कोरोना निको हुने तथा खोप लगाउनुलाई रामवाण र सञ्जिवनी बुटी नठानेर स्वास्थ्य सुरक्षाका पूर्ववत विधि, स्वास्थ्यमैत्री खानपिन र जीवनशैली पनि ध्यान दिनुपर्छ
कोभिड–१९ का कारण थकान, कमजोरी र सासमा समस्या भएका बिरामी आज पनि टेकु अस्पतालमा आइरहेका छन् । केहीमा कोभिड उपचारपछि स्वास्थ्यमा निरन्तर लक्षण देखिने गरेको छ, संक्रमित पहिलेजस्तै गुणस्तरीय जीवनमा फर्कन सकेका छैनन् । कारोना रिर्पाेट नेगेटिभ आएको निमोनिया भएको भए ४ साता र नभएको भए ३ सातासम्ममा सामान्य बन्न सक्ने भन्दै गरिएको भए पनि महिनांैसम्म अस्पतालमा धाउने लाख नजिक छन् । कोरोना खोपले पो ठीक गर्छ कि भन्दै खोप लगाउन प्रतिस्पर्धा र सोर्सफोर्स लगाउने पनि अनगिन्ती छन् ।
खोजमा कोभिडको लक्षण सामान्य भए २ साता र कडा भए ५ सातामा पूर्णरूपमा स्वास्थ्यलाभ भएको देखाउँछ । तर, अचम्म के छ भने १८ देखि ३० वर्षको उमेरमा श्वासप्रश्वासदेखि मानसिक समस्यासम्म देखिँदा सबै चिन्तित छन् । कोभिडमुक्त भइसकेकामा श्वासप्रश्वाससम्बन्धी समस्या, जोर्नीको दुःखाइ, मांशपेसीको दुःखाइ, रिगंटा लाग्ने, भ्रम, आँखाको दृष्टिमा परिवर्तन, तनाव र डिप्रेसनजस्ता समस्या देखिने गरेका छन् ।
संक्रमित वृद्धि हुँदै जा“दा दीर्घ कोभिड बेहोर्नेको संख्या पनि बढ्दै छ । निरन्तरको लक्षणले श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभ्यास्कुलर प्रणाली, आन्द्रा, कलेजो, मिर्गौला र छालासम्म प्रभाव पारिरहेको छ । जसमा सामान्य लक्षण भई पिसिआर नगरेकाले पनि लामो समय अस्पतालमा बिताएका छन् । कतिपय मानिसमा जसलाई कोभिड भएको पत्तो नै छैन । तिनमा दीर्घ प्रभाव हप्तौसम्म परेको छ । तथापि सरकार जानकार नभएको जस्तो गरिरहेछ ।
पोस्ट वा दीर्घ कोभिड : कोरोनाको रिपोर्ट नेगेटिभ आएर पनि महिनौंसम्म संक्रमणकै बेलामा जस्तो लक्षण र असरबाट पीडित भइरहेको अवस्थालाई खोजकर्ता दीर्घ कोभिड भन्दछन् । लन्डनस्थित किङ्स कलेजको खोजमा निको भएका संक्रमितमा कोरोना संक्रमण भएको पहिलो सातामा ५ ओटाभन्दा बढी लक्षण देखिएमा, ४ देखि ८ सातासम्म पनि पूर्णरूपमा निको नभए र पिसिआर रिपोर्ट नेगेटिभ आइसक्दा पनि लक्षण र समस्या रहिरहे दीर्घ कोभिडको खतरा हुन्छ ।
संक्रमणमुक्त भए पनि संक्रमणको समयमा प्रतिरोधी क्षमता कमजोर, शरीर सुन्निने, मस्तिष्क वा मेरुदण्डमा असर हुने भएकोमा पछिसम्म असर देखिनसक्छ । पोस्ट ट्रम्याटिक असरका रूपमा रहनसक्छ । दीर्घरोगी मधुमेह, मोटोपना आदि समस्या भएकामा संक्रमण निको भइसकेपश्चात् पनि समस्या देखिन सक्छ । कति असर पारेको हो त्यसअनुसार सिन्ड्रोम देखिन सक्छ । लामो समयसम्म थकान महसुस, मांशपेसी र शरीर दुख्ने, ध्यान केन्द्रित गर्न गाह्रोजस्ता लक्षण भने लामो समयसम्म रहेका छन् । कोभिड संक्रमणबाट निको भएकामा पल्मोनरी फाइब्रोसिससँगै फोक्सोसम्बन्धी अन्य समस्या देखिएका छन् ।
बेलायतको युनिभर्सिटी कलेज अफ लन्डनको अध्ययनमा कोभिड–१९ को संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्णरूपमा नाश र कम्तीमा २० प्रतिशतमा मानसिक समस्या हुने बताएको छ । कोरोना नौलो भाइरस भएकाले के–कस्तो र कतिसम्म असर पार्छ भन्ने पर्याप्त ज्ञान छैन । भाइरसमुक्त हुनु भनेको शारीरिक तथा मानसिक रूपमा पूर्ण स्वस्थ हुनु हो भन्ने पनि होइन ।
सुरक्षा कवच खोप : खोप अभियानको सुभारम्भ गर्दै माघ १४ गते प्रधानमन्त्रीले वैशाखभित्र सबै नेपालीले कोरोना खोप पाउने र खोपलाई व्यापार र नाफाको विषय नबनाउने बताएका थिए । प्रधानमन्त्री ओलीले ३ दिनभित्रै बोली फेरेर खोप अग्रपंक्तिकाले ३ महिनामा र जनताले १ वर्षभित्र पाउने सार्वजनिक दाबी चितवनमा गरे । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री, सबै प्रदेशका अग्रपक्तिभन्दा अस्पताल तथा निर्देशनालय प्रमुखले खोप लिई सुरुवात भएको छ । त्यस्तै खोप लगाउने जोखिम तथा अग्रपक्तिका भन्दा अस्पतालका बोर्ड र आफन्त, संक्रमित भइसकेकाले र प्राथमिकतामा नभएकाले लगाएका धेरै गुनासा छन् ।
कोभिसिल्ड अक्सफोर्ड एस्ट्राजेनेका : अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेका कम्पनीसँग मिलेर निर्माण गरेको एजेडडी १२२२ नामक खोप ७० देखि ९० प्रतिशत प्रभावकारी एडिनो भाइरसमा आधारित खोप हो । भाइरसको स्पाइक प्रोटिन र जिनलाई अर्काे भाइरसमा थपेर एडिनो भाइरस निर्माण गरिन्छ । एडिनो भाइरस सामान्य भाइरस हो जसले फ्लुजस्ता लक्षण देखाउँछ । एस्ट्राजेनेकाले चिम्पान्जीमा रहेको एडिनो भाइरसको आधारमा कोभिड खोप बनाएको हो । स्पाइक प्रोटिनमा आधारित भए पनि भाइरसको आरएनएमा नभई डिएनएमा आधारित खोप हो ।
मांशपेशीमार्फत ०.५ एमएल, २ डोज पहिलो लगाएको ४ देखि १२ सातामा दोस्रो मात्रा दिनपर्ने र यो खोप भण्डारण र परिवहन गर्दा २ देखि ८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ । यस तापक्रममा खोप नखोलिकन ६ महिनासम्म राख्न सकिन्छ । मल्टिडोज भएको खोपको सिसी खोलेपछि लगाउने क्रममा २ देखि २५ डिग्री सेन्टिग्रेडमा राख्न सकिन्छ, तर सिसी खोलेको ६ घण्टाभित्र लगाइसक्नुपर्छ ।
कोरोना खोपले १५ दिनपछि मात्र कोरोनाविरुद्ध प्रतिरोधी क्षमता विकास हुन सुरु हुन्छ र २ महिनापछिसम्म काम गरेको खोजले देखाए पनि कति लामो समय भन्नेमा एकिन छैन । कोभिसिल्डको दोस्रो मात्रा प्राप्त गरेको ४ सातापछि सुरक्षात्मक प्रतिरक्षा क्षमता उत्पन्न हुनसक्ने बताइएको छ ।
कडा असर छैन : खोपपछि शरीरमा प्रतिरक्षा प्रणाली सक्रिय भई एन्टिबडी उत्पादन सुरु हुँदा ज्वरो, पखाला, खोप लगाएको ठाउँमा दुख्ने कारण थकान, कमजोरी महसुस भएको हुनसक्छ । कडा प्रतिकूल घटना २ प्रतिशत कममा देखिनसक्ने प्रक्षेपण छ । भारतमा ०.१८ प्रतिशतमा कडा प्रतिकूल प्रभाव देखिएको छ । खोप लगाएका १० मा १ जनामा सामान्य प्रतिकूल असर देखिन्छ । खोप लगाएको स्थानमा पीडा ६० प्रतिशत, टाउको दुख्ने र थकान ५० प्रतिशत, मांशपेसी दुखाइ ४० प्रतिशत, हल्का ज्वरो ३० प्रतिशत र हाडजोर्नी दुख्ने, बान्ता हुने २० प्रतिशतमा देखिएको छ । अधिकांश हल्कादेखि मध्यम खालका प्रतिक्रिया केही दिनमै सञ्चो भएका छन् ।
कोरोना खोप महामारी रोक्न आपतकालीन प्रयोग भएकाले खोप लगाउँदा मृत्यु भएमा न सरकारले न उत्पादन कम्पनी कसैले पनि क्षतिपूर्ति नदिने र मद्दा नलाग्ने छ, तथापि उपचार भने नेपाल सरकारले निःशुल्क गर्ने बताएको छ ।
खोप स्वेच्छाले लगाउने हो । कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप लगाएका १ लाख ८६ हजार बढीमा सामान्यबाहेक जटिल समस्या नदेखिएको एइएफआइले जनाएको छ । ८ जना अस्पताल भर्ना भए पनि उपचारपश्चात् सबै डिस्चार्ज भइसकेका छन् । खोप लगाएकालाई कम्तीमा १५ मिनेट निगरानीमा राख्न र स साना कुराले एलर्जी हुने इतिहास भएका व्यक्तिलाई भने ३० मिनेटसम्म निगरानी गर्नुपर्छ । तसर्थ साइड इफेक्ट व्यवस्थापन गर्न खोपकेन्द्र अस्पतालमै राखिएको छ ।
एलर्जी, ज्वरो, रगतसम्बन्धी रोग, पहिला कोरोनासम्बन्धी कुनै खोप लिएका, १८ वर्षमुनिको उमेर, गर्भाधारणको योजना बनाएका, ६ महिनाभित्र स्तनपान गराइरहेका, रगत पातलो बनाउन औषधि लिइरहेका र रोग प्रतिरोध क्षमता बढाउने औषधी लिइरहेका तथा गर्भवतीले कोभिसिल्ड खोप लगाउन हुँदैन । तथापि जोखिमको तुलना गरेर दिन सकिन्छ । पहिलो मात्रा लगाएपछि समस्या देखिए दोस्रो मात्रा लगाउन हुँदैन ।
अन्तमा, कोरोना निको हुने तथा खोप लगाउनुलाई रामवाण र सञ्जिवनी बुटी नठानेर स्वास्थ्य सुरक्षाका पूर्ववत विधि, स्वास्थ्यमैत्री खानपिन र जीवनशैलीमा निरन्तरता दिएर मात्र सुरक्षित हुन सकिन्छ ।