डेरी उद्योगमा युवा आकर्षित


इलाम । वैदेशिक रोजगारीमा जाने गरेका युवा पछिल्लो समय स्वदेशमै उद्योग व्यवसायमा रमाउन थालेका छ । स्वदेशमै काम गर्ने भावनाका साथ इलाम माइजोगमाई गाउँपालिकाका मिलन खत्रीले २०७२ सालमा अढाइ लाख रुपैयाँ लगानी गरेर डेरी उद्योग स्थापना गरे । उनले दैनिक २ सय ६० लिटर दूध प्रशोधन गर्थे ।
महिनामा २ सय ८० किलो घिउ, २ सय ६० किलो छुर्पी उत्पादन हुने उनले अहिले इलाम नगरपालिका–७ सदरमुकाममा नै सेतो पहाड डेरी उद्योग सञ्चालन गरेका छन् । मिलन डेरी उद्योगमा लगानी थपेर प्रशोधन क्षमता बढाएका छन् । डेरी उद्योगको क्षमता बढाउँदा ५५ लाख रुपैयाँ जति लगानी भइसकेको उनी बताउँछन ।


उनी अहिले १ हजार ६ सय लिटर दूध प्रशोधन गर्छन् । त्यसबाट महिनामा १ हजार ८ सय किलो घिउ, १ हजार ६ सय ५० किलो छुर्पी उत्पादन गर्छन् । डेरी उद्योगमा मिलनका दाजु र बाबुले पनि काम गर्छन् । उद्योगको सबै खर्च कटाएर महिनामा २ लाख रुपैयाँ जति आम्दानी हुने गरेको उनले सुनाए ।


इलामको देउमाई नगरपालिका–४ बुध’boutका अशेष बुढाथोकी बैंकको जागिर छाडेर दुबई गए । चार वर्षको वैदेशिक रोजगारीबाट फर्किएर उनले गाउँमा नै डेरी उद्योगमा लगानी गरेर गजुरमुखी दर्शन डेरी उद्योग सञ्चालन गरेका छन् । विदेशको कमाइमा बैंकबाट लिएको ऋण थपेर उनले सुरुमा ४० लाखको लगानीमा डेरी स्थापना गरेका हुन् । लगानी थपिदै जाँदा अहिले उद्योगमा ६५ लाख रुपैयाँ लगानी भइसहेको छ । बुढाथोकी करिब २ सय ५० किसानले उत्पादन गरेको १ हजार लिटर दूध दैनिक आफ्नो डेरीमा प्रशोधन गर्छन् । त्यसबाट १ हजार २ सय किलो छुर्पी र सोही हाराहारीमा घिउ उत्पादन हुन्छ ।


उनले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन्छ भने घिउ भने नेपाली बजारमा नै बिक्री हुन्छ । डेरी उद्योगबाट सबै खर्च कटाएर महिनाको १ देखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने भएपछि उनी फेरि विदेश नजाने सोचमा छन् । ‘विदेशको जति यहीँ हुन्छ,’ उनले भने, ‘यहीँ यत्रो लगानी गरिसक्यो, अब विदेश जान्न ।’ डेरीबाट उत्पादन भएको छुर्पी प्रतिकिलो १ हजार रुपैयाँ र घिउ ६ सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुने गरेको उनले सुनाए ।


दूध प्रशोधनको वैकल्पिक उपाय मात्रै होइन, सानो लगानीमा स्वरोजगार हुने माध्यम बनेपछि डेरी लगानीमा बर्सेनि लगानी बढ्दै गएको छ । दूध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दा लगानी बढेको हो । पछिल्लो तीन वर्षयता जिल्लामा डेरी उद्योगमा मात्रै बर्सेनि १० करोड रुपैयाँ हाराहारी लगानी थपिँदै गएको छ । पछिल्लो चार महिनामा मात्रै इलाममा २१ वटा डेरी उद्योग स्थापना भएको घरेलु तथा साना उद्योग शाखा कार्यालयले जनाएको छ । साउन महिनायता थपिएको उद्योगमा मात्रै ३ करोड १५ लाख ७८ हजार रुपैयाँ लगानी भएको छ ।

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ इलाममा ९१ वटा डेरी उद्योग दर्ता भएका छन् । ती उद्योगमा ११ करोड २७ लाख १६ हजार रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग शाखामा तथ्यांक छ । त्यस्तै, २०७४÷७५ मा ८७ वटा डेरी उद्योग स्थापना भएका थिए । ती उद्योगमा ११ करोड ४२ लाख ८८ हजार रुपैयाँ लगानी भएको थियो । आव २०७३÷७४ मा ७ करोड ३० लाख २२ हजार रुपैयाँको लगानीमा ७५ वटा डेरी उद्योग स्थापना भएका छन् । डेरी उद्योगमा डेढ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म लगानी गरिएका छन् ।


इलाममा हाल ५ सय ४४ डेरी उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी युवराज घोर्साइले बताए । यी डेरी उद्योगमा ५० करोड ३४ लाख ८८ हजार रुपैयाँ लगानी भएको तथ्यांक छ । आव २०७४÷७५ यता मात्रै २६ करोड ५१ लाख रुपैयाँ लगानी भएको बताइएको छ । इलाममा सञ्चालित उद्योगले वार्षिक ७८ करोड रुपैयाँको दुग्धजन्य पदार्थ उत्पादन गर्ने गरेका छन् । आव २०७४÷७५ यता खोलिएका उद्योगले मात्रै वार्षिक ४८ करोड ५८ लाख रुपैयाँको उत्पादन गर्ने गरेका छन् ।


इलामको सबैभन्दा बढी देउमाई नगरपालिकामा १ सय ४, सूर्योदय नगरपालिकामा १ सय १, फाकफोकथुममा गाउँपालिकामा ९०, इलाम नगरपालिकामा ६५, सन्दकपुर गाउँपालिकामा ५८, माइजोगमाई गाउँपालिकामा ५०, माङसेबुङ गाउँपालिकामा १७, रोङ गाउँपालिकामा नौ, माई नगरपालिमामा सातवटा डेरी उद्योग सञ्चालनमा छन् भने चुलाचुली गाउँपालिकामा डेरी उद्योग छैन ।

दैनिक २० हजार लिटर जिल्लाबाहिर


दूधमा आत्मनिर्भर भनिए पनि इलामबाट दैनिक २० हजार लिटर मात्र दूध जिल्लाबाहिर जाने गरेको छ । इलामका आठवटा दुग्ध चिस्यान केन्द्रबाट दैनिक २० हजार लिटर दूध संकलन भई बाहिरी जिल्लामा जाने गरेको पाइएको छ ।
दुग्ध चिस्यान केन्द्रले सिजनमा ३५ हजार लिटरसम्म संकलन गर्ने गरे पनि अहिले २० हजार लिटर मात्र संकलन गरिरहेको हो । इलाम पर्यटकीय जिल्ला भएकाले पनि धेरै जसो दूध स्थानीयस्तरका डेरी र दूधका ललिपप, पनिर, कुराउनी, चिज, घिउ, छुर्पीजस्ता परिकार बनाउन खपत हुने हुँदा धेरै दूध संकलन हुन नसकेको हो । दुग्ध विकास संस्था (डीडीसी)ले इलामको कुटीडाँडा, तीनघर, फिककल, लक्ष्मीपुर, बिब्ल्याटे, शान्तिडाँडा, पुवाखोला र देउराली चिस्यान केन्द्रमार्फत दुग्ध संकलन गरेर विराटनगर लैजाने गरेको दुग्ध चिस्यान केन्द्र बिब्ल्याटे इलामका देवनारायण
महतो बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 538 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मुसहरनियाको अध्यक्षमा जसपाका जयकुमार यादव निर्वाचित