काँग्रेस सरकारमा जादैँन, आइपरे भाग्दैनाैं : देउवा

इटहरी । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । सुनसरीको धरानमा मंगलबार दलित संघद्धारा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेशस्तरीय अन्र्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै देउवाले तत्काल नेपाली कांग्रेस सरकारका नजाने उल्लेख गरेका हुन् ।

‘अहिले एमाले र माओबादीको सरकार छ, यो संयुक्त सरकार हो,’ उनले भने, ‘प्रचण्डजी हरुले आफ्ना मन्त्रीहरु फिर्ता लिनुभएको छैन, ओलीले पनि नहटाएको अवस्था छ, त्यसैले कांग्रेस सरकारमा जादैँन ।’ उनले आँफू प्रधानमन्त्री बन्ने वा नबन्ने भन्ने विषयमा प्रश्न उठिरहेको उदृत गर्दै भने, ‘अहिले बहुमतको सरकार छ, दुईवटा पार्टीको सरकार भएपनि बहुमत सरकार हो, जबसम्म बहुमतको सरकार रहन्छ, तबसम्म हामी सरकारमा जादैँनौ, हामी त विपक्षी पार्टीको मान्छे हो नि ।’
उनले आइपरेको अवस्थामा कांग्रेसले देशको नेतृत्व लिन पछि नहट्ने समेत उल्लेख गरे । उनले भने, ‘म स्पष्ट पार्न चाहन्छु कि, मैले पटकपटक भन्दै आएको छु, म प्रधानमन्त्रीको लागि मरिमेट्ने छैन, तर हामी भाग्नेवाला पनि छैनौँ ।’ उनले अवसर आएमा कांग्रेसले देशको नेतृत्व लिन पछि नहट्ने बताउँदै तत्कालको अवस्थामा सरकारमा नजाने स्पष्ट पारे ।

यसैबीच केही समयअगाडि मात्रै सुनसरी प्रहरीले यहाँका कांग्रेस नेता, कार्यकर्तालाई बिनाकारण थुनामा राखेको सम्झदैँ देउवाले भने, ‘कम्युनिष्ट पार्टीमा आइज नत्र मुद्दा चलाइदिन्छु भन्दै धम्की दिने प्रहरी प्रशासन जनताको करबाट चलेको हो, कुनै पार्टीको होइन ।’ उनले प्रहरी प्रशासन कम्युनिष्टको कार्यकर्ता मात्रै बनेको आरोप लगाउँदै भने, ‘उनीहरुले जनताले तिरेको ट्याक्सको पैसाले तलब खान्छन्, कुनै पार्टीले तबल खुवाएको होइन, जनताले तिरेको ट्याक्सबाट तलब खाएर पुलिसले कुनै पार्टीको काम गर्न पाइन्छ ? यसो हो भने हामी छोड्दैनौ, छोड्दैनौं, छोड्दैनौं ।’ उनले प्रहरी प्रशासनको प्रतिगामी कदमलाई कांग्रेसले कुनै हालतमा पनि नछाड्ने जिकिर गरे ।

उनले एक फरक प्रसंगमा कांग्रेसले दलितको उत्थानका निम्ति काम गरेपनि चुनावताका मत नपाउने गरेको गुनासो गरे । ‘हामीले पार्टीमा पनि आरक्षण दिएका छौँ, कांग्रेसले समावेशी हिसाबमा आरक्षण दिएको छ,’ उनले भने, ‘तर चुनावको बेलामा दलितको भोट आउँदैन, चुनावको बेलामा भोट ल्याउने काम पनि गर्नुपर्यो ।’ उनले दलित समुदायको मत निर्णायक रहेकाले चुनावमा दलितले जता मत दियो उही पार्टीले जित्ने समेत बताए । उनले जनताभन्दा माथि कोही पनि नरहेको तर्क गर्दै भने, ‘आगामी चुनावपछि कांग्रेसले समावेशी सरकार बनाउँछ र विभेदको अन्त्य गर्छ ।’

गच्छदार माथी अन्याय भयो

अर्को फरक प्रसंगमा सभापति देउवाले पार्टीका उपसभापति विजय गच्छदारमाथि अन्याय भएको बताए । उनले भने, ‘गच्छदारजी माथि अन्याय भएको हामीले महसुुस गरेका छौँ, उहाँले न्याय पाउनुहुनेछ ।’

कार्यक्रममा पूर्व मन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दलित संघका केन्द्रीय अध्यक्ष मीनबहादुर विश्वकर्माले अहिले पनि देशमा जातीय विभेद कायमै रहेकाले यसको अन्त्य हुन आवश्यक रहेको बताए । उनले भने, ‘जातीयताका आधारमा देशमा विद्रोहको स्थिति सृजना हुन नदिनका लागि जातीय विभेदको उन्मुलन हुन आवश्यक छ ।’ उनले समाजमा वर्तमान अवस्थामा पनि एक जातीले अर्को जाती र एक समुदायले अर्को समुदायमाथि विभेदको रंगले हेर्ने गरेको बताउँदै यसको अन्त्यका लागि कांग्रेसले अहम् भूमिका खेल्दै आएको तर्क गरे ।

उनले वर्तमान केपी ओली नेतृत्वको सरकारले आफ्नो सरकार टिकाउनका लागि मात्रै लालायित भएको आरोप लगाउँदै भने, ‘समृद्धिको नारा बोकेर ओली सरकारले झुक्याएको छ, अहिलेको सरकार समावेशी विरोधी र प्रतिगामी सरकार हो ।’ उनले कांग्रेसले ७० वर्ष अगाडि नै जातपात नमान्ने उद्घोष गरेकाले कांग्रेसले मात्रै सबै जाती, धर्ममा आस्था राख्ने मानिसलाई अटाएर लैजान सक्ने बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की लगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन