दोस्रो चरणमा कोरोनाको खोप लगाइरहेका बेला गरिएको एक अध्ययनमा धेरै नै हेलचेक्र्याइँ भएको भेटिएको छ । सरकारले विभिन्न चरणमा विभिन्न क्षेत्र र समूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाएको भए पनि कतिपयले खोप लगाउन आलटाल गर्ने र आफ्नो पालोमा पनि खोप नलगाएर गम्भीर लापार्बाही गरेको भेटिएको हो । कोरोनाविरुद्धको खोप लगाउन पाउनु हामी नेपालीका लागि निकै सुनौलो अवसर हो । विभिन्न बहानामा त्यस्तो सुनौलो अवसरबाट वञ्चित दुर्भाग्यपूर्ण हो ।
कोरोना भाइरस संक्रमण कायमै रहेको र दोस्रो चरणको भाइरसको लहर प्रवेश गरिसकेको बेलामा हुन सक्ने उच्च जोखिमलाई नजर अन्दाज गर्न थालेपछि यसले चिन्ताजनक स्थिति ल्याउन सक्ने भय र सम्भावना बढेको छ । यति बेलाको हेलचेक्र्याइँले नेपालीको स्वास्थ्य जीवनमा दुर्दशापूर्ण अवस्था पनि नआउला भन्न सकिँदैन । आँकडामा हाल संक्रमितको संख्या दैनिक घट्दै गएको देखाए पनि उपचारका लागि ध्यान नदिने, प्राथमिक रोकथाम का उपायमा ख्याल नगर्ने, मास्क नलगाउने, समाजमा त्यत्तिकै घुलमिल भइदिने, सामूहिक रूपमा बिनामास्क भोजभतेरमा सहभागी हुने आदि कार्यले जोखिमलाई बढाउँदै लगेको छ । त्योभन्दा बढी दुःखद पक्ष त अहिले देशव्यापी रूपमा अभियानकै रूपमा चलाइएको खोप अभियानमा त्यति साह्रो चासो नदेखिनु हो । यसले जनस्वास्थ्यको अवस्थाप्रति हामी कति गैरजिम्मेवार छांै भन्ने संकेतसमेत गर्छ ।
अर्कोतिर सामूहिक भेला हुने विद्यालय, यातायात, फिल्म हल सञ्चालनमा आएका छन् । सडकमा पनि दैनिकजसो प्रदर्शन भइरहेका छन् । पार्टीका भेला र प्रशिक्षण पनि यही बेलामा भइरहेका छन् । भौतिक दूरी कायम राख्ने कुरा दैनिक जनजीवनसँग नजोडिएर अर्ती दिएको विषयजस्तो बनिरहेको छ । सरकारी अध्ययनमा संक्रमितको दर घट्दै गए पनि यस्ता क्रियाकलापले जोखिम भने बढाउँदै लगिरहेको छ । खोप अभियानमा चासो नदिनु र मास्कको उचित प्रयोग नगर्नु जनस्वास्थ्यका लागि सबैभन्दा डरलाग्दा कुरा हुन् । पहिले गम्भीरताका साथ लिइएका जनस्वास्थ्यका मापदण्ड अहिले पालना हुन छाडेका छन् । प्राथमिकता निर्धारणका आधारमा खोप लिन आम नागरिकलाई अनुरोध गरिए पनि जनताको उत्साहजनक सहभागिता देखिएको छैन । यो निकै दुःखको कुरा हो । दुई चरणको खोप अभियान चल्दासम्म जम्मा १३ लाख ५० हजारले मात्र खोप लिएका छन् । यो अपेक्षा गरिएको भन्दा निकै कम संख्या हो । जब कि महामारीले विश्वलाई अहिले त्राहीमाम पारिरहेको छ र विश्वका मानिस खोप लिनका लागि निकै आतुर छन् । देशमा कुल संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ जना पुग्नु नेपालको जनसंख्याको अनुपातमा निकै ठूलो संख्या हो । यति नै बेला चलिरहेको खोप अभियानमा प्रभावकारिता ल्याउन जनस्तरमै पनि प्रभावकारी प्रचार संयन्त्र तथा नेटवर्क निर्माण गरिनु जरुरी छ । यसले मात्र सोचेअनुसार कामलाई अघि बढाउन मद्दत मिल्ने देखिन्छ ।
खोपका लागि अपेक्षित जनसंख्या तयार नहुनुमा यसका पछाडि धेरै कुराले काम गरेका छन् । यसमा सबैभन्दा ठूलो कुरा त जनताका बीचमा अब कोरोना पचिसकेको हो कि भन्ने भ्रम सिर्जना हुनु हो । दोस्रो कुरा, खोपकै ’boutमा अविश्वास पैदा हुनु र कतिपय ठाउँमा भ्रमपूर्ण कुरा गरिनु पनि रहेको छ । तेस्रो कुरा, खोप प्रयोगका लागि ल्याइएको हो भन्दै लगाए पनि नलगाए पनि केही नहुने भनिएकाले पनि यस्तो वातावरण सिर्जना हुन गएको हो । यी सबै भ्रमले काम गरिरहेका छन् । यो भ्रमलाई चिर्दै सबै प्रकारका हेलचेक्र्याइँ बन्द गर्दै सकेसम्म खोप लगाउने अभियानमा सबै जना सरिक हुनुपर्छ ।






