जुम्लाको । जुम्लाको दुर्गम मानिने तातोपानी गाउँपालिका वडा नम्वर ७ ताम्ती मा हावाले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ । तातोपानी ७ ताम्तीको जनजागृति माद्यमिक विद्यालयमा चैत १ गते बेलुका हावाहुरीले छाना उडाएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो ।
कोरोनाका कारण लामो समय बन्द भएको यो विद्यालयमा हावाहुरीले छाना उडाएपछि पुन पठनपाठन प्रभावित भएको विद्यालय व्यवश्थापन समितिका अध्यक्ष तिलक रावतले बताए । दुइकोठे भवनको छाना उडेको छ, भने बाँकि भवनका छानाहरु चर्र्किएका छन् । ‘कोरोना प्रभाव पछि विद्यालयले लय समाएको थियो, पुन पठनपाठन अवरुद्ध भएको छ’ अध्यक्ष रावतले भने । विद्यार्थीहरुलाई सुरक्षित रुपमा पढाउन भवनहरु नहुँदा खुल्ला चौरमा बसाल्ने गरिएको जनजागृति माद्यमिक विद्यालय ताम्तीका प्रधानाध्यापक जनक रावतले जानकारि दिएका छन् । ‘विद्यालयमा कुल ४०० विद्यार्थि अध्ययनरत छन् । थप भौतिक संरचना नहुँदा विद्यार्थिहरु घामपानी सहन बाध्य छन्, । रावतले गुनासो गरे । विद्यालयको छाना फेर्न आर्थिक स्रोत समेत नहुँदा समस्या भएको उनले बताए ।
निजी स्रोतका शिक्षकहरुलाई तलव खुवाउन समेत हम्मे हम्मे पर्ने विद्यालयलाई छाना फेर्न कठिनाई हुने उनकोे तर्क छ । विद्यालयमा जोखिम मोलेर पढ्ने गरेको छात्रा लक्ष्मी रावतले बताइन् । ‘मनमा संधै कतिबेला हावाले छाना उडाउँछ भन्ने डर हुन्छ, कमजोर भौतिक संरचनाले हाम्रो मन पढाइतिरै जाँदैन ।’ विद्यालयलाई व्यवस्थित बनाउन अभिभावकहरुले अनुरोध समेत गरेका छन् । यता तातोपानी गाउँपालिकाले विकट ताम्ती गाउँको पठनपाठन मा आएको अवरोध हटाउने जनाएको छ । तातोपानी गाउँपालिकाले विपदले पुर्याएको क्षतिको मुल्यांकन गरि मर्मतमा सघाउने गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताए । आपत विपदमा गाउँपालिका सहयोगी भएर उभिने उनको भनाई छ ।






