नेपालमा प्रत्येक दुई घर विराएर अर्थात हरेक १० जनामा एक जना क्यान्सर रोगी हुन सक्ने अनुमान छ । अस्पतालको तथ्यांक हेर्दा भने प्रत्येक १ लाख जनसंख्यामध्ये १ सय २० जनामा क्यान्सर हुन सक्ने देखिन्छ । हरेक वर्È ३६ हजार नया“ क्यान्सरका बिरामी थपिन्छन् । ७० हजारभन्दा बढी क्यान्सरका रोगी हर समयमा नेपालमा भएको अनुमान छ । तर, क्यान्सर अस्पतालसम्म ४ हजार ५ सयसम्म मात्र पुग्छन् । अधिकांशलाई क्यान्सर लागेको थाहै हुँदैन । विकसित मुलुकमा प्रोस्टेट र कोलोरेक्टल क्यान्सर प्रमुख छ भने विकासोन्मुखमा पाठेघरको मुख र कलेजोको कयान्सर देखिएको छ ।

हरेक वर्ष जनवरी महिनालाई विश्वभर पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना फैलाउने महिनाको रूपमा विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । जनचेतनाको अभावमा दिनहुँ रोग बढ्दै जाँदा नेपालमा वार्षिक १० हजार बराबरीमा यस किसिमका क्यान्सरका बिरामी थपिने गरेका छन् । पाठेघरको मुखको क्यान्सरका महिला झन्डै ८५ प्रतिशत विकासोन्मुख र १५ प्रतिशत विकसित देशमा छन् । यस क्यान्सरका महिलामा विकसित देशले करिब ६ प्रतिशत ओगट्ने गरेको छ भने विकासोन्मुख देशमा झनै ठूलो छ । नेपालका महिलामा स्तन क्यान्सरपछि दोस्रो नम्बरमा यो क्यान्सर छ । विश्वमा बर्सेनि ३ लाख बढी महिलाको यसैका कारण अकालमा मृत्यु हुन्छ, जसमा ८५ प्रतिशत हिस्सा नेपालजस्तै कम विकसित देशले लिने गर्छन् ।
अशिक्षित समाज, चेतनाको अभाव, सुरुमै जचाउन नजाने प्रवृत्ति, रोग लुकाएर बस्ने, लोकलाजका कारण अरूलाई आफ्नो समस्या नभन्ने प्रवृत्तिले गर्दा गाउँका महिलामा समस्या अझै डरलाग्दो अवस्थामा रहेको छ । उपचारको निर्णय अधिकांश पुरुष सदस्यमा निर्भर रहनाले निको नहुने अवस्थामा मात्र स्वास्थ्य संस्था आइपुग्छन् ।
विकसित मुलुकमा प्रोस्टेट र कोलोरेक्टल क्यान्सर प्रमुख छ भने विकासोन्मुखमा पाठेघरको मुख र कलेजोको क्यान्सर बढी देखिएको छ
पाठेघरको मुखको क्यान्सर : पाठेघर अर्थात् गर्भाशयको मुखमा असामान्य परिवर्तन हुन गई त्यहा“का कोष–कोषिकामा अनावश्यक तथा अनियन्त्रित रूपले वृद्धि भएर गिर्खा वा घाउ बन्दछ । शरीरको अन्य भागमा समेत फैलिन सक्ने गर्भाशयको मुखमा बनेको यस्ता गिर्खा वा घाउलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । जुनसुकै उमेरमा लाग्न सक्ने यो रोग, कम उमेरमा लागेमा बढी खतरा हुन्छ ।
