बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको शवको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएपछि अब उनको हत्याराको खोज तथा अनुसन्धानमा कुनै पनि कसर बाँकी नरहोस् भनेर राष्ट्रिय रूपमा नै चर्को आवाज उठिरहेको छ । कानुनी राज र सभ्य मुलुकका लागि यसप्रकारको बर्बर र जंगली घटना ठूलो चुनौतीको रूपमा देखापरेको छ ।
पोस्टमार्टममा संलग्न चिकित्सकले बलात्कारपछि हत्या गर्दाका बखत उनले प्रतिकार गर्दा उनको टाउको र हातमा चोट लागेको, घाँटीमा पनि निलडाम देखिएको, यौनांगमा पनि घाउ रहेको रिपोर्ट अनुसन्धानमा संलग्न प्रहरीलाई बुझाएका छन् । अब किशोरी भागरथीको हत्या मात्र नभएर बलात्कारपछि हत्या भएको कुरामा द्विविधा रहेन । अर्कोतिर अनुसन्धानरत प्रहरी टोली पनि अन्य आवश्यक प्रमाणहरूको खोजीमा लागिपरिरहेको छ । भागरथीले प्रयोग गर्ने मोबाइल, उनका सहपाठी साथीहरूको बयान, छिमेकीहरूको भनाइ तथा शिक्षकहरूको धारणासहित स्थानीय खोचेबजारका मानिसको रिपोर्टलाई लिएर हत्याराको गम्भीर खोजीमा लागि परिरहेको छ । उनले प्रयोगमा ल्याएको फेसबुक पनि अध्ययनको अर्को पाटो बनिरहेको छ । मोबाइलमार्फत गरिएको कलको टेक्निकल अनुसन्धानका लागि काठमाडौंसम्म समन्वय कायम गरिएको पनि बताइएको छ । अनुसन्धानलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको एक अनुसन्धान टोली त्यहाँ पुगेर काम गरिरहेको छ । हाल स्थानीय युवाहरूलाई सोधपुछ गर्दै अनुसन्धान जारी राखिएको छ ।
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ अध्ययनरत भागरथी बुधबार विद्यालयबाट घर नफर्केपछि खोजी गर्दा बिहीबार बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा उनको शव घर फर्कने बाटोको जंगलमा पाइएको थियो । शरीर निर्वस्त्र, क्षतविक्षत र रक्ताम्य अवस्थामा भेटिएपछि उनको हत्याको अनुसन्धान थालिएको थियो । हालसम्म भेटिएका प्रमाणका आधारमा प्रहरी प्रशासन अनुसन्धनमा जुटे पनि अनुसन्धानको सातौं दिनसम्म खोजीअनुसारको केही कुरा हात नलाग्दा स्थानीय जनताको दबाब बढ्दै गइरहेको छ । एकातिर भागरथीको परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव बुझ्न अस्वीकार गरिरहेका छन् भने अर्कोतिर उनको शव फेला परेसँगै जिल्लाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् । जिल्ला प्रशासनअगाडि प्रदर्शन हुने गरिरहेको छ । जिल्लाको खोचेलेक बजार, पाटन बजार, मेलौली, पुर्चौडीलगायतका ठाउँमा प्रदर्शन जारी छन् । स्थानीय नागरिक, महिला अधिकारकर्मी, विभिन्न पेसाकर्मी तथा पत्रकारहरूले निरन्तर आवाज उठाइरहेका छन् । यसले स्थानीय क्षेत्र मात्र होइन, देशभरका मानिसमा मनोवैज्ञानिक आतंक सिर्जना गरिरहेको छ । अनुसन्धानमा ढिलाइ हुँदै गए विरोध प्रदर्शनले देशव्यापी स्वरूप लिन सक्ने पनि देखिएको छ ।
एकातिर नागरिकमाथिको असुरक्षाको वातावरण र अर्कोतिर सरकारी खोज तथा अनुसन्धानमा भइरहेको ढिलाइ आफैंमा आक्रोश विस्फोट गराउने कारक बन्न सक्छन् । सरकार र सरकारी पक्षले गरिरहेका त छौं नि भनेर सुख पाइहाल्ने अवस्था छैन । मानिसले खोजी गरिरहेका छन्, सरकारको उपस्थिति कहाँ छ ? सरकारको विरुद्धमा नागरिक छैनन् तर सरकारको उपस्थिति किन हुन सकेन भनेर प्रश्न गरिरहेका छन् । नागरिक सरकारसँग हातेमालो गर्न चाहन्छन् तर सरकार नागरिकदेखि, उनका जायज कुरा देखि किन तर्सन्छ ? हालसम्म पत्ता नलागेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणले हरेक नागरिकलाई तर्साउने गरिरहेको छ । विगत आफैंमा भूत हो । यो विगतको भूतले वर्तमानमा बाँचिरहेका जिउँदा मानिसहरूलाई निकै सताउँछ र तर्साउँछ । विगतका निरुत्तर प्रश्नहरूले आज भागरथीको पनि त्यही हालत हुने त होइन भन्ने आशंका गर्ने सुविधा प्रदान गरेको छ । यो नागरिकका कारणले होइन, सरकारको अनुसन्धानमा भएको लापर्बाहीका कारणले हो । भनिन्छ, न्यायमा ढिलाइ अन्याय हो । त्यसैले, भागरथीको बलात्कारपछिको हत्या प्रकरणलाई शीघ्र निष्कर्षमा पु¥याउन अनुसन्धान घनीभूत पारियोस् ।






