महर्षि व्यास जन्मेको ठूलो पावन धाम छ ।
सेती र मादीको वेणी प्रयाग सरि तुल्य छ ।।
दमौली पून्यभूमियो व्यास नगर नाम छ ।
हेर्दा नेपालको चित्र मध्य भू–भाग पर्दछ ।।
पहाडी खोंचमा पर्ने उर्वरा जलभूमि छ ।
गाउँ धेरै भए राम्रा नमुना यो बजार छ ।।
सर्दीगर्मी दुबै साथ मित्रता गर्न आतुर ।
माया गर्ने कुहिराले आफैंमा छैनन् निर्भर ।।
यातायात चलेकै छ, पूर्व दक्षिण पश्चिम ।
दिशा उत्तरको यात्रा छैन बाधा र बैगुन ।।
यहाँका चोक बाटा छन् सफा सुन्दर भित्रका ।
उद्यानहरू धेरै छन् लाग्ने मोहनी मित्रका ।।
उच्च शिक्षा दिने केन्द्र भानुका योगदानको ।
स्मृतिमा यी खुलेका छन् महर्षि वेद व्यासको ।।
तनहुँ केन्द्रका जिल्ला कार्यालय विविध छन् ।
कर्मचारी सेवा दिनमा दत्तचित्त छन् ।।
महाहनु मुनीको यो तपस्थली छ सुन्दर ।
त्यहाँ पुगेपछि आफैं दृश्यमा रम्न आतुर ।।
हिमाली टाकुरा पाखा मादी सेती र पाटन ।
भाँदगाउँ दमौलीको गर्न पाइन्छ वर्णन ।।
छाब्दी बाराही माता छन् नजिकै जलशायिनी ।
मत्स्यकन्या सुपूज्याको मान्दछन् वरदायिनी ।।
पहिले मादीको तट्मा जाल हान्दा दराइको ।
पटकपटक शिला एकै अन्दाजी दस केजीको ।।
सेन वंशीय यो राज्यदेखि लिला अचम्मको ।
भनी पुजा गरे शिला माता श्रीजलदेवीको ।।
शिरमा तनहुँ काली भव्य मन्दिर जंगल ।
मादीका तटमा धेरै हुने किर्तन मंगल ।।
गुफा व्यासजीको ठूलो शिलाभित्र पुरातन ।
तपस्थली यही नै हो शास्त्र वर्णित पावन ।।
व्यासका दिव्य सन्देश पुराण वेद दर्शन ।
ब्रह्मसूत्रादी धेरै छन् मुक्ति सोपान चिन्तन ।।
शिव पञ्चांगका साथै व्यासका पूर्ण मूर्ति छन् ।
तीर्थयात्री र दुःखीका भोज्य सामग्री राख्दछन् ।।
पराशर महर्षिको शान्त सुन्दर आश्रम ।
शिवालय कलापूर्ण गुरुकुल महोत्तम ।।
पाराशरी सत्यवती सुतका नामले जन ।
द्वैपायन अनि मिल्ने यही छ वदरी बन ।।
ऋतेज्ञानान्नमुक्तिको गर्न अभ्यास चिन्तन ।
पुराण वेदको सार प्रवचन छ सबै दिन ।।
एकाष्टशत फुट अग्लो मूर्ति यो दिव्य रूपको ।
विश्वकै सम्पदा बन्ने महर्षि वेद व्यासको ।।
यज्ञकै जगमा धेरै बनेका शुद्ध कल्पना ।
शीग्र निमार्ण पूरा होस गर्दछु शुभकामना ।।
– व्यास ४ दमौली