बलात्कार घटनाको अनुसन्धान फितलो किन ?

बलात्कारका कतिपय घटनामा कसुरदार पक्राउ पर्दैनन् । पक्राउ परेकै कतिपय कसुरदारले दण्ड सजाय पाउँदैनन् । बलात्कारीविरुद्ध कठोर कानुनी व्यवस्था नभएको पनि होइन । अनुसन्धान गर्ने नेपाल प्रहरी पनि दक्ष र स्रोत साधन युक्त छ । स्थानीय निकायसम्म अनुसन्धानमा दक्ष प्रहरी कर्मचारीको व्यवस्था गरिएको छ । बलात्कारको सूचना पाउँदा समयमै प्रहरी घटनास्थल पुग्छ । अनुसन्धान तत्कालै प्रारम्भ गरिन्छ तर अनुन्धानले घटनाको जड पहिचान गर्न सक्दैन । परिणाम समयमै कसुरदार पक्राउ पर्दैन, पक्राउ परे पनि प्रमाणले नबाँधिएको कारण कसुरदारले उन्मुक्ति पाउने गर्दछ । यस्तो किन भइरहेको छ ? यस’boutको सटिक जवाफै खोज्ने हो भने हामीले हाम्रो समाज, राजनीतिक वातावरण, कानुनी व्यवस्था, अपराधप्रतिको नागरिक दृष्टिकोण, प्रहरी अनुसन्धानको प्रक्रिया तथा राज्यकै कानुन कार्यान्वयन गर्ने निकायबीचको अन्तरसम्बन्ध समेतलाई केलाउनुपर्ने हुन्छ ।

बैतडीकी किशोरी भागरथी भट्टको माघ २१ गते बलात्कारपछि भएको हत्या, विगतको निर्मला पन्तकै जस्तो सर्वत्र चासो र चर्चाको विषय बनिरहेको छ । यस घटनाको अनुसन्धानमा राज्यले तत्परता देखाएको पनि देखिन्छ । नजिककै आफन्त र नातेदार, साथीसंगति र शंकास्पद व्यक्ति प्रहरीको अनुसन्धानमा आए पनि हालसम्म प्रहरी अनुसन्धान कसुरदारसम्म पुग्न सकेको छैन । यसका कारण घटनास्थलबाट प्रारम्भ गरिनुपर्ने अनुसन्धान गाउँ समाजबाट प्रारम्भ गरिनु हो । कतिपय घटनाको कसुरदार तत्कालै पक्राउ पर्न सक्छ । तर, कतिपय घटनामा कसुरदार पक्राउ पर्न समय लाग्न सक्छ । छिटोछरितो अनुसन्धानका लागि दक्ष अनुसन्धानकर्ताले घटनास्थलबाटै अनुसन्धान प्रारम्भ गर्नुपर्दछ । किनकि, घटनास्थल कसुरदार चिनाउने खुला किताब हो, जसको सूक्ष्म अध्ययनबाटै अनुसन्धान अधिकृत घटनास्थल हुँदै कसुरदार लुकिछिपी बसेको स्थानसम्म पुग्छ ।

कानुनी प्रावधानलाई नै हेर्ने हो भने छिमेकी मुलुक भारतको जस्तो मृत्युदण्ड र पाकिस्तानको जस्तो बलात्कारीलाई रसायनिक प्रयोग (फिजिकल क्यास्ट्रेसन)द्वारा नपुसंसक बनाउनेजस्तो कठोर कानुनी व्यवस्था हाम्रोमा नभए पनि उच्च दण्ड सजायको व्यवस्था कानुनमा गरिएको छ । तर कानुनले निर्धारण गरेको दण्ड सजायको भागीदार बन्ने कसुरदारको संख्या भने न्यून छ । कानुनको कार्यान्वयन पक्ष फित्तलो हुँदा यो अवस्था आएको हो । पछिल्लो हाम्रो संशोधित कानुनी व्यवस्था कठोर भए पनि त्यसको कार्यान्वयन पक्षमा पाइएको प्रभावहीनताले बलात्कारमा कमी आएको छैन ।

छारी, दिदी, बहिनी घर आँगनमै सुरक्षित छैनन् । आफ्नै बाबु, दाजु, भाइ, छरछिमेकी साथीबाटै हाम्रो छोरीचेलीको अस्मिता लुटिरहेको छ । नियन्त्रण हुनुपर्ने यो क्रम अझ बढ्दो छ । बलात्कारका घटना मिलाउन गाउँमा हामी पञ्चायती गर्छौं । शान्ति सुरक्षाको दायित्व लिने नेपाल प्रहरीको प्रभावकारिता पनि देखिएको छैन । बलात्कारजन्य अपराध अनुसन्धानमा राज्यको अनुसन्धान पद्धति नै प्रायः गरी व्यवहारमा असफल बनेजस्तो देखिएको छ ।

