गएको जेठमा रामचन्द्र काकाले हलगोरु बेचेछन् । विगत वर्षहरूमा गोरुको सिजन जेठमै सुरु हुन्थ्यो । जेठ नलाग्दै गोरु खोजेर हल बनाइसक्थे । आठ वर्षअघि चैत महिनामा चराउन लैजाँदा घोप्टेपहराबाट मान्के गोरु लडेर मर्दा धुरुधुरु रोएका थिए ती, काका ।
यसपालि उनले हाँसी–हाँसी गोरु मात्रै बेचेनन्, गोरु किन्ने गाहाकी (ग्राहक) तगारोबाट बाहिरिनेबित्तिकै भने, ‘बल्ल घाँडो पन्छियो ।’ गाउँका किसान हुन्, ती काका । खेतीबाहेक अरू काम छैन उनको । खेती गर्नलाई गोरु नभई सम्भव छैन, पहाडमा । तर पनि काका खुसी छन्, हल गोरु बिक्री भएकोमा । ‘खेती गर्ने मान्छे नभएपछि कसले पाल्ने ? चाहिए पैसा तिरेर हली, गोरु खोजउँला,’ गोरु बेच्नुको खास कारण खोले ।
सदरमुकाम धादिङबेंसीदेखि १३ किलोमिटर माथि निगालपानीगाउँका प्रत्येक घरमा एक हल गोरु र एउटा भैंसी अनिवार्य हुन्थ्यो, विगतमा । यो गाउँलेलाई खेतीपातीमा सघाउने माध्यम मात्रै थिएन, प्रतिष्ठाको विषय पनि हुन्थ्यो । जसको घरमा गोरु छैन, उसलाई सिल्ली भन्थे गाउँलेहरू । त्यही गाउँमा अहिले मुस्किलले ३ हल गोरु भेटिन्न । स्थिति ठ्याक्कै उल्टिएछ । जसको घरमा हल गोरु छैन, त्यो चाहिँ सुखी अरे । रामेश्वर काका, पशुपति हजुरबा, देवमणि काकालगायतका गोठमा पनि गोरु बाँध्ने ठाउँमा सुकेको खोस्टा राखिएको छ । सायद, उनीहरू पनि सुखीको सूचीमा दर्ता हुँदै छन् ।
एक दशकमा गाउँको मुहार गजबले फेरिएछ । बाबुपुस्ताहरू खेती गर्ने झन्झटबाट मुक्ति चाहँदै छन् भने छोरापुस्ता काठमाडौंबाट घर जाँदा सार्वजनिक सवारीसाधन चढ्न झिँझो मान्छन्
भैंसीको मोल ह्वात्तै बढेको रहेछ । पाडीको माउ लैनो भैंसी बेच्नेले ९० हजार पाउँछ । तर, ९० हजार लिन चाहने सा-है कम । कृष्ण काकाले भने, ‘भैंसी पाल्नभन्दा ५० रुपैयाँ मानाको दूध किनेर खानै सजिलो ।’
एक दशकमा गाउँको मुहार गजबले फेरिएछ । बाबुपुस्ताहरू खेती गर्ने झन्झटबाट मुक्ति चाहँदै छन् भने छोरापुस्ता काठमाडौंबाट घर जाँदा सार्वजनिक सवारीसाधन चढ्न झिँझो मान्छन् । पशुपति हजुरबाको घर हालसालै बनेको धुलौटे सडकबाट सबैभन्दा नजिक पर्छ । चाडबाडमा उनको आँगन काठमाडौंका ‘लोकल डन’हरूले सञ्चालन गरेको पार्किङस्थल जस्तै देखिन्छ । गएको दसैंमा पनि उनको आँगनमा नौओटा बाइक थिए ।
मोहोर सस्तोमा पाँच पाथी नुन किन्न दिन बिताएर धादिङबेंसी आउने बूढापाकाहरू इतिहासको साक्षीका रूपमा सतीसाल झैं खडा छन् । तर, छोरापुस्तालाई त्यही बजार हिँडेर जान अल्छी लाग्छ या ‘सक्दैनन्’ । २० युनिट बिजुलीको न्यूनतम् महसुल ८० रुपैयाँ तिर्न १२० रुपैयाँ मूल्यको एक लिटर पेट्रोल खर्चिनेहरू धेरै भेटिए, आउँदा–जाँदा बाटोमा ।
अहिले गाउँका मान्छेको प्रस्ट देखिने आम्दानी केही छैन । तर, उनीहरू यति सौखिन भइसकेछन् कि दिनमा चार पटक २० रुपैयाँ कपको चिया पिउँछन् । मकै भुट्ने हाँडी धेरैको घरमा विगत सम्झाउने वस्तुको रूपमा मात्रै भेटिने अवस्था भएछ । ‘चिया खाएपछि भोक टर्छ, मकै भुट्न छाडेको त पाँच वर्ष भइसक्यो,’ घनु काकाले भने ।
