काठमाडौं । कुनै समय एउटा गीत तयार गर्न सबैले महिनांै मेहनत गर्नुपथ्र्यो । महिनांैसम्म अभ्यास गरेर त्यतिबेला गाइएका गीत अहिलेसम्म पनि त्यत्तिकै सुन्ने गरिएको छ । पछिल्लो समय सिर्जना भएका नेपाली गीतको आयु क्षणिक हुने गरेको छ । गीतलाई माधुर्य बनाउनुभन्दा म्युजिक भिडियोलाई राम्रो बनाउने क्रम बढेको छ ।
अघिल्ला पुस्ताका श्रष्टाका गीत दशकौंदेखि नियमित सुनिँदै आएका छन् । यस्तै दशकौंदेखि अहिलेसम्म निरन्तर सफल गीत दिएका गीतकार हुन यादब खरेल । कैयौं गायक गायिकाले यादब खरेलकै गीतबाट गायन यात्रा सुरु गरेर आफूलाई गायनमा स्थापित गरे । नेपाली गीतको आयु पछिल्लो समय एक साताको हुने क्रम बढेकोमा यादब खरेलका गीत चार÷पाँच दशक अघिदेखि अहिलेसम्म पनि सदावहार नै छन् ।
तारादेवीलाई चिनाउने उनको चर्चित गीत नौ सय खोला तरेर जाने गीत यादब खरेलले नै लेखेका हुन् । तारादेवीका प्रसंसकले यो गीत अहिले पनि त्यत्तिकै सुन्छन् । यो मात्र हैन, नौ गेडीको मेरो माला, नौ घुम्ती पारीदेखि, तिमी टाढा भयौ लगायतका गीत यादब खरेलले नै लेखेका हुन् । तारादेवीका यी मध्ये नौ सय खोला तरेर जाने गीत अहिले पनि सर्वाधिक सुनिने गीतको सूचीमा पर्छ ।
गायिका कमला श्रेष्ठको पहिलो गीत नौ गेडीको मेरो माला पनि यादब खरेलले नै लेखेका हुन् । यही गीतलाई पछि तारादेवीले गाएकी थिइन् । यो पनि कालजयी गीतमा पर्दछ ।
यस्तै एक समयको चर्चित गीत आउदिनँ म जाँदै छु गीत पनि यादब खरेलले नै लेखेका हुन् । यही गीतबाट गायक महेश पाल्पालीले आफ्नो गायन यात्रा सुरु गरेका हुन् । यस्तै गायक रत्न खड्गीको पहिलो गीत पनि यादब खरेलले नै लेखेका थिए ।
स्वर सम्राट नारायण गोपालले गाएको पिउँदा पिउँदै जिन्दगी यो रित्याउन चाहन्छु विगत चार दशक यताबाट निरन्तर सुनिँदै आएको गीतको सूचीमा पर्छ । यो गीत पनि यादब खरेलले नै लेखेका हुन् । त्यति बेला एउटा गीत तयार गर्न गीतकार, संगीतकारदेखि गायक गायिकासम्मलाई महिनौ दिन लाग्ने र गीत राम्रो भएपछि मात्र रेकर्ड गरिन्थ्यो । लामो मेहनत र अभ्यासका कारण त्यति बेलाका गीत कालजयी भएको कथन यादब खरेलको छ ।
दिवंगत गायक फत्तेमानको पहिलो र अन्तिम गीत पनि यादब खरेलले नै लेखेका हुन् । फत्तेमानको यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले अहिले पनि त्यत्तिकै रुचाइने गरिएको गीत हो । यो गीतबाटै फत्तेमान देशव्यापी गायन प्रतियोगितामा उत्कृष्ट भएका थिए । २० को दशकदेखि रुचाइएको यो गीत पनि खरेलको कालजयी गीतमध्ये एक हो । फत्तेमानले गाएको रिडी काली भेट हुने दोभानैमा, मैले पिएँ धेरै पिएँ, यो जिन्दगी हतास छ पनि गीतकार खरेलले नै लेखेका हुन् । फत्तेमानका यी सबै गीत श्रोताले रुचाएका हुन् । आफ्नो चार÷पाँच दशक अघि रेकर्ड भएका कैयौं गीत आजका दिनमा पनि रेडियो तथा एफएम नियमित रूपमा दैनिक कुनै न कुनै कार्यक्रममा बज्ने गरेको पनि गीतकार खरेलले बताएका छन् ।
गायक पुस्तप नेपालीको कालजायी गीतको सूचीमा मनको यो तिर्सना, सकेदेखि तिम्ले पनि गीतलाई यादव खरेलले नै लेखेका हुन् । द्वारिकालाल जोशीलाई गायनमा कुनै समय चिनाएको गीत हररात तारा भएर बले, रमेश ताम्राकारको सदावहार गीत बिर्सेर यो रमझम, कुमार कान्छाको चर्चित गीत पञ्चे बाजा ठोक्दै आउँछु रुवी जोशीको सदावहार गीत कति यस्ता कुरा हुन्छन् पनि यादव खरेलले नै लेखेका हुन् । रविन शर्माको कालजायी गीत म जिन्दगीभर हिँडी रहेंलाई पनि यादख खरेलले नै सिर्जना गरेका हुन् । यी सबै गीत बिगत चार/पाँच दशक यताबाट नियमित सुन्ने गरिएको भाग्यमानी गीतको सूचीमा परेको यादव खरेलले राजधानीलाई बताए ।
गीतकार यादब खरेलका गीत २०१८ सालबाटै रेकर्ड सुरु भएका हुन् । उनले चार दर्जनभन्दा बढी चलचित्रमा गीत लेखेका छन् । तीमध्ये कतिपय गीत अहिले पनि रेडियोमा त्यत्तिकै बज्ने गरेका छन् । उनका चलचित्रका गीत पनि त्यत्तिकै कालजयी बन्न सफल भएका छन् । उनले लेखेको चलचित्र प्रेमपिण्डको गैरी खेतको सिरै हान्योसहित सबै गीत अहिले पनि त्यत्तिकै सुन्ने गरिन्छ । चलचित्र चेलीबेटीको एउटा मान्छे मनपर्छ र तिम्रो आँखाको सागरमा लहर लहर उर्लिरहेछ गीत अहिले पनि सदावहार गीतको सूचीमा पर्छ । यी दुवै गीत खरेलले नै लेखेका हुन् । चलचित्र स्वर्गको भैलिनी आइन् आँगन पनि खरेलको सदावहार पर्व गीत हो ।
हालसम्म १६ वटा गीतिसंग्रह ल्याइसकेका गीतकार खरेल नेपालमा सर्वाधिक सुनिने अग्रज पुस्ताका गीतकारको सूचीमा अग्रपंक्तिमा छन् । नेपाली गीतको आयु एक महिनामै सीमित हुन थालेका बेला आफ्ना गीत बिगत चार/पाँच दशकदेखि अहिलेसम्म निरन्तर सुन्ने गरिँदा आफूलाई अहिले पनि गीत सिर्जना गर्ने उत्साह नघटेको उनले राजधानीलाई बताए ।






