काठमाडौं । गीतकार प्रतिमा श्रेष्ठले आफ्नो दुई कृति एक साथ राजधानीमा सार्वजनिक गरेकी छन् । उनले आफ्नो नयाँ गीतिसंग्रह प्रेम प्रार्थना र गीतिपुस्तक अक्षत अनुराग अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एक समारोहबीच सार्वजनिक गरेकी हुन् । यी कृतिको अग्रज गायक दीप श्रेष्ठ, रचनाकारत्रय दिनेश अधिकारी, डा. कृष्णहरि बराल र विप्लव प्रतीकले विमोचन गरे ।
विमोचित पुस्तक अक्षत अनुरागमा आफूले विभिन्न कालखण्डमा लेखेका ७२ वटा गीत रहेको गीतकार श्रेष्ठले कार्यक्रममा जानकारी गराइन् । यस्तो सो गीतिसंग्रहमा पाँचवटा गीत छन् ।
जसमा मेरो हजुर… प्रेम प्रार्थना…, मिल्छ भने एउटा…, सुनन…, किस्ता किस्ता…बोलका गीतहरू छन् । यी सबै गीत प्रतिमाले लेखेकी हुन् । सबै गीतमा अनिल शाहीको संगीत रहेको छ । यी गीतहरूलाई स्वरूपराज आचार्य, इतु जोजिजु, बविता मानन्धर, अस्मिता परियारले गाएका हुन् । गीतिसंग्रहलाई मिडिया ल्यान्डले बजारमा ल्याएको हो ।
गीतिसंग्रह कार्यक्रममै यो संग्रहका तीनवटा गीतको भिडियो रिलिज गरियो । जसमध्ये किस्ता किस्ता…मा, अनिल र अस्मिताको, सुनन…मा दिवश श्रेष्ठ, सब्बु शाहीको, प्रेम प्रार्थनामा धिरेन शाक्य र उषा खड्गीको अभिनय रहेको छ । भिडियोलाई गीतकार प्रतिमा आफैंले निर्देशन गरेकी हुन् ।






