्द्रिय सदस्य भएर मख्ख परेका थिए । विचराहरुको टाइँ टाइँ ठिस् भयो । हिस्स बुढि खिस्स दाँत भयो । लाजले भुटुक्कै परेका होलान् । मास्कले नपुग्ने भए बुर्का पनि ओढाई दिनु ।’
ओली लोकतन्त्र स्थापनाको आन्दोलनमा नदेखिएको व्यक्ति रहेको बताउँदै अध्यक्ष नेपालले ओलीलाई लोकतन्त्रको मतलब नै नरहेको बताए । ‘देश भाँडमा जाओस्, केपीलाई मतलब छैन,’ उनले भने, ‘केपीले लोकतन्त्रको हत्या गरेका छन् । प्रतिनिधि सभा विघटन गरेर देशलाई प्रतिगमनमा धकेलेका छन् ।’
उनले आधिकारिक पार्टी आफूहरुको रहेको बताउँदै ओलीपक्षमा गएर अन्धकार भविष्य नबनाउन कार्यकर्ताहरुलाई आग्रह गरे । ‘केपीको नक्कली पार्टी हो,’ अध्यक्ष नेपालले भने, ‘केपीको पार्टीमा जानु भएको छ भने तपाइँको भविष्य अन्धार छ । तपाईहरु फर्किहाल्नुस् । उज्यालो भविष्य हामीसंगै छ ।’
आफूहरुतिर नफर्किनेहरु केपीसंगै सति जाने बताउँदै उनले भने, ‘त्यसपछि हामीले केही गर्न सक्दैनौं । विचरा सति गएछ भन्छौं ।’ अध्यक्ष नेपालले राम्रोसंग पाटी र सरकार चलाउन नसकेको बताए । उनले केपी अब नसुध्रिने पनि बताए ।
लेखराज भट्ट दलालका पनि दलाल : प्रचण्ड
कुनैबेला आफ्ना कट्टर समर्थक रहेका नेकपाका नेता एबम् उद्योग वाणिज्य तथा आपूतीमन्त्री लेखराज भट्टलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पटकपटक मन्त्री बनाएको र सुदूरपश्चिम प्रदेशको नायक भनेको मान्छे पछिल्लो समय दलालको दलाल भएको आरोप लगाए ।
उनले भट्टको नामै नलिएर सुदूरपश्चिमका साथीहरुको दलालको भण्डाफोर गर्न थालेकोले खुसी लागेको बताए । उनले भने, प्रधानमन्त्री ओली दलाल भएको र उनै समर्थन गर्ने भट्ट दलालका पनि दलाल हुन् ।