प्रमुख कारण : विशेषगरी यौन सम्पर्क तथा भाइरसको संक्रमण यसको प्रमुख कारण मानिएको छ । क्यान्सर हुने बढी खतरा भएकामा कलिलै अर्थात् १८ वर्षभन्दा कम उमेरमा विवाह भएका, कलिलै उमेरमा यौन सम्पर्क राख्ने, कम उमेरमा बच्चा जन्माउने, दुवै वा दुईभन्दा बढी पुरुषसँग यौन सम्पर्क भएका, वेश्यावृत्तिमा लागेका तथा बहुविवाह भएका, छिटोछिटो समयमा र बढी सन्तान जन्माएका, खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका, ४० वर्È उमेर काटेका, रोगसँग लड्ने क्षमता कम भएका महिला पर्दछन् । त्यसैगरी पहिलेको प्यापस्मेयर खराब भएका, कहिल्यै प्यापस्मेयर नगराएका, कम आय भएका, अशिक्षित तथा आफ्नो शारीरिक र गुप्ताङको सरसफाइमा ध्यान नदिने, यौन रोग तथा गुप्ताङका दीर्घरोगको उपचार नगर्ने, एचपीभी अर्थात् हरपिस भाइरसको र अन्य यौन संक्रमण भएका, एचपीभी संक्रमित भई धेरैपटक गर्भवती भए, पाँच वर्Èभन्दा लामो समयसम्म गर्भनिरोधक चक्की प्रयोग गरिरहे र धुम्रपानी भए सम्भावना बढेर आउँछ ।
लक्षण : सुरुको अवस्थामा यस रोगको कुनै पनि लक्षण हुँदैन, चिकित्सकले परीक्षणको क्रममा मात्र फेला पार्दछन् । यसैले यस रोगको रोकथाममा नियमित परीक्षणको महत्व छ । यो रोग बढ्दै गएपछि लक्षण देखा पर्दछन् । गुप्ताङबाट गन्हाउने तथा रगत मिसिएको अस्वाभाविक तरल पदार्थ बग्छ । यौन संसर्गपछि वा लगत्तै रगत देखिन्छ । महिनावारीको बीचबीचमा महिनावारी नभएको तथा महिनावारी सुकिसकेको अवस्थामा पनि योनीबाट रगत देखिन सक्छ । महिनाबारी हु“दा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्छ । रक्तस्राबका कारण रक्तअल्पता हुन्छ । रोग ज्यादै फैलिएको अवस्थामा पानी बग्ने, कम्मर दुख्ने, तल्लो पेट दुख्ने, खुट्टा सुन्निने, दिसापिसाबमा रगत देखापर्ने र दिशा पिसाबमा अप्ठ्यारो लक्षण हुन सक्छ ।
यो क्यान्सर पाठेघरमा सुरु भएर शरीरको अन्य भागमा फैलिन सक्दछ । पाठेघरको मुखको क्यान्सर नजिकको भागमा फैलने क्रममा पाठेघरको माथिल्लो भागमा, मुत्र थैलीमा, दिसा गर्ने नलीमा जान सक्छ । त्यस्तै, लसिका नली तथा रक्त नलीहरूबाट फैलिने क्रममा फोक्सो, हड्डी, कलेजो इत्यादिमा फैलिन सक्दछ । क्यान्सर अन्य अंगमा फैलिएको भएमा अन्य विभिन्न थप लक्षणहरू देखापर्दछन् ।
पत्ता लगाउने तरिका : रोग फैलिसकेको वा रोगको निदान ढिलो हुने गरेको हालको अवस्थालाई परिवर्तन गर्न यौन जीवनमा आबद्ध महिलाले माथि उल्लिखित लक्षणहरू देखानपरे पनि स्त्री रोग विशेषज्ञबाट नियमित रूपले आफ्नो पाठेघर तथा प्रजनन अंगको परीक्षण गराउनुपर्दछ र प्यापस्मेर गराउनु जरुरी ठहर्दछ । सुरुको अवस्थाको क्यान्सर पत्ता लाग्न सक्दछ र उपचार गरी क्यान्सर निर्मूल गर्न सकिन्छ । आवश्यकता परेमा गर्भाशयको स्राब परीक्षण प्यापस्मेर तथा रोग निदानका लागि प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली बायोप्सी जाँच्न पठाइन्छ र क्यान्सर लागेको टुंगो लाग्छ । कोन बायोप्सी तथा कल्पोस्कपिक बायोप्सी इत्यादि उपाय पनि अपनाइन्छ ।
