सिन्धुपाल्चोक । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दोस्रोपटक पानी पथान्तरण सँगै अबको दुई महिनाभित्र मेलम्चीको पानी राजधानी काठमाडांै आउने भएको छ ।
राजधानीवासीको प्यास मेट्ने बहुचर्चित र राष्ट्रिय गौरवको आयोजनामा समेत रहेको मेलम्ची खानेपानी आयोजनाले सोमबार दोस्रोपटक सुरुङमार्गमा पानी पथान्तरण गरी परीक्षण गरेसँगै अबको दुई महिनाभित्र काठमाडांैमा पानी आउने भएको हो । प्रधानमन्त्री केपी शर्मा मेलम्ची खानेपानी आयोजना समयमा नै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिँदै आएका थिए ।
पटक–पटक मेलम्चीको पानी काठमाडांै आउने भाका राखिए पनि त्यो भाका पूरा हुन सकेको थिएन । अब भने दुई महिनाभित्रै काठमाडांैमा पानी पुग्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले दाबी गरे ।
खानेपानीमन्त्री मणि थापासहित खेलकुद मन्त्री दावा तामाङ र पूर्वमन्त्री शेरबहादुर तामाङसहित सरकारी अधिकारीको उपस्थितिमा मेलम्चीको पानी सुरुङभित्र पथान्तरण गरिएको थियो । खानेपानी मन्त्रीका रूपमा मणि थापा आएपछि मेलम्ची आयोजनाले गति लिएको हो ।
हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको अस्थायी ड्यामबाट मेलम्चीको पानी सुरुङभित्र हालिएको थियो । सुरुङको गेटमा रहेको स्विच अन गरेर खानेपानीमन्त्री थापाले पानी पथान्तरणको सुरुवात गरेका थिए । मुहान स्थलदेखि काठमाडौंको सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङभित्र पानी हालेसँगै अबको दुई महिनामा काठमाडांैको धारामा पानी वितरण गर्न सकिनेछ ।
सोमबार सुरुङभित्र हालिएको पानी बढीमा १५ दिनमा सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा पुग्ने आयोजनाका कार्यकारी निर्देशक खत्रीले जानकारी दिए । परीक्षणका क्रममा सुरुङको कुल क्षमताको ३ प्रतिशत पानी मात्रै हालिएको छ । सुरुङमा अहिले २ दशमलव ६ लिटर प्रतिसेकण्डका दरले पानी जाने खानेपानी आयोजनाले जानकारी दिएको छ ।
सुरुङ परीक्षणका क्रममा यसअघि पनि पानी हालिए पनि गएको ३० असारमा आयोजना स्थलको अम्बाथानमा रहेको १७ नम्बर टनेलको गेट फुटेपछि दुर्घटना भएको थियो । गेट फुटी पानीले बाहिर फाल्दा आयोजनाका दुई जना कर्मचारीको मृत्युसमेत भएपछि आयोजनाले पुनः अर्काे गेट जडान गरेको थियो ।
गेट फुटेपछि खानेपानी मन्त्रालयले छानबिन समितिसमेत बनाएको थियो । समितिले प्रतिवेदन दिएलगत्तै असोजदेखि नयाँ डिजाइनमा गेट जडान गर्ने कार्य थालिएको थियो । पहिला बाहिरबाटै बाहिरै खोल्न मिल्नेगरी गेट जडान गरिएको थियो । अहिले भने बाहिरबाट भित्र खोल्न मिल्ने गरी गेट जडान गरिएको हो ।