काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । थाइल्यान्डमा आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएसँगै प्रतियोगितमा लगातार दोस्रो हार बेहोरेको हो । नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो । लगातार दोस्रो हारसँगै नेपालको शीर्ष दुईमा रहेर एसिया कप छनोट हुने समूह चरणबाट नै बाहिरिने सम्भावना बढेको छ । अब नेपाल अघिल्लो चरणमा प्रवेश गर्न दुवै खेल फराकिलो अन्तरले जित निकाल्नुका साथै विपक्षीको नतिजा पनि नाटकीय रूपमा आफूअनुकूल आउनुपर्ने हुन्छ ।
१ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपालको पुन एकपटक ब्याटिङ ध्वस्त हुँदा १८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ११ रनमा समेटियो । ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ५ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि त्यसपछि निरन्तर विकेट पतन हुँदा नेपाल पराजित हुन पुगेको हो । कुशल १९ रनमा आउट भए ।
पूर्वकप्तान पारस खड्का ४ रनमा तथा उप–कप्तान दीपेन्द्र सिंह ऐरी ५ रनमा आउट भएपछि नेपालको इनिङ्स धर्मराएको थियो । पवन सरार्फ १ रनमा क्याच आउट भए । विनोद भण्डारी पनि ५ रनमा आउट भएपछि नेपाल संकटमा परेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल ४६ रनमा आउट भएसँगै नेपालको जितको सम्भावना टाढिएको थियो ।
त्यसपछि अभिनाश १२, आरिफ शेख १० र करण केसी ७ रनमा आउट भए । हङकङका हारुन मोहम्मद असरदले ५ तथा अफ्ताब हुसेनले ३ विकेट लिए । एहसान खानले २ विकेट लिए ।
त्यसअघि थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनको सम्मानजनक योगफल तयार पारेको थियो । राम्रो सुरुवात गरेको हङकङले शाहिद वासिफ र निजाकत खानले पहिलो विकेटको लागि ५८ रनको साझेदारी गरेका थिए । सुशान भारीले आठौं ओभरमा यी दुईको साझेदारी तोड्दै नेपाललाई खेलमा फर्काउने कोसिस गरेका थिए ।
शाहिद वासिफ २६ रनमा क्याच आउट भए । ओपनर निजाकत खानलाई सुशनले ४८ रनम क्याच आउट भए । किन्चित शाह शून्यमा आउट भए । हारुन अरशदले २७ रन जोडे । व्यक्तिगत १ नमा जीवनदान पाएका जेम्स अत्किसनले १३ रन जोडे । कप्तान मोहम्मद एजाज खानले २९ रन बनाए । सुशन भारी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए । अब नेपालले तेस्रो खेलमा बुधबार आयोजक थाइल्यान्ड तथा शुक्रबार सिंगापुरसँग खेल्ने तालिका छ ।