सहरमा बसेको ठिटो गाउँ पुग्दा त्यहाँकाले सहरको खबर (विशेष राजनीति) सोध्ने गर्थे, तर अहिले त्यो पनि इतिहास भइसकेको छ, बूढापुस्तासमेत यति जानकार छन् । घर आउन किन ढिला गरेको भनेर पनि सोध्दैनन्, नौबीसेमा जाम परेको उनीहरूलाई पहिल्यै थाहा हुन्छ । राजनीतिक अनुमान त झन् धेरै । आफूलाई मन नपरेको पार्टीनेता टिभीमा देखिँदा टिभी नै फुटालौं झैं गर्छन् ।
बडो गज्जब रहेछ गाउँको दैनिकी । उठ्ने र सुत्ने समयमा परिवर्तन भएको छैन । तर, काम गर्ने ‘स्टाइल’ फरक छ । अहिले पनि ५ नबज्दै ओछ्यान छाडिसक्छन्, गाउका मान्छे । तर, पहिलाजस्तो तीन घन्टा गोठमै हराउँदैनन् ।
एफएम रेडियोमा काया–कैरन आउँदा बस्तुलाई घाँस, पात, भकारो सकेर स्टिलको गिलासमा चिया लिएर बसिसकेका हुन्छन् । हुलाकमा काम गर्ने डवाडी भान्दाइलाई जिल्लाभरकाले बाटोमा भेट्दा नमस्कार गर्थे । किनकि, उनको झोलामा परदेसिएका आफन्तको चिठी हुन्थ्यो ।
प्रविधिमा भएको विकासले अहिले उनको ‘क्रेज’ पनि स्वात्तै घटाइदिएछ । ‘हात–हातमा मोबाइल भएपछि किन चाहियो हुलाक, किन गर्ने डवाडीलाई फोकटमा नमस्कार,’ डवाडी भान्दाइले आफ्नै ’boutमा गाउँलेले गरेको कुराकानीको एक अंश सुनाए ।
गाउँका मान्छे सौखिन मात्रै होइन, सचेत पनि रहेछन् । मोटरबाटो, बिजुलीबत्ती र सामुदायिक रेडियोको प्रभाव हो जस्तो लाग्छ, यो परिवर्तन आउनुमा । मोटरबाटो खन्ने कुरा गर्दा बारी सकिन्छ भनेर धुरु–धुरु रोएका डिल्लीप्रसाद बाजे अहिले भन्दारहेछन्, ‘मोटर हिँड्ने बाटो चाहिन्छ, आँगन काटेर लगे पनि लैजाओ ।’
एकजना स्वास्थ्यकर्मीले घरमा पक्की ट्वाइलेट बनाउनुपर्छ भन्दैमा झन्डै हात छाडेका थिएनन्, अर्का काकाले । यसपालि थाहा भयो, उनी त खुला दिशामुक्त क्षेत्रको अगुवा पो भएका रहेछन् । ‘घर जान अल्छी मानेर यतै पिसाब फेर्लास् नि । ५० रुपैयाँ जरिवाना लाग्छ,’ घरअगाडिको डाँडामा टहलिँदै गर्दा अथ्र्याए ।
राममणि काकाले किरानापसल राखेको थुप्रै वर्ष भो । तर, एउटा फ्रिजले धानेन रे । कोक, फेन्टा, स्प्राइटका बोत्तल घरैपिच्छे भेटिन्छ । भोक लागेपछि भरमा आगो बाल्न झन्झट लागेर दोकानको चाउचाउ खाने धेरै भेटिए ।
यो गाउँका तन्नेरी युरोप, अमेरिका गएको थाहा छैन । तर, कतार, मलेसिया गएर फर्किनेको चुरीफुरी पर्यटकको भन्दा कम रहेनछ । देउराली र बिजुली चुरोटले बजार जमाएको ठाउँमा अहिले काँजो नमारेको चुरोट बिक्दैन । ‘धेरैजसो त सूर्य नै जान्छ,’ राममणि काकाले भने ।
राममणि काकाले किरानापसल राखेको थुप्रै वर्ष भो । तर, एउटा फ्रिजले धानेन रे । कोक, फेन्टा, स्प्राइटका बोत्तल घरैपिच्छे भेटिन्छ । भोक लागेपछि भरमा आगो बाल्न झन्झट लागेर दोकानको चाउचाउ खाने धेरै भेटिए ।
