चलचित्रको छायांकनमा जोडिदा आर्यन खुसी

काठमाडौं । अभिनेता आर्यन सिग्देल यतिबेला पोखरामा छन् । उनी नयाँ चलचित्र डिसेम्बर फल्सको छायांकनका लागि पोखरा आएका हुन् । कोभिडका कारण करिब १० महिना घर बसेर अहिले चलचित्रको छायांकनमा जोडिदा केही फरक महसुस भएको यी अभिनेताको कथन छ ।

आर्यनको भनाइमा यो चलचित्रको माघ पहिलो साताबाट पोखराका विभिन्न स्थानमा छायांकन भइरहेको छ । अहिले पनि कोरोनाको संक्रमण कायम रहेकाले आफूहरू निकै सावधानीपूर्वक चलचित्रको छायांकनमा रहेको आर्यनको भनाइ छ । छायांकनको टिमलाई अन्य टिमसँग घुलमिल हुन नदिएकाले यो चलचित्रको कलाकार र प्राविधिकहरू केही ढुक्क छन् । आफूहरूले पनि सामाजिक दूरी कायम र अन्य सावधानी अपनाएर काम गरिरहेको यी अभिनेताको कथन छ ।

अभिनेता आर्यन सिग्देल यो चलचित्र अभिनेत्री उपासनासिंह ठकुरीसँग जोडी भएर आउँदै छन् । आर्यनसँग उपासनाले पहिलोपटक काम गरेकी हुन् । निर्माण पक्षले यतिबेला आर्यन र उपासनाको फस्ट लुक्को रूपमा विभिन्न तस्बिरहरू सार्वजनिक गरेका छन् । ती तस्बिरबाट पनि आफूहरूको जोडी चलचित्रमा सशक्त देखिने भनाइ आर्यनको छ ।

फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ । बीपीका खनालको कथा रहेको फिल्मको पटकथा र संवाद केदार भुसालले लेखेका हुन् ।

भारतीय टेलि तथा फिल्म क्षेत्रमा कार्यरत निर्देशक प्रवीण झाको निर्देशनमा निर्माण भइरहेको फिल्मलाई दक्षिण भारतीय फिल्मका व्यस्त छायाकार महेश आर गुप्ताले खिचिरहेका छन् ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल र निर्मातामा राजकुमार भट्ट छन् । फिल्मको केही दिनमा पोखरा सेडयुल समापन हुने र त्यसपछि झन्डै दुई साता काठमाडौंमा खिचिने बताइएको छ । यो चलचित्रको २०७८ को साउन १ गते रिलिज गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 332 times, 1 visits today)

epaper

ताजा समाचार

आइभरी कोस्टका लागि ९० औं मिनेटमा निर्णायक गोल, इक्वेडर स्तब्ध