काभ्रेपलाञ्चोक । दोस्रो संस्करणको काभ्रे गोल्डकप आगमी चैतमा आयोजना हुने भएको छ । आयोजक काभ्रे जिल्ला फुटबल संघले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको दोस्रो संस्करण १३ देखि २३ चैतसम्म हुने जानकारी गराएको हो ।
आयोजकले दोस्रो संस्करणको काभ्रे गोल्डकपको तयारी शुरु भइसकेको जनाएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका टोलीसहित १० टोलीको सहभागिता रहने काभ्रे गोल्डकपका मुख्य संयोजक अमित खोजु श्रेष्ठले जानकारी गराए ।
प्रतियोगिताको लागि धुलिखेल, बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिकासँगै रोशी, भुम्लु, तेमाल, बेथानचोक, महाभारत, खानिखोला, चौरीदेउराली गाँउपालिकाले सहयोग गरेका छन् ।
जिल्लाकै सर्वाधिक धन राशिको प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैया हात पार्नेछन् । प्रतियोगिताको अनुमानित लागत ५० लाख रुपैया रहेको छ । खेलहरु धुलिखेल रंगशालामा हुनेछ ।





