सप्तरी, राजविराज । नेपाल टेलिकमको उपकरण लुटपाटमा संलग्न मुख्य अभियुक्त भनिएका सिरहाको लाहन नगरपालिका १३ निवासी राकेश यादव कारागार चलान भएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका २ स्थित शिवनारायण चौधरीको घरमा नेपाल टेलिकमद्वारा जडान गरिएको टावर उपकरण लुटपाट गरेको आरोपमा लुटिएका केही उपकरणसहित पक्राउ परेका यादवलाई बुधबार सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
यादवकै निर्देशनमा लुटपाटका सरसामान बिक्रि गर्ने काममा खटिएका लहान नगरपालिका ३ का पवन जैसवाल ३ लाख र खरीद गर्ने सोही नगरपालिका ४ निवासी दिपक अग्रवाल २ लाख धरौटी बुझाई तारेखमा रिहा भएका छन् ।
यस्तै लुटपाटका उपकरण ओसारपोसारमा प्रयोग गरिएको ना.४ख. ७२४६ नम्बरको ट्रकका धनी लहान नगरपालिका ३ का सूर्यनारायण महतोको संलग्नता नदेखिएकोले थुना मुक्त भएको प्रहरीले जनाएको छ ।
यादव नेतृत्वको एक समूहले गत पुस २३ गते चौधरीको घरमा जडान गरिएको नेपाल टेलिकमको टावरमा प्रयोग हुने ६५० एएच ब्याट्रि २४ थान, पावर केबल ३५ एमएमको २० मिटर, अर्थिङ केवल २५ मिटर लगायतका उपकरण लुटेर लगेका थिए ।
घटनास्थल आसपासको सिसिक्यामराबाट पत्ता लागेको लुटेराहरुलाई प्रहरीले माघ १० गते पक्राउ गरि डाका मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाएको थियो ।