माझघरे काकाले झारफुक गरेर तीन गाउँ ख्याति कमाएका थिए । भैंसीले दूध दिएन, गोरु बिरामी भयो, मान्छेलाई टाउको दुख्यो भने माझघरे काकाको आँगनमा टुप्लुक्क आइपुगिहाल्थे र उनले फुकेपछि ठीक भयो भन्नेहरू धेरै थिए । हप्तैपिच्छे दोबाटो मन्सेको टपरी भेटिन्थ्यो ।
माझघरे काकाकोमा पुग्नेहरू यसपालि शान्ता दिदीको आँगनमा जम्मा हुँदारहेछन् । उनी गाउँकी स्वास्थ्य स्वयंसेविका । ज्वरो आउँदा, टाउको दुख्दा, जुका पर्दा, बच्चालाई निमोनिया हुँदा उनले दिएको औषधिले ठीक हुन्छ रे । उनी अंग्रेजी अक्षर फुटाउन सक्दिनन् । स्वास्थ्य संस्थाले दिएको औषधिको पोका–पोका रबरले बाँधेर राखेकी रहिछन् । हरियो खोल भएको ज्वरो आएको, खैरो सानो चक्की निमोनियाको, पहेंलो पखालाको आदि ।
पाँच सन्तान जन्माएकी एउटी काकीलाई शान्ता दिदीले परिवार नियोजन गर्ने सल्लाह दिँदा धारेहात लगाएर सरापेको अलि–अलि सम्झना छ । यसपालि त श्रीमान् पोखराबाट आएको दिन साँझ खुसामत गर्दै ती काकीले भनिन्, ‘ए शान्ता । मलाई औषधि चाहियो ।’ पछि थाहा भो, उनी कन्डम लिन आएकी रहिछन् ।
मरेर गएकी सासूको अझै राम्रो कुरा गर्न चाहँदैनन्, आमापुस्ताहरू । भोक लागेको बेलामा खान नदिएको, माइतीमा एक दिन बढी बस्दा सात दिन नबोलेको लगायत सासूसँग जोडिएका नमीठा अनुभूति धेरै आमाहरूका मानसपटलमा छँदै छन् । तिनै आमाहरू बुहारीलाई छोरीभन्दा धेरै माया गर्दारहेछन् । छोरालाई तँ भनेर सम्बोधन गरे पनि बुहारीलाई तिमी भन्दारहेछन् । माइत जाँदा सासूलाई कहिले आऊँ भनेर सोध्ने चलन बुहारीमा छैन ।
रेडियो पनि थोरै घरमा मात्रै हुन्थ्यो, पहिला । रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रमलाई एफएमको ताजा खबरले विस्थापित मात्रै गरेन ।
२१ इन्चको कलर टेलिभिजन नभएको घर भेटिँदैन । प्रदिप खड्काको कुन फिल्म आयो ? केकी अधिकारी के गर्दै छिन् वा अनमोल केसी कता लागे भन्ने कुरा ३ देखि १० कक्षासम्म पढ्दै गरेका केटाकेटीलाई सोधे ठेट जवाफ पाइन्छ ।
गायक–गायिका सहरका मान्छेलाई आफ्ना असली ग्राहक ठान्छन् तर गाउँका प्रत्येक मान्छेका मोबाइलको रिङ ब्याक टोनमा चलेको गीत बज्छ । जबकि सहरका मान्छेले त्यति जाँगर लगाउँदैनन् ।
२०४८ सालमा चुनाव भएपछि गाउँमा दुई पार्टी फस्टाएका थिए, कांग्रेस र एमाले । मतदान त गोप्य भयो तर गाउँले आफैं सार्वजनिक भए, दुई पार्टीमा । त्यसपछि तीन वर्षसम्म कांग्रेस र एमालेबीचमा भारोपर्म बन्द भयो । कांग्रेसलाई भोट हाल्नेको जन्ती र मलामीसमेत गएनन्, एमालेलाई भोट दिनेहरू ।
अहिले त्यही गाउँका सबै पार्टीका कार्यकर्ता छन् । सबैको सबैसँग राम्रो सम्बन्ध छ । बिहे, व्रतबन्ध, मलामी जस्ता सामाजिक काममा स्वतः जुट्छन् । समूहमा किनिएको थाल, कचौरा र गिलास कांग्रेस, एमाले, माओवादीलगायत सबै पार्टीको भान्सामा चल्छ ।
राजधानी फाइलबाट