यौन जीवनमा आबद्ध महिलाले यौन रोगका लक्षण देखा नपरे पनि स्त्री रोग विशेषज्ञबाट नियमित रूपले आफ्नो पाठेघर तथा प्रजनन अंगको परीक्षणसहित प्याप स्मेर गराउनु जरुरी हुन्छ
उपचार : सुरुकै अवस्थामा यो रोग पत्ता लगाई समुचित उपचार गरेमा पाठेघरको मुखको क्यान्सर पूर्णतया निको पार्न सकिन्छ । रोगको प्रथम चरणमा उपचार गर्दा ९८ प्रतिशतसम्म निको हुन्छ भने दोस्रो चरणमा रोग प्रवेश गरिसकेको अवस्थामा ४५ प्रतिशत तेस्रो अवस्थामा २५ प्रतिशत र चौथो चरणमा प्रवेश गरेको अवस्थामा निको हुने सम्भावना ५ प्रतिशतभन्दा पनि कम हुन्छ । विभिन्न पद्धतिहरू बिरामीको स्थिति र रोगको प्रकृतिको आधारमा चिकित्सकले एक वा एक आपसमा संयुक्त रूपमा प्रयोग गर्नुपर्ने हुन सक्छ ।
पौष्टिक आहार, बिरामीको स्याहारसुसार तथा पारिवारिक स्नेहको पनि यस रोगको उपचारमा महŒव रहेको छ । कम उमेरका बिरामीलाई हर्मोन, प्रतिस्थापना गर्नुपर्ने हुन सक्छ । रेडियोथेरापी पाएका बिरामीले उपचारको केही महिनाभित्रमै यौनसम्पर्क गर्नुपर्छ । अन्यथा योनी सा“घुरिने वा खुम्चने डर हुन्छ । यो सरुवा रोग नभएकाले सम्भोगबाट लोग्नेलाई सर्दैन ।
रोकथाम : पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सम्भव भएकाले व्यक्तिगत र सामाजिक तहबाट रोकथामका उपायहरू अवलम्बन गर्नु आवश्यक छ । सानो उमेरमा विवाह गर्नुहुँदैन । महिलाले नियमित स्त्रीरोग परीक्षण र नियमित प्यापस्मेयर गराउनुपर्दछ । धेरै जनासँग यौन सम्पर्क नगर्ने, गुप्ताङसम्बन्धी रोगहरूको समयमै उपचार नगराउने, गुप्ताङ सधंै सफा नराख्ने र चुरोट, बिँडी, खैनी, तमाखुजस्ता सुर्तीजन्य पदार्थहरूको सेवन गर्नुहुदैन । विद्यालयका पाठ्यपुस्तक विभिन्न सञ्चार माध्यमबाट सचेतना फैलाउनुपर्छ । प्रमुख कारक भाइरसविरुद्ध लगाइने खोपलाई राष्ट्रिय खोप कार्यक्रममा राखिनुपर्छ । पाँच महिनाको फरकमा दुईपटक मात्र लगाइने यो खोप केही महँगो भए पनि यौनजीवनमा प्रवेश गर्नुभन्दा पहिले नै खोप दिएमा बढी प्रभावकारी भई पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिन्छ ।
अन्तमा, नेपालका ९० प्रतिशत क्यान्सरका बिरामीलाई चेतनाको कमीले आफू रोगी भएको थाहा हुँदैन र उपचारका लागि अस्पतालमा आइपुग्दैनन् । थाहा पाउने १० प्रतिशत अर्थात् अस्पताल आइपुगेकामा ८० प्रतिशत ढिलो अवस्थामा आइपुग्छन् । सुरुकै अवस्थामा नै क्यान्सरको निदान हुन सक्यो र उपचार सुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भइसकेकोमा भन्दा सफल रहन्छ र क्यान्सर निको भई धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ । तसर्थ, सचेतनामा सबै लाग्न जरुरी छ ।