काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पोडेलले विभिन्न मन्त्रालयलाई नयाँ ठूला योजना प्रस्ताव पेस नगर्न आग्रह गरेका छन् । आगामी बजेटको सिलिङ कम हुने भन्दै उनले आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेटका लागि प्रस्ताव पठाउँदा त्यसमा ठूला नयाँ आयोजनाका लागि प्रस्ताव नपठाउन विभिन्न मन्त्रालयलाई परिपत्रसहित यस्तो आग्रह गरेका हुन् ।
अझै विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी कायमै रहेको र आगामी बजेटलाई व्यवस्थित ढंगले विनियोजन गर्नुपर्ने भएकाले धेरै आवश्यक नभएका, तत्काल प्राथमिकतामा नपर्ने नयाँ ठूला परियोजनाका लागि बजेट प्रस्ताव नगर्न आग्रह गरेको उनको भनाइ छ ।
अहिलेको कोरोना प्रभावलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट नतिजामुखी ल्याउने तयारीमा अर्थ मन्त्रालय देखिएको छ । मन्त्रालयका प्रवक्ता सुमन दाहालले आगामी आर्थिक वर्षको बजेट विनियोजन मात्रै भन्दा पनि त्यसको प्रभावकारितालाई ध्यानमा राख्दै बजेट ल्याइने तयारी भइरहेको बताए ।
बजेटको सिलिङ अंकमा धेरै भन्दा पनि त्यसको प्रभावकारिता र नतिजामा आगामी वर्षको बजेटले ध्यान दिन्छ । त्यही किसिमले अर्थ मन्त्रालयबाट नै परिपत्र भएको बताउँदै दाहालले भने, ‘परियोजनाको पूर्वतयारी भएपछि मात्रै त्यसमा बजेट विनियोजन हुन्छ ।’ आगामी आर्थिक वर्षको बजेटले विशेष गरेर महŒवपूर्ण प्राथमिकताका क्षेत्र र परियोजना तय गरेर मात्र बजेट विनियोजन गर्ने अर्थ मन्त्रालयको भनाइ छ । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा महŒवपूर्ण तथा प्राथमिकताको क्षेत्र कोरोनाले प्रभावित मुलुकको अर्थतन्त्र पुनरोत्थानका लागि नै केन्द्रित हुनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय स्रोतका अनुसार मन्त्री पौडेलले अहिले योजना अयोगबाट नै बजेटको सिलिङ घटेको र बजेट कोरोना भाइरसको पुनरोत्थानमा जोड दिनुपर्ने भएकाले धेरै खर्च हुने नयाँ परियोजनाका लागि बजेट प्रस्ताव नगर्न यस्तो आग्रह गरेका हुन् । ‘आगामी वर्षको बजेटको सिलिङ गत आर्थिक वर्षको भन्दा न्यून भएकाले प्रस्ताव गरिसकेपछि त्यसमा विनियोजन हुने रकम रकमान्तर नहुने, बजेट सोही आयोजनामा खर्च हनुपर्ने र कोरोना भाइरसकै पुनरोत्थानमा बजेट विनियोजन बढी गर्नुपर्ने भएकाले त्यसमा ध्यान दिन अर्थ मन्त्रालयबाट परिपत्र आएको छ,’ पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।
यसैगरी, पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले पर्यटन मन्त्रालयबाट नयाँ कार्यक्रम खासै प्रस्ताव नभएको जानकारी गराए । अहिलेसम्म यस मन्त्रालयले नयाँ कार्यक्रम तथा परियोजना प्रस्ताव गरिनसकेको बताउँदै सुवेदीले भने, ‘हामी अझै पनि छलफलमै छौं, पुरानै कार्यक्रमलाई दोहो¥याएर प्रभावकारी ढंगले काम गर्ने सोच यस मन्त्रालयले बनाएको छ ।’
पर्यटन मन्त्रालयका अनुसार आगामी बजेटका लागि खासै नयाँ र ठूला परियोजनाको प्रस्ताव गरिने छैन । विभिन्न ठाउँहरूमा हिल स्टेसन निर्माण, एक प्रदेश एक सांस्कृतिक गाउँ, एक प्रदेश एक सांस्कृतिक महोत्सवजस्ता नियिमत तथा पुराना र आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिने खालका कार्यक्रमलाई नै विशेष प्राथमिकता दिई आगामी बजेट कार्यक्रमको प्रस्ताव गर्ने तयारी भइरहेको छ । यसअघि अर्थ मन्त्रालयले निजी क्षेत्र र सम्बन्धित सरोकारवालासँग राय सुझाव माग्ने क्रममा पनि ठूला र नयाँ परियोजनाको प्रस्ताव नगर्न आग्रह गरेको थियो ।