घुम्दै फिर्दै टिमुरे

वरीपरी पहाड । बीचमा पानीपोखरी । मनोरम एवं आकर्षक दृश्य । गुल्मी चन्द्रकोट गाउँपालिका टिमुरे ताल पुग्ने जो कोहीको मन लोभिइहाल्छ ।

तालको जुनसुकै कुनाबाट हेरे पनि माथिको पहाड पानीमुनि नै देखिन्छ । यो दृश्य झन् लोभलाग्दो छ । तालमा दुई मिटरभन्दा बढी गहिराईमा पानीको मात्रा छ । वर्षायाम समय चार मिटरभन्दा बढी गहिराईमा पानीको मात्रा हुन्छ ।

तालमा पुगेका पर्यटक फोटा तथा सेल्फी खिच्ने, टिकटक तथा भिडियो बनाउन हतारिहाल्छन् । ताल घेरेको डाँडाबाट भने अन्य ठाउँ देखिन्छन् । धवलागिरी, माछापुच्छ्लरगायत हिमशृंखला, रेसुंगाजस्ता पर्यटकीयस्थल टिमुरे तालनजिकैबाट अवलोकन गर्न सकिन्छ ।

टिमुरे तालवरिपरीको जंगलमा दर्जनभन्दा बढी प्रकारका बोटबिरुवा तथा जडिबुटी पाइन्छन् । लालीगुराँस, कालिकाफललगायत पाइने स्थानीय शिक्षक लिलबहादुर पुन बताउँछन् ।

अहिलेसम्म टिमुरे तालको पनि पर्याप्त प्रचार–प्रसार हुन सकेको छैन । प्रत्येक शनिबार विभिन्न ठाउँबाट टिमुरे ताल पुग्न भीडै लाग्छ । ‘दैनिक सात/आठवटा गाडीमा शनिबारको दिन पर्यटक पुग्ने गर्दछन्,’ शिक्षक पुन भन्छन्, ‘टिमुरे तालवरिपरि करिब तीन सय मिटर पैदलमार्ग निर्माण गरिएको छ ।’

तालनजिकै करीब चार किलोमिटर तल रेमीगाउँमा होमस्टे सञ्चालन गरिएको छ । टिमुरे तालकै नामबाट ‘टिमुरे सामुदायिक होमस्टे’ नामाकरण गरिएको हो । सो होमस्टे गत वर्ष ८ मंसिरमा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरेका हुन् ।

नौ घरमा सञ्चालन गरिएको होमस्टेमा एकपटकमा बढीमा ३० जनासम्म राख्न सकिन्छ । होमस्टे अफिसमा बढीमा १० तथा व्यक्तिको घरमा बढीमा चारदेखि पाचँजनासम्म राख्न मिल्ने होमस्टे सञ्चालक तथा चन्द्रकोट गाउँपालिका, कार्यपालिका सदस्य लक्ष्मी रानाले जानकारी दिइन् ।

होमस्टेमा लोकल कुखुराको मासु, कोदोको रोटी, मकै, भटमास, आटो, ढिंडोलगायत स्थानीय परिकार खान पाइन्छ । सालैजो, यानिमायालगायत मौलिक नाचगान प्रदर्शन गरिने राना बताउँछिन् ।

शान्तिपुर बजारबाट रेमी गाउँ टिमुरे होमस्टे हुँदै ताल पुग्न सकिन्छ । टिमुरे होमस्टे र ताल जोड्दै पर्याप्त प्रचार गर्न सकेको खण्डमा प्रशस्त पर्यटक आउने सम्भावना देखिन्छ । जसअन्तर्गत होमस्टेका लागि गत वर्ष चन्द्रकोट गाउँपालिकाबाट पा“च लाख बिनियोजन गरिएको थियो ।

अहिले लुम्बिनी प्रदेश सरकारबाट पाँच लाख बिनियोजन भएको छ । यो रकमले अफिस मर्मत, नाचगानका लागि आवश्यक बेषभूषा किन्नेलगायत पुग्ने पुनले बताइन् । होमस्टेमा अहिलेसम्म जिल्लाका विभिन्न स्थानका साथै बाग्लुङसम्मबाट समेत पाहुना आउन थालेका छन् ।

होमस्टे सञ्चालन गरेपछि कोरोना महामारीका कारण केही महिना पाहुना संख्या शून्य भयो । यसपछि भने ६ जति समूह होमस्टेमा छन् । ‘छोरीबुहारी बिग्रन्छन् भन्ने गलत सोच पनि छ,’ पुन भन्छिन्, ‘काम गर्ने युवाशक्ति विदेशमा हुँदा समस्या परेको छ ।’

६ युवाद्वारा रिसोर्ट सञ्चालन

 

टिमुरे तालनजिकै ६ युवाले मिलेरै होटल सञ्चालन गरेका छन् । सो होटलमा खाना, खाजा तथा नास्ता पाइन्छन् । उनीहरूले करीब एक करोड लगानीमा तालनजिकै रिसोर्ट सञ्चालन योजना बनाएका छन् । यसअन्तर्गत काठको गुलेली, पिङ निर्माणले पर्यटकको चहलपहल बढाउने होटल सञ्चालक सन्तबहादुर श्रीषको विश्वास छ । उनीहरूले तालमा दुईवटा डुंगासमेत सञ्चालन गरेका छन् ।

पर्यटक डुंगा चढ्न र फोटा खिच्नमै बढी व्यस्त हुन्छन् । ‘अब नयाँ भिजनसाथ टिमुरेलाई आकर्षक गन्तव्य बनाउने योजना छ,’ श्रीष भन्छन्, ‘पछिल्लो समय तालमा पानी सुक्दै गएको छ, यसैमा चिन्ता बढेको छ ।’ वर्षायाममा चार मिटर गहिराईमा पानी हुन्छ । तर, अहिले मात्रा सुक्दै गएको छ ।

वैदेशिक रोजगारबाट फर्केका चन्द्रकोटकै अशोक केसी टिमुरे तालनजिकैको होटल तथा बन्न लागेको रिसोर्टमा लगानी गरी स्वरोजगार बनेका छन् ।

कसरी पुग्ने टिमुरे ?

तम्घासबाट चन्द्रकोट गाउँपालिका हुँदै टिमुरे पुग्न सकिन्छ । बुटवलबाट पाल्पा–रिडी–चोरकाटे–शान्तिपुर हुँदै पनि पुगिन्छ । समुद्री सतहबाट २२ सय मिटर उचाईमा रहेको तालमा शान्तिपुरबाट पैदल तीन घण्टा र गाडीमा ४५ मिनेटमा पुगिन्छ । चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण खत्रीले टिमुरे विकासका लागि १५ लाख बिनियोजन गरेको जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले संयुक्त चुनावी सभा गर्न नसक्नुकाे कारण यस्ताे छ