नेपाल प्रहरीलाई कानुनले फौजदारी मुद्दाको अनुसन्धान गर्ने जिम्मेवारी प्रदान गरेको छ । कानुनले कुन दर्जाको प्रहरीले कुन मुद्दा अनुसन्धान गर्ने ? भन्ने कुरा तोकिदिए पनि अनुसन्धानकर्ताको न्यूनतम शैक्षिक योग्यता, आधारभूत तालिम र अनुसन्धान क्षमताका ’boutमा उल्लेख गरेको छैन । व्यक्ति दक्ष होस् नहोस् त्यसले महत्व पाउँदैन तर कानुनले निर्दिष्ट गरेको दर्जा पुगेको व्यक्तिलाई स्वतः अनुसन्धानकर्ताको रूपमा खटाउने चलन यथावत् छ । अनुसन्धान तालिम नगरेको दर्जा पुगेको व्यक्ति पनि बलात्कारको अनुसन्धानमा खटिएका दृष्टान्त पनि छन् । अनुसन्धानले जड पहिल्याउन नसक्नुको कारण यो पनि हो ।

आधारभूत अनुसन्धान तालिम प्राप्त गरी कार्य क्षेत्रमा केही समयको अनुभव लिइसकेका व्यक्तिबाटै सिरियस क्राइम विज्ञको अलगै कोर्स गराई जिल्लास्तरसम्म कार्यरत गराउन सके बलात्कारीले उन्मुक्ति पाउँदैन

अनुसन्धान सफल र असफल बन्ने कुरा अनुसन्धान अधिकृतमा निर्भर रहन्छ । पछिल्लो समयमा कतिपय प्रहरी अनुसन्धान कसुरदारलाई दण्डित गराउने उद्देश्यमा भन्दा मुद्दा किनारा लगाउने उद्देश्यमा आधारित देखिएको छ । यस्तो मानसिकतामा हुने अनुसन्धान कसुरदारकै पक्षमा हुने भएकाले यो प्रकृतिको अनुसन्धान पीडितकै निम्ति प्रत्युत्पादक हुन्छ । सिद्धान्ततः अनुसन्धानका प्रक्रिया एउटै भए पनि अनुसन्धान अधिकृतको मानसिकता र सामाजिक वातावरणको प्रभावको आधारमा अनुसन्धानलाई विविध कोणबाट विश्लेषण गरी हेर्दा अहिलेको प्रहरी अनुसन्धान निम्न तीन प्रकारको देखिएको छ ।

पहिलो हो दक्ष अनुसन्धान अधिकृतमा आधारित स्वच्छ र पारदर्शी तथ्यपरक अनुसन्धान । यो वर्गको अनुसन्धान कोही कसैबाट प्रभावित हुन सक्दैन । घटनाको यथार्थतासँग सम्बन्धित सबुद प्रमाणमा आधारित हुने भएकोले कसुरदारले दण्ड सजायको भागीदार हुनैपर्दछ । नेपाल प्रहरीबाट हुने यो वर्गको अहिलेको औसत अनुसन्धानको प्रशित करिब सत्तरीभन्दा माथि नै छ । यसैगरी दोस्रो वर्गमा पर्ने अनुसन्धान अर्धदक्ष र अदक्ष अनुसन्धान अधिकृतबाट हुने अनुसन्धान हो । यो वर्गका अनुसन्धान अधिकृतले इमानदारिताका साथ स्वच्छ र पारदर्शी ढंगले नै अनुसन्धान गरे पनि अनभिज्ञताका कारण प्राविधिक रूपमै अनुसन्धान त्रुटिपूर्ण हुन्छ । त्रुटिको कारण अनुसन्धान अन्योलपूर्ण बन्ने भएकाले अनुमानकै भरमा कसुदार पहिल्याउनुपर्ने अवस्था आइलाग्दा अनुसन्धान तथ्यपरक बन्दैन । कसुरदारले दण्ड साजय पाउने अवस्था न्यून हुन्छ । औसत १० प्रतिशतको प्रहरी अनुसन्धान अहिले यो अवस्थाको छ ।

तेस्रो वर्गमा पर्ने अनुसन्धान बदनियतपूर्ण अनुसन्धान हो । यो अनुसन्धानले कसुरदारलाई नै उन्मुक्ति दिलाउँछ । अनुसन्धान अधिकृतकै बदनियतमा हुने यो अनुसन्धानको औपचारिकता त पूरा हुन्छ तर त्यहाँ ‘लुपहोल’ धेरै हुन्छन् जसले अनुसन्धानलाई वास्तविक कसुरदारसम्म पुग्नै दिँदैन । बलात्कारका अधिकांश आलोचित घटनाको अनुसन्धान यो वर्गमा पर्दछ । यस्तो अनुसन्धानमा अनुसन्धानकर्ताकै बदनियत पनि हुन सक्छ भने सामाजिक वातावरणीय प्रभावमा अभिप्रेरित बदनियत पनि यसमा हुन सक्छ । यस्तो अनुसन्धान अनुसन्धान अधिकृतको लाभ वा स्वार्थमा, उच्च पदस्थ अधिकारीकै दबाबमा वा ठाडो निर्देशनमा तथा राजनीतिक प्रभावमा आधारित हुन्छ ।

बाह्य प्रभाव वा दबाबमै गरेको भए पनि बदनियतपूर्ण अनुसन्धानको जिम्मेवारी भने अनुसन्धान अधिकृतले नै लिनुपर्दछ । टिकाटिप्पणी वा सर्वत्र आलोचना हुँदा अनुसन्धानका ’boutमा छानबिन गर्नुपर्ने अवस्था आउँदा अनुसन्धान अधिकृतले नै कारबाहीको भागीदार बन्नुपर्दछ । प्रभावमा पार्ने व्यक्ति वा पदाधिकारी भने अदृश्य बन्न पुग्छ । आलोचनात्मक बन्दै आएका अधिकांश बलात्कारका घटनाको अनुसन्धान बदनियतपूर्ण अनुसन्धानकै वर्गमा पर्दछन् । करिब २० प्रतिशत अनुसन्धान पछिल्लो समयमा बदनियतपूर्ण हुँदै आएको छ ।

व्यक्ति आफैंमा नियन्त्रित हुन नसक्दा बलात्कारका घटना हुन्छन् । यसैले बलात्कार सधैँ पेसेवर व्यक्तिबाट मात्रै हुँदैन । बलात्कार प्रायगरी खुला स्थान जस्तो बाटोकै असपासको क्षेत्र, नदी, खोला खोल्साको किनार, जंगल र एकान्तस्थल तथा घर कोठामा हुने भएकोले यो अपराधमा पीडितको शरीर एवं घटनास्थलमा अभियुक्त पहिचानका पर्याप्त प्रमाण हुन्छन् । घटनास्थलमा प्राप्त सबुदले नै कसुरदारले घटना कसरी गरायो भन्ने कुरा बताइरहेको हुन्छ ।

दक्ष अनुसन्धानकर्ताले सबुतको मौन भाषा सहजै बुझ्छ । तर अर्धदक्ष र अदक्ष अधिकृत प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलमा गए अनुसन्धान प्रारम्भिक चरणमै अन्योलपूर्ण हुन्छ । सबुतले देखाएको बाटो अनुसन्धान अधिकृतले पहिल्याउन सक्दैन । मुद्दाको उत्थान नै यस्तो भएपछि जतिसुकै दक्ष छानबिन टोली नै घटनास्थल पुगे पनि सफलता प्राप्त हुन सक्दैन कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याको घटना यसेको दृष्टान्त हो ।

बैतडीकी किशोरी भागरथी भट्टकै बलात्कारपछिको हत्याका ’boutमा प्रेसमा आएको विवरणलाई स्मरण गर्दा बलात्कार बाटो छेउकै जंगलमा भएको, बलात्कारपछि उनको हत्या गरी लास अर्को स्थानमा पु¥याइएको, लास घिसारिएको अवस्थामा भएको, घाँटी दबाइएको, टाउकोमा चोट लागेको, कम्मरमुनिको लुगा नभएको, हातको छाला तछारिएको, मुख र गुप्ताङबाट रगत बगेको, बनमारा झाडीको बुट्यान माडिएको तथा बलात्कारपछि हत्या गरिएको भन्ने पोष्टमार्टम रिपोर्ट देखिन्छ । लवलेक जंगलको कच्ची सडकभन्दा करिब ५० मिटर तल लास प्राप्त भएको अवस्थाले सामूहिक बलात्कारको आशंका देखाउँछ ।

भागरथी अन्दाजी दिनको २ बजे विद्यालयबाट निस्किएर घरलाग्ने क्रममा गाउँकै दुई जना विद्यार्थीका साथ खोचलेक बजारसम्म पुगेको । साथै गएका दुई विद्यार्थी कपाल काट्न सो बजारमा बसेपछि उनी एक्लै घरतर्फ लागेको । त्यसको भोलिपल्ट अपरान्ह ५ बजे उनको शव फेला परेको बताइएको छ । भागरथीलाई जीवितै देख्ने अन्तिम व्यक्ति दुई विद्यार्थीबाहेक अरू पनि हुन सक्छन् । को कसले कुन ठाउँमा के कस्तो अवस्थामा कुन समयमा भेटेको वा देखेको थियो भन्ने कुरा अनुसन्धनबाट खुलाउनुपर्दछ ।

घटनास्थलबाट प्रारम्भ गरिनुपर्ने अनुसन्धान गाउँ समाजबाट प्रारम्भ गरिनुको कारण कहीँ पनि नपुगिएको हो

तथापि खोचलेक बजारबाट घटनास्थलको दूरी, त्यहाँ पुग्न लाग्ने समय, सो समयमा उक्त सडकमा आवागमन गर्ने व्यक्तिबाट बुझिएको क्रमबद्ध विवरण अनुसन्धकानको क्रममा पहिचान गरिनुपर्दछ । शव फेला परेको स्थानमा पनि प्रहरीभन्दा अगावै सर्वसाधारणको उपस्थिति देखिएकोले कतिपय सबुत प्रमाण नष्ट भएको हुन सक्छन् । तथापि प्रहरी टोली घटनास्थल पुगेपछित खुला घटनास्थलको बृहत्तर जंगल क्षेत्र नै तत्कालै सिल गरी बाटो आसपासको भौगोलिक अवस्था र सम्भाव्यताको आधारमा वास्तविक घटनास्थल पहिचान गर्ने र घटना स्थलबाट लास फेला परेको स्थानसम्म लास पु¥याउन प्रयोग भएको लिङ्क मार्ग पहिचान गरी सबै स्थानमा सबुत प्रमाणको खोजी त अनुसन्धानकर्ताले गरेकै हुनुपर्दछ । यो त घटनास्थल पुग्ने अनुसन्धान अधिकृतले गर्नुपर्ने सामान्य अनुसन्धान प्रक्रिया नै हो ।

बलात्कारपछिको हत्या सबैभन्दा संवेदनशील अपराध हो । संवेदनशील अपराधको घटनास्थलमा सर्वप्रथम दक्ष अनुसन्धान अधिकृतसहितको प्रहरी टोली पुग्नुपर्दछ । तर, व्यवहारमा कतिपय घटनामा अनुसन्धान शाखामा कार्यरत व्यक्तिलाई नै घटनास्थलमा पठाउने चलन छ । उनीहरू सिरियस क्राइम अनुसन्धान विज्ञ हुन हैनन् भन्ने कुरो हेरिँदैन । अनुसन्धानविज्ञ नभए पनि यथाशीघ्र घटनास्थलमा प्रहरीको उपस्थिति देखाउने उद्देश्यलाई मात्र महत्व दिँदा कतिपय बलात्कारका घटना प्रारम्भमै अन्योलपूर्ण बन्छन् ।

पद ठूलो हुँदैमा सबैसँग अनुसन्धान क्षमता नहुन सक्छ । प्रारम्भिक अनुसन्धानलाई त्रुटिरहित बनाउन जिल्लास्तरमा सिरियस र सामान्य अलगअलगै क्राइम ब्रान्च अनिवार्य रूपमै स्थापना गरिनुपर्दछ । यो गरिए अनुसन्धानविज्ञबाटै मुद्दाको उत्थान हुने भएकोले प्राविधिक त्रुटि हुँदैन ।

जग मजबुत नभए घर बनियो हुँदैन भनेझैं अनुसन्धान सफल बन्न प्रारम्भिक अनुसन्धान त्रुटिरहित हुनैपर्दछ । प्रारम्भिक अनुसन्धान गर्दा अनुसन्धान अधिकृत जतिकै घटनास्थल प्रकृति र लाश प्रकृति मुचुल्का गरिदिने स्थानीय व्यक्ति पनि सचेत बन्नुपर्दछ । मुचुल्का गर्नुअघि लास र घटनास्थलको अवस्था कस्तो थियो ? सूक्ष्म रूपले नियाल्नुपर्दछ । तर यही महत्वपूर्ण कुराप्रति हामी ध्यान दिँदैनौँ पछि अपराधीलाई फाँसी दे भनी उफ्रन्छौं । वास्तवमा बलात्कारीलाई दण्ड सजाय दिलाउन स्थानीय व्यक्तिको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्दछ ।

यसको अतिरिक्त अनुसन्धानविज्ञ उत्पादन गर्न नेपाल प्रहरीले अपनाउँदै आएको प्रक्रिया समयानकुल प्रभावकारी हुन सकेको छैन । यसमा सुधार ल्याउनुपर्दछ । आधारभूत अनुसन्धान तालिम प्राप्त गरी कार्य क्षेत्रमा केही समयको अनुभव लिइसकेका व्यक्तिबाटै सिरियस क्राइम विज्ञको अलगै कोर्स गराई जिल्लास्तरसम्म कार्यरत गराउन सके बलात्कारीले उन्मुक्ति पाउँदैन । यसतर्फ सम्बन्धित सबैले ध्यान पु¥याउने हो भने बलात्कारको अनुसन्धान फित्तलो हुन पाउँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 528 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा केन्द्रीय समिति बैठक सोमबार