जनकपुरधाम । जनकपुरधाममा मिथिला संस्कृति अध्ययन केन्द्र निर्माणको थालनी गरिएको छ । सोका लागि समस्त देवीदेवताको लघुचित्रसहितको देवलोक एवं मिथिलाको पहिचान, संस्कृति झल्किने भवनको नक्सा तयार गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माणको शिलान्यास समेत भइसकेको सो केन्द्रको निर्माण कार्य दुई वर्ष्भित्र सम्पन्न गरिने योजना रहेको छ ।
मैथिल ब्राह्मण महासभाद्वारा निर्माण भइरहेको सो केन्द्रको भवन छ तलाको हुने महासभाका अध्यक्ष भगवान झाले बताए । उनले आज एक पत्रकार सम्मेलन समेत गरेका छन् । केहीदिन अघि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रीताकुमारी मिश्रले शिलान्यास गरेकी थिए ।
उनका अनुसार केन्द्रको पहिलो तल्लामा सभागृह, दोस्रो तल्लामा देवलोक र तेस्रो तल्लामा मिथिला सङ्ग्रहालय रहनेछ । त्यस्तै भवनको चौथो तलामा पुस्तकालय, सङ्गोष्ठी कक्ष र पाँचौँ एवं छैटौँ तला आवासीय हुने बताइएको छ । रु ११ करोडको लागतमा निर्माण हुने सो केन्द्रको भवनका निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले रु पाँच लाख रकम उपलब्ध गराउने र बाँकी रकम चन्दाबाट सङ्कलन गरिनेछ ।
नगरपालिकाले जग्गा समेत उपलब्ध गराएको छ । प्रदेश २ का विभिन्न सांसद, स्थानीय निकाय, व्यापारी आदीहरुले सहयोग गर्ने आश्वासन दिएका छन । जनकपुरधाम आउने पर्यटक एकचोटी मिथिला सांस्कृति केन्द्र हेर्न पनि आउने हिसावले बनाइने मैथिल ब्राह्मण महासभाको योजना रहेको छ ।
अध्यक्ष झाका अनुसार सो केन्द्रको सञ्चालनबाट प्राप्त आम्दानीले हरेक वर्ष सबै समुदायका गरिब छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने योजना रहेको छ । भवनको निर्माण कार्य शुरु गर्नु अगाडी महासभाले ७ दिवसीय भागवत कथाको आयोजना गर्न लागेको छ । जानकी मन्दिरमा २४ गतेसम्म वृन्दावनका अभिशेष पाठकले भागवत कथामाथि प्रवचन दिनेछन् । सो प्रवचनको क्रममा हुने आम्दानीपनि मिथिला संस्कृति अध्ययन केन्द्रमै लगाइने जानकारी महासभाका अध्यक्ष झाले दिएका छन ।







