बेपत्ता दम्पती खोज्न प्रहरी असफल, स्थानीय आक्रोसित

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका अन्तर्गत सहोरबाका झा दम्पती बेपत्ता भएको १६दिन बितिसक्दा पनि प्रहरीले फेला पार्न सकेन । उनीहरुको अवस्था’bout प्रहरीले अझैसम्म सुइँको समेत पाउन सकेको छैन । ६५ वर्षीया मुसाफिर झा र उनकी श्रीमती ६० वर्षिय गीतादेवी झा घरबाटै फागुन १० गते बेपत्ता भएका थिए ।

बेपत्ताको खोजविन गर्न प्रहरीले चासो नदेखाएको भन्दै धनुषा र महोत्तरीका स्थानीयवासीले आन्दोलन गरिरहेका छन । कुनै ठाउँमा चक्काजाम गरिरहेको छ भने धर्ना र रिले अनसन जारी रहेको छ । मैथिल ब्राह्मण युवा महासभा प्रदेश–२ का अध्यक्ष जानकीरमण झाले घरबाट कसैलाई उठाएर लगेको भए पनि अहिलेसम्म पुरै अन्यौलताको स्थिति रहेकाले आन्दोलन गर्नुपरिरहेको बताए ।

महोत्तरीको पिपरामा प्रत्येक दिन चक्काजाम र धर्ना कार्यक्रम चलिरहेको छ भने जिल्ला प्रशासन कार्यालय महोत्तरीमा दैनिक धर्ना कार्यक्रम भइरहेको छ । जनकपुरधामको जनक चोकमा ४१ वटा संस्थाले आजदेखि रिले अनशन सुरु गरेको छ । सो अनसनको संयोजन मैथिल ब्राह्मण महासभाले गरिरहेको छ । रिले अनसनमा सहभागी भएका पूर्व प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जिबछ मिश्रले प्रहरी प्रशासनले पीडितलाई विश्वास नदिलाउनु दुखद रहेको वताए ।

रिले अनशनमा मैथिल ब्राहमण महासभाका महासचिव इन्द्रदेव मिश्र, केन्द्रीय सदस्य धीरेन्द्र झा मैथिल, पूर्व प्रजिअ मिश्र, नेपाली काँग्रेसका नेता ललन चौधरी, मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ का अध्यक्ष जानकीरमण झा लगायतका रहेका छन ।

उक्त घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ जारी राखेको छ । बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंहले खोजबिनका क्रममा फागुन १४ गते एक पोखरीमा दम्पतीले प्रयोग गर्ने दुइटा झुल बरामद भएपछि मारेर पोखरीमै फालिएको हुनसक्ने आशंका गरेका छन् । उनले हालसम्म सर्च अभियानअन्तर्गत महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा जाल फालेर छान्ने, ‘बोटिङ्ग’ मार्फत् खोजबिन गर्ने कार्य गरिएको जानकारी दिए ।

गीताको ओछ्यान नजिकै र उनको घरदेखि झण्डै १५ मिटर परसम्म देखिएका रगतका नमुना परीक्षणका लागि काठमाडौं लागिएको बताए । पक्राउ परेका चारै जनाको पोलिग्राफ टेस्ट गरिएको र उनीहरु मध्ये हरेन्द्र र रामबाबुले कतिपय कुरा झुठो बोलेको डिआइजी सिंहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

तादीखोलामा एक्रोब्रिज जडान तीब्